हामीलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला

हिमाल प्रेस २ पुष २०८० १६:२७
10
SHARES
हामीलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहियो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफूहरूलाई प्रधानमन्त्रीको रिपोर्ट कार्ड चाहिएको बताएका छन्। सोमबार कांग्रेस नुवाकोटको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले मन्त्रीको रिपोर्ट कार्ड हेर्न खोजेको भन्दै आफूहरूले स्वयं प्रधानमन्त्रीकै हेर्न खोजेको बताएका हुन्।

‘मैले सुनेको, ५ देखि १० गतेसम्म मन्त्रीजीहरूलाई काठमाडौं नछाड्नु भन्नुभएको छ। रिपोर्ट कार्ड हेर्ने होला। म त प्रधानमन्त्रीको रिपोर्ट कार्ड मागिरहेको छु’, उनले भने।

अर्थमन्त्री प्रकाशशरण महतसमेत सहभागी सो कार्यक्रममा कोइरालाले संसदीय व्यवस्थामा अर्थमन्त्रीले राम्रो वा नराम्रो जे गरे पनि त्यसको सबै जस अपजस प्रधानमन्त्रीले लिनुपर्ने बताए।

‘अनि प्रधानमन्त्रीले मन्त्रीका रिपोर्ट कार्ड लिने?’, उनले थपे, ‘हामीले प्रधानमन्त्रीको रिपोर्ट कार्ड लिने हो। प्रधानमन्त्रीज्यू, तपाईंको रिपोर्ट कार्ड हामीलाई चाहिएको छ।’

कोइरालाले अहिले गणतन्त्रमाथि देशैभर ठूलो आक्रमण भइरहेको आफूले पाएको बताए। ‘जनतामा निराशा र आक्रोश छ। स्वाभाविक हो। त्यो आक्रोश र निराशा गणतन्त्रप्रति होइन, संघीयताप्रति होइन। नेतृत्वप्रति हो भन्ने मलाई लाग्छ’, उनले भने। कोइरालाले आफूहरूले राम्रो काम गर्न थाल्ने हो भने पक्कै पनि गणतन्त्र र राजतन्त्रका कुराहरू नआउने बरु ओझेलमा पर्ने बताए।

प्रकाशित: २ पुष २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 7 =