बागलुङका ज्येष्ठ नागरिकको घरमै उपचार

हिमाल प्रेस ६ पुष २०८० ७:४९
68
SHARES
बागलुङका ज्येष्ठ नागरिकको घरमै उपचार

बागलुङ- बागलुङको गलकोट नगरपालिका-८ थालेपोखराकी तुलसी पुन ९६ वर्ष पूरा भइन्। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनमा अन्य स्वास्थ्य समस्या थिएन।

केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो। उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन्। गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो।

बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो। चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दङ्ग परिन्।

घरमै चिकित्सक आएर उपचार गर्छन् भन्ने तुलसीले कल्पना पनि गरेकी थिइनन्। जब थालेपोखरा गाउँमा नगरपालिकाबाट जनप्रतिनिधिसहित चिकित्सक र स्वास्थ्यकर्मी टोली पुग्यो तुलसीसहित गाउँका धेरै मानिस अचम्मित भए।

गलकोट नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख सुशील पौडेल, गलकोट नगर अस्पतालका एमडी जिपी डा.राजेश पौडेल लगायतको टोलीले ढेड सय बढी ज्येष्ठ नागरिक तथा स्थानीयको स्वास्थ्य परीक्षण र निःशुल्क औषधी वितरण गरेको छ।

गाउँभन्दा टाढा हुँदा धेरै नागरिक बिरामी भएर पनि अस्पताल पुग्न सक्दैनथे। सामान्य बिरामीले गाउँको सहरी स्वास्थ्य केन्द्रमा उपचार पाउँथे। नगरपालिकाले दूरदराजका नागरिकलाई लक्षित गरी घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर थालेपछि धेरैले सेवा लिन पाए।

पुनले टाढा जान नसक्दा अहिलेसम्म गाउँमै रोग पालेर बस्नु परेको सुनाइन्। घरै नजिक आएको चिकित्सकसहितको टोलीले आफ्नो निःशुल्क स्वास्थ्य जाँच गरी औषधी दिएको उनको भनाइ छ। औषधी खाएर निको नभए पुनः चिकित्सकले जाँच गर्ने पुन बताउँछिन्।

आफूलाई चक्कर आउने र टाउको दुख्नेबाहेक अरू समस्या नभएको सुनाउँदै घरमै आएर उपचार गरिदिँदा खुसी लागेको उनको भनाइ छ। अहिलेसम्म यो गाउँमा चिकित्सक कहिल्यै नआएको भन्दै पहिलोपटक विशेषज्ञ सेवा लिन पाएको पुनको भनाइ छ।

स्थानीय ६० वर्षीय दुर्गाबहादुर खत्रीले सुविधायुक्त अस्पताल नजिक नहुँदा धेरै नागरिकले दुःख पाएको भन्दै गाउँमा आएको निःशुल्क स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताए।

अहिलेसम्म विशेषज्ञ चिकित्सक आएर गाउँमा यस किसिमको शिविर नभएको भन्दै यसपालि नगरपालिकाले यहाँका नागरिकको समस्या बुझेको उनको भनाइ छ। गाउँगाउँमा सुविधा सम्पन्न अस्पतालहरू नभए पनि समयसमयमा दूरदराजमा पुगेर स्वास्थ्य सेवा दिँदा धेरै नागरिक लाभान्वित हुने खत्रीले बताए ।

यो गाउँ अहिलेसम्म विकट रहेको र सडकको अवस्था पनि निकै जोखिमयुक्त हुँदा अस्पतालसम्म सहज रुपमा पुग्न नसकिने उनको भनाइ छ। थालेपोखरा गाउँ बागलुङको गलकोट नगरपालिकाको विकट गाउँ हो। त्यसले गर्दा गलकोट नगरपालिकाले सोही गाउँबाटै र घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण तथा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गरी अघिल्लो वर्षदेखि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेकामा यस वर्ष निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर पनि सुरुआत गरेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुशील पौडेलले जानकारी दिए।

नगरपालिकाअन्तर्गत ६० वर्षभन्दा माथिका पाँच हजार ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन थालेको उनले बताए। रासस

प्रकाशित: ६ पुष २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 3 =