मध्यपहाडमा एक्लो कम्युनिस्ट पार्टी बन्ने एमाले निष्कर्ष

किरण पौडेल ३ पुष २०८० २०:३६
60
SHARES
मध्यपहाडमा एक्लो कम्युनिस्ट पार्टी बन्ने एमाले निष्कर्ष

काठमाडौँ– नेकपा एमालेले जनतासँग जोडिन सके पार्टी एक्लो कम्युनिस्ट पार्टी बन्ने निष्कर्ष निकालेको छ। एमालेले हालै सम्पन्न झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रापछि प्रारम्भिक रूपमा यस्तो निष्कर्ष निकालिएको नेताहरूले बताएका छन्। एमालेका सचिव योगेश भट्टराईले भने, ‘एमाले सशक्त बनेमा मध्यपहाडमा हामी मात्रै रहने हाम्रो निष्कर्ष छ। सांगठनिक रूपमा हामी बलिया छौँ। थोरै मिहिनेत गर्ने हो भने मध्यपहाडमा अन्य कम्युनिस्ट पार्टी रहँदैनन्।’

मध्यपहाडी मार्गले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्ला छुन्छ।

भट्टराई भन्छन्, ‘२०७९ को संघीय प्रतिनिधिसभाको चुनावमा एमालेले अधिकांश जिल्लामा जितेको छ। पराजित भएका ठाउँमा पनि कमजोर छैनौँ।’ वामपन्थी दलमध्ये मध्यपहाडका ११ स्थानमा माओवादी केन्द्र, ९ स्थानमा नेकपा एमाले, ४ स्थानमा एकीकृत समाजवादी र एक स्थानमा जनमोर्चाका उम्मेदवार निर्वाचित भएका थिए। माओवादी र एकीकृत समाजवादी गठबन्धनका कारणले विजयी भएका हुन्।

गठबन्धन नहुने भए माओवादीको लोकप्रिय क्षेत्र कर्णाली प्रदेशमा समेत एमाले विजयी हुने भट्टराईको दाबी छ।  १८ दिने मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको शीर्ष नेतृत्व राजधानी फर्किएको छ। मध्यपहाडी जिल्लाका अधिकांश ठाउँमा अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग संवाद गरी स्थानीय विकासबारे चासो लिएका थिए।

टोलीले विकाससँग पार्टीको स्थितिका बारेमा समेत जिल्लागत रूपमा बुझेको थियो। जुनजुन जिल्लामा पुग्यो, त्यहीत्यही जिल्लाका पार्टी पदाधिकारीसँग एमाले नेतृत्वले छलफलसमेत गरेको थियो। ‘अन्य पार्टीका साथीहरूसँग पनि छलफल भयो। यद्यपि सबैको सहयोग रह्यो,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्।

एमालेले पार्टीगतभन्दा पनि समृद्धिको नारा लिएर देश दौडाहामा निस्किएकाले पार्टीका कार्यक्रम भित्रभित्रै मात्र चलाएको थियो। ‘पार्टी बुझ्ने काम मात्र भयो। पार्टी प्रवेश कार्यक्रम गर्नुपर्ने थियो। अर्कै अर्थ लाग्ने भएकाले गरिएन’, एमालेका एक पदाधिकारीले भने।

एमालेको अभियान आउँदो चुनावको तयारीसमेत थियो। ‘देश मध्यावधिमा जान सक्छ, त्यसका लागि हामीले पार्टीलाई तल्लो दर्जाबाट बुझ्नुपर्ने थियो’, ती पदाधिकारी भन्छन्।

काठमाडौँबाट देखेजस्तो छैन ग्रासरुट

एमालेले यसअघि ‘मिसन ग्रासरुट’ चलाएको थियो। तीन महिना लामो अभियानले पार्टीको संगठन थप बलियो बनेको दाबी नेताहरूले गरेका थिए। ‘हामीले जनतामा जानुअघि कार्यकर्तामा जानुपर्छ भनेर अभियान चलाएका थियौँ। त्यही अभियानबाट जनतामा जानुपर्ने आवाज उठ्यो,’ एमाले नेत्री रचना खड्का भन्छिन्, ‘यही कार्यक्रममार्फत हामी जनतामा पुग्यौँ।’

खड्काका अनुसार अभियानअघि एमालेमाथि धेरै भ्रम फैलाइएको थियो। ‘हामी सबैतिरबाट घेराबन्दीमा थियौँ। फिल्डमा पुगेपछि यथार्थ थाहा भयो’, उनले भनिन्। बाक्लो संख्यामा उपस्थित जनताका कारण काठमाडौँबाट देखेजस्तो यथार्थ नभएको खड्काको भनाइ छ।

पहिचानवादीका कारण एमाले कमजोर भएको भन्ने पनि भ्रम मात्रै रहेको पुष्टि भएको नेताहरूको दाबी छ। ‘हामीले सबै ठाउँमा कार्यक्रम सम्पन्न गर्‍यौँ। कहीँकतै बिथोलिएन’, खड्काले भनिन्। एमालेले काठमाडौँमा रहेर मात्र पार्टी नचल्ने निष्कर्ष निकालेको छ। पार्टी निमांणका लागि जनता भए ठाउँमा जानुपर्ने बुझाइ छ।

पार्टी सचिव योगेश भट्टराई पनि काठमाडौँमा गलत भाष्यले बिगारेको बताउँछन्। ‘नयाँ पार्टी भनेर जनतालाई गुमराहमा पार्ने काम भइरहेको छ। जुन सरासर गलत छ,’ भट्टराई भन्छन्, ‘हाम्रा जनता हामीसँग छन्। नयाँ/पुराना भन्ने हुँदैन।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आतंक काठमाडौँमा बढी रहेको भट्टराईले बताए।

चुनावी कार्यक्रम र आमसभाले मात्र बन्दैन पार्टी

एमालेको मध्यपहाडी यात्रापछि बुझेको अर्को कुरा हो, अब जनतालाई सधैँ भेट्नुपर्छ। सचिव योगेश भट्टराईका अनुसार यात्राका क्रममा अधिकांशले चुनावपछि पनि नेता आएको खुसी व्यक्त गरेका थिए। ‘जनता नभएमा पार्टी बन्दैन। जनताको निराशा चिर्न पनि समयसमयमा जनतामा जानुपर्ने रहेछ’, भट्टराई भन्छन्।

यसअघि पार्टीहरूले चुनावी कार्यक्रम मात्र सञ्चालन गर्थे। एमालेको बुझाइमा अब यस्ता कार्यक्रमले मात्र पार्टी बन्दैन। अर्को कुरा हुलहुज्जतसहितको आमसभाले मात्र जनता पार्टीमा आबद्ध नहुने एमालेको बुझाइ छ। ‘हामीले अब शक्ति प्रदर्शन छाड्नुपर्छ। संकल्प यात्रापछि जनताका कुरा सुन्नुपर्छ भन्ने बुझेका छौँ’, खड्का भन्छिन्।

नेतृत्वसँग दोहोरो कुराकानी गर्न चाहन्छन् जनता

एमालेले अभियानका क्रममा अध्यक्ष ओलीको नेतृत्वमा सबै पदाधिकारी खटाएको थियो। औपचारिक रूपमा ओलीले मात्र भाषण गरे पनि अन्य पदाधिकारी प्रत्यक्ष संवादमा खटिएका थिए।

‘हामीले जनताका गुनासो सुन्न खोज्यौँ। यसमा अध्यक्ष (ओली) आफैँ जोडिनुभयो। अन्य पदाधिकारी र अन्य पदका साथीहरू पनि हुनुहुन्थ्यो’, सचिव भट्टराई भन्छन्। यात्राका क्रममा भेटेका सबैसँग संवाद गरेको भट्टराईको दाबी छ।

उनले भने, ‘हामीले हाम्रा कुरा भन्यौँ नै जनताका कुरा पनि सुन्यौँ। यसले दुईतर्फी कुरा बुझ्न सहज भयो।’ यसअघि एमालले चुनावका बेला जिल्लास्तरीय नेता खटाउने गरेको थियो। यसको प्रभाव पर्न नसकेकाले केन्द्रीय नेतासहितले जनताका गुनासो सुन्नुपर्ने भट्टराईले बताए।

‘कुरा गर्दा कतिपय समस्या फिल्डबाटै समाधान हुँदोरहेछ’, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘कतिपयलाई पर्खनुपर्छ।’ अल्पकालीन समस्या समाधान गर्न मात्र भए पनि दोहोरो कुराकानी गर्नुपर्ने ज्ञवालीले बताए।

सहर र गाउँमा एउटै कार्यक्रमले हुँदैन

एमालेले अब भेगीय/क्षेत्रीय स्थितिअनुसारका कार्यक्रम ल्याउने भएको छ। ठाउँ र क्षेत्रको वस्तुस्थिति बुझेर मात्र कार्यक्रम तय गर्ने लागिएको ज्ञवालीले बताए। एउटै कार्यक्रम देशभर लागू गरे कार्यान्वयन हुन नसक्ने नेताहरू बताउँछन्।

‘हामी सहर हेरेर गाउँमा र गाउँ हेरेर सहरमा कार्यक्रम तय गछौँ। त्यो गलत छ’, खड्का भन्छिन्, ‘जनताको इच्छा एउटै नहुँदो रहेछ। वास्तविकता के हो त्यहीँ पुगेर मात्र थाहा हुँदो रहेछ।’ एमालेको टोली मध्यपहाडी खुम्दासमेत मध्यपहाडमा कतिले विकास भएको बताएका थिए भने कतिपयले विकास नभएको बताएका थिए। ‘जनताको मन हो बुझ्न सहज छैन। मोटामोटी के कुराले बुझाउन सकिन्छ, हामीले बुझ्नुपर्छ’, खड्का भन्छिन्, ‘पाँचथरको र बतैडीको समस्या एउटै नहुन सक्छ।’

जनताले काम हेर्छन्, पार्टी हेर्दैनन्

एमालेले यसपटक गाउँ जाँदा बुझेको अर्को कुरा हो- जनताले हेर्ने काम। अबका जनता विकास र प्रविधितर्फ धकेलिएकाले एउटै सिद्धान्तमा बाँध्न नसकिने उपमहासचिव ज्ञवाली बताउँछन्। ‘हाम्रा जनताका सामु विकास छ। तर बढ्दो बसाइँ सराइ छ। किनभने त्यहाँ आकांक्षा पूरा भएको छैन। जनताका आकांक्षा पूरा गर्नुपर्छ।’

एमालेले अब जनतामैत्री विकास नगरे पार्टीप्रति वितृष्णा उत्पन्न हुने संकेत पाएको छ। ‘निर्वाचनमा काठमाडौँमा किन जनताले मत हालेनन्। गाउँमा किन बहकिएनन्’, एमालेका एक पदाधिकारी भन्छन्, ‘हामीले बुझ्नुपर्छ, जनताले विकास हेरेका छन् पार्टी होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + seventeen =