वैदेशिक रोजगारीमा गत वर्ष १२०८ नेपालीको मृत्यु, ३३५ अंगभंग

हिमाल प्रेस ७ पुष २०८० १६:५९
10
SHARES
वैदेशिक रोजगारीमा गत वर्ष १२०८ नेपालीको मृत्यु, ३३५ अंगभंग

पोखरा- वैदेशिक रोजगारीका क्रममा गत वर्ष १ हजार २ सय ८ जना नेपालीको विदेशमै मृत्यु भएको छ। यस्तै ३ सय ३५ जना अंगभंग भएका छन्। वैदेशिक रोजगार विभागका अनुसार मृत्यु हुनेको संख्या अघिल्लो आवको तुलनामा केही घटे पनि अंगभंग हुने संख्या सयभन्दा बढी हो।

आव २०७९/८० मा नेपालबाट विभिन्न उद्देश्यले बिदेसिएका ७ लाख ७१ हजार ३ सय २७ मध्ये १ हजार २ सय ८ जनाको मृत्यु भएको हो। अघिल्लो आव २०७८/७९ मा १ हजार ५ सय ९ जनाको मृत्यु भएको थियो भने २ सय १६ जना अंगभंग भएका थिए। त्यस वर्ष ६ लाख ३० हजार ९० जना बिदेसिएका थिए।

आव २०७७/८८ मा १ लाख ६६ हजार ६ सय ९८ जना बिदेसिएका थिए। तीमध्ये १ हजार २ सय ७५ जनाको मृत्यु र १ सय ६१ जना अंगभंग भएका थिए। आव २०७७/७८ मा ज्यान गुमाउने संख्या विगत ५ वर्षयताकै सबैभन्दा बढी हो। त्यसो त पछिल्लो तीन वर्षयता बिदेसिनेको संख्या पनि क्रमशः बढ्दो रहेको विभागले जनाएको छ।

आव २०७६/७७ मा बिदेसिएका ३ लाख ६८ हजार नेपालीमध्ये ६ सय ८० को मृत्यु तथा २ सय ७८ जनाको ज्यान गएको थियो। त्यस्तै आव २०७५/७६ मा २ लाख ३६ हजार बिदेसिएकोमा ७ सय ५३ जनाको मृत्यु र २ सय ८६ जनाको अंगभंग भए।

नेपालीहरू वैदेशिक रोजगारी, विद्यार्थीका रूपमा, पारिवारिक निर्भरताका रूपमा, घुम्ने बहाना, भारतीय बाटो र अवैधानिक तरिकाबाट बिदेसिने गरेका छन्। विद्यार्थीका रूपमा जान बर्सेनि औसत १ लाख एनओसी जारी हुने गरेको पाइन्छ। यी तरिकाबाट करिब २ देखि ३ लाखसम्म नेपालीहरू बर्सेनि बिदेसिने गरेको विभागले संकलन गरेको तथ्यांक पोखरामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो।

वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा हालसम्म १ सय ११ मुलुक खुला गरिएकोमा अफ्गानिस्तान, लिबिया र इराकमा जान पाइँदैन। गत आव २०७९/८० मा श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसमेत) प्रदान गरिएको संख्या ७ लाख ७१ हजार ३ सय २७ थियो। तीमध्ये महिला ७२ हजार १ सय ३४ अर्थात् ९.३५ प्रतिशत थियो।

वैदेशिक रोजगारीका लागि नेपालीको मुख्य गन्तव्यस्थल खाडी मुलुक हुन्। जसमा मलेसिया, कतार, कुवेत, दक्षिण कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस र माल्दिभ्स गरी १० मुलुक छन्।

प्रतिवर्ष करिब ५ लाखभन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने गरेका छन्। मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण मानिस वैदेशिक रोजगारीका लागि आकर्षित हुने गरेको पाइन्छ। हाल नेपालमा दैनिक २२ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्। नेपालबाट श्रम स्वीकृति लिएर यसरी जानेको संख्या हालसम्म ७१ लाख नाघिसकेको छ। तीमध्ये कतिपय फर्केका पनि छन्।

वैदेशिक रोजगारी सोचेजस्तो सुरक्षित भने छैन। चाल आवको चौमासिकमा गण्डकी प्रदेशबाट विदेशिएकामध्ये ६५ जनाको विदेशमा ज्यान गएको छ। तीमध्ये सबैभन्दा धेरै नवलपरासीका १६, कास्की र स्याङ्जाका ११/११ जना हुन्। यस अवधिमा गण्डकीबाट २८ हजार १ सय १४ जना वैदेशिक रोजगारीका लागि गएका थिए। तीमध्ये ३ हजार २ सय ४६ महिला हुन्। चालु आवकै चौमासिकमा गण्डकीका ११ मध्ये तनहुँ जिल्लाबाट सबैभन्दा धेरै ३ जार ९ सय १३ जना वैदेशिक रोजगारीका लागि गएको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीले बताए।

प्रकाशित: ७ पुष २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =