स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता
सप्तरी- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको सेवा विस्तारका लागि निर्माणाधीन नयाँ भवन भदौभित्रै हस्तान्तरण गर्न निर्देशन दिएकी छन्।
अस्पतालमा सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटरलगायत अत्याधुनिक उपकरण जडान गर्न ठाउँको अभाव रहेको पाइएपछि मन्त्री मेहताले नयाँ भवन निर्माणको काम शीघ्र सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।
सप्तरीस्थित अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्थाबारे जानकारी लिन राजविराज पुगेकी मन्त्री मेहताले करिब रु ३१ करोडको लगानीमा निर्माण भएको नयाँ भवनबाट सेवा सञ्चालन भएपछि अस्पतालका अधिकांश समस्या समाधान हुने बताइन्। उनले भवन हस्तान्तरण गरी सेवाप्रवाह व्यवस्थित बनाउन निर्माण कम्पनीसँग सहकार्य र समन्वय गर्न सम्बन्धित पक्षलाई आग्रह गरिन्।
अस्पतालको सभाकक्षमा आयोजित छलफलमा मन्त्री मेहताले स्वास्थ्य क्षेत्रका समस्या बुझ्न, पहिचान गर्न र समाधानका उपाय खोज्न स्थलगत निरीक्षण गरिएको बताइन्।
टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित भारदह अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल तथा प्रस्तावित रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणस्थलको निरीक्षण गरेको थियो।
हाल ५० शय्याको स्वीकृति पाएर सञ्चालनमा रहेको अस्पताललाई एक सय शय्यामा विस्तार गर्ने तयारी भइरहेको मन्त्री मेहताले बताइन्। राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आएपछि सर्वसाधारणले सहज र छिटो उपचार सेवा पाउने उनले विश्वास व्यक्त गरिन्।
उनका अनुसार प्रतिष्ठानका लागि चालु आर्थिक वर्षमा रु ५० करोड बजेट विनियोजन गरिएको छ। अब ऐन पारित गरी प्रतिष्ठान निर्माणको काम पनि अघि बढाइने उनले बताइन्।
अस्पतालका अधिकृत सूर्यकान्त झाले ५० शय्याको स्वीकृति भए पनि ठूलो सङ्ख्यामा बिरामीलाई सेवा दिनुपरेको बताए। थप शय्या विस्तार तथा नर्सिङ कलेज सञ्चालनका लागि नयाँ भवन तयार भए पनि जनशक्ति र बजेट अभावमा सेवा सुरु गर्न नसकिएको उनले बताए।
उनले लामो समयदेखि अस्पताल विकास समिति गठन हुन नसकेको भन्दै समिति गठन गर्न, प्रस्तावित रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण अघि बढाउनुपर्नेलगायत चारबुँदे माग मन्त्री मेहतासमक्ष राखे।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.वीरेन्द्र मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयका तर्फबाट दीपेन्द्र चौधरीले अस्पताल सुधारका १५ बुँदे ज्ञापनपत्र मन्त्री मेहतालाई बुझाए। उनले राजविराज नगर स्थापनाकालदेखि बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी परिवारले अझै लालपुर्जा नपाएको भन्दै त्यसका लागि पहल गर्न मन्त्रीको ध्यानाकर्षण गराए।


