भेरी बबई डाइभर्सनको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

हिमाल प्रेस ३ पुष २०८० १७:५६
4
SHARES
भेरी बबई डाइभर्सनको काममा गति दिन मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ– राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनको काम तीव्र रूपमा गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले निर्देशन दिएका छन्।

मन्त्री बस्नेतले मंगलबार आयोजनाका पदाधिकारी र निर्माण व्यवसायीलाई सँगै राखेर तत्काल कामलाई गति दिन निर्देशन दिएका हुन्। उनले आयोजनाको काममा ढिलाइ गर्ने छुट कोही कसैलाई पनि नभएको बताए।

सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँधस्थल र विद्युत् गृहको काममा अपेक्षित प्रगति हुन सकेको छैन। निर्माण व्यवसायीको कमजोर कार्यसम्पादका कारण निर्माण कार्यले गति लिन सकेको छैन। आयोजना सम्वद्ध अधिकारी आयोजनास्थलमा नबस्ने, लामो समयसम्म परामर्शदाताको अभावका कारण निर्माण व्यवसायीलाई आवश्यक निर्देशन तथा परिचालनमा समेत समस्या पैदा भएको छ।

आयोजनाको प्रगतिको अवस्थाका बारेमा ऊर्जामन्त्री बस्नेतले नियमित रूपमा जानकारी लिँदै आएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार प्रधानमन्त्री कार्यालय मातहतका रहेको एक्सन रुममार्फत अवस्थाको बारेमा जानकारी लिएका थिए।

आजको छलफलमा रमण कन्स्ट्रक्सनका प्रमुख रमणकुमार महतोले आयोजनाका अधिकारीले समयमा भुक्तानी नगरिदिएको तथा अन्य अत्यावश्यक काम नगरिदिएका कारण प्रभावकारी काम गर्न नसकेको बताए।

आयोजना निर्देशक रणबहादुर बमलगायतका अधिकारीले निर्माण व्यवसायीले काम नगरेको, आवश्यक जनशक्ति परिचालन नगरेको तथा उपकरण एवम् निर्माण सामग्रीको प्रबन्ध नगरेको भन्दै गुनासो गरेका थिए।

एकले अर्कालाई दोष देखाएर आयोजनाका काममा ढिलाइ गरेको भन्दै मन्त्री बस्नेतले भने, ‘एकले अर्कोलाई दोष देखाएर राष्ट्रिय गौरवको आयोजनामा समस्या सिर्जना गर्ने काम नगर्नुस। समस्या के हो? समाधानको उपाय के हो? त्यो प्रस्तुत गर्नुस्। काम समयमै गर्नुस्।’

मन्त्री बस्नेतले अबदेखि हरेक १५ दिनमा सिँचाइ विभागले र हरेक महिनामा मन्त्रालयकातर्फबाट आयोजनाको निरीक्षण गर्ने बताए। आयोजना निर्देशक बमले दैनिक रूपमा २६० घनमिटरका दरमा ढलान तथा कङ्क्रिटको काम हुनुपर्ने बताए। उनले आयोजनालाई दैनिक तीन सत्रमा काम गर्ने वातावरण मिलाइने विश्वास दिलाए।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले राज्यको साधन र स्रोत लगानी भएको आयोजनामा कुनै पनि ढिलाइ नगर्न सम्वद्ध पक्षलाई निर्देशन दिए।

प्रकाशित: ३ पुष २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 3 =