नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाही।
काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंसबहादुर शाहीले शिक्षा स्वास्थ्य सेवामा साउन १ गतेदेखि लागू भएको ३ प्रतिशत करप्रति असन्तुष्टि जनाउँदै यसको वास्तविक भार अन्ततः अभिभावक, बिरामी र उनीहरूका परिवारमाथि पर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष शाहीले धेरैले उक्त कर अस्पताल वा स्वास्थ्य सेवा प्रदायकले बेहोर्लान् भन्ने अपेक्षा गरे पनि व्यवहारमा यसको बोझ उपचारका लागि अस्पताल पुग्ने नागरिकले नै व्यहोर्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन्।
उनले स्वास्थ्यलाई नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै रोगसँग संघर्ष गरिरहेका नागरिकमाथि थप आर्थिक भार थोपर्नु संवेदनशील निर्णय नभएको बताएका छन्।
शाहीले जनताको सरकारले जनताको पीडामा मल्हम लगाउने काम गर्नुपर्ने उल्लेख गर्दै पीडामाथि थप करको भार बोकाउने नीति उचित नहुने धारणा व्यक्त गरेका छन्।
उनले स्वस्थ नागरिक नै समृद्ध राष्ट्रको आधार भएको उल्लेख गर्दै स्वास्थ्यसम्बन्धी नीति निर्माण गर्दा राजस्व संकलनभन्दा नागरिकको जीवन, स्वास्थ्य सेवामा पहुँच र मानवीय संवेदनालाई पहिलो प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।
फेसबुकमा उनले लेखेका छन्,‘कर बढाएर राज्य धनी हुन सक्छ तर उपचार महँगो बनाएर नागरिकलाई कमजोर बनाउनु कुनै पनि लोकतान्त्रिक सरकारको सफलता हुन सक्दैन।’

