
टीकापुर- कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ।
नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो।
पालिकाले १२० स्वयंसेवक महिलालाई तीन/तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ।स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ।
उनीहरूले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन्।
नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका लागि सिफारिस लिन आउन थालेपछि स्वयंसेविका परिचालन गरेको हो।
पालिकामा नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सिओपिडी र क्यान्सरको समस्या भएका दैनिक उपचारका लागि सिफारिस लिन आउने गरेका जनस्वास्थ्य प्रवर्द्धन उपशाखा संयोजक बलबहादुर रावलले बताए।
‘दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले हामीले सचेतना फैलाउन थालेका छौँ’,उनले भने,‘हामीले वडावडामा नसर्ने रोग परीक्षणबारे स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाले समेत परामर्श दिने लगायतका कार्य गरिरहेका छौँ।’
समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले पालिकाले सचेतना फैलाउन थालेको जनस्वास्थ्य निरीक्षक धर्मसिंह बटालाले बताए।
समुदायमा स्वयंसेविकाले नसर्ने रोगबाट बच्न स्वस्थ्य खाना खाने, खानामा नुन र चिनी कम गर्ने, मैदाबाट बनेका परिकार कम खाने वा नखाने, बच्चा जन्मेको ६ महिनासम्म स्तनपान अनिवार्य गराउने, नियमित रुपमा शारीरिक व्यायम, कसरत गर्ने, क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको तीन मात्रा खोप लगाउने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने, ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने र कलेजोको क्यान्सर रोकथामका लागि हेपाटाइसिस ‘बी’को खोप लगाउनेलगायत जानकारी दिन थालेका छन्।
नसर्ने रोग सरुवा रोगभन्दा भयानक रोग बन्दै गएकाले सचेतना फैलाउन थालेका महिला स्वास्थ्य सेवक चन्द्रा चौधरीले बताइन्। ‘समुदायका मानिसको सबैभन्दा नजिक हामी हुन्छौँ। हाम्रा कुरा समुदायले विश्वास गर्ने भएकाले नसर्ने रोगबारे समुदायमा जनचेतना फैलाउन सहज भएको छ’, उनले भनिन्,‘हामीले पनि तालिम पाएपछि धेरै कुरा सिक्यौँ,हाम्रा लागि पनि यो जानकारी उपलब्धिमूलक छ।’
महिला स्वास्थ्य स्वयंसेवक माया घर्तीमगर समुदायमा गएर नागरिकलाई स्वस्थ रहन सरसल्लाह र स्वास्थ्य शिक्षा दिने गरिरहेका बताइन्। रासस