१८ दिनमा एमालेले देखेको मध्यपहाड

किरण पौडेल २ पुष २०८० १४:२६
26
SHARES
१८ दिनमा एमालेले देखेको मध्यपहाड संकल्प यात्रा समापनका क्रममा पाँचथरको चिवाभन्ज्याङमा लिम्बू समुदायको सिलाम साक्मा लगाएर देखिएका ओली। तस्बिर : ओलीको सचिवालय

काठमाडौँ- नेकपा एमालेले सुदूरपश्चिमको बैतडीको झुलाघाटदेखि कोशी प्रदेशमा पर्ने पाँचथरको चिवाभन्ज्याङसम्मको यात्रा सम्पन्न गरेको छ। एमालेले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) यात्रा समापन गरेको हो। यात्रालाई एमालेले समृद्धिका लागि संकल्प यात्रा नाम दिएको थियो। साथै यात्राको नारा थियो, ‘सम्बन्ध स्थानीय – सन्देश राष्ट्रिय’

१८ दिनमा करिब १८ सय किलोमिटर यात्रा गर्दा ३० जिल्लाका जनतासँग प्रत्यक्ष संवाद गरेको एमाले नेताहरूले बताएका छन्। यात्राका क्रममा २५ वटा जनसभामार्फत अध्यक्ष ओलीले सम्बोधन गरेका थिए।

एमाले उपमहासचिव प्रदीप ज्ञवाली राजनीतिक दलको शीर्ष नेतृत्वले एकैपटक जनतासामु मेचीमहाकाली यात्रा सम्भवतः पहिलो रहेको बताउँछन्। मंसिर १८ गते सुरु भएको यात्रा पुस २ गते समापन भएको हो।

एमाले प्रवक्ता राजेन्द्र गौतम भन्छन्, ‘संकल्प यात्रामार्फत पार्टीले जनताको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थाका विषयमा धेरै नजिकबाट नियाल्ने अवसर पाएको छ।’

रामेछापको मन्थलीमा आयोजित सभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : ओलीको सचिवालय

जनआकांक्षा सम्बोधन नभएको विकास

एमाले नेताहरूले मध्यपहाडमा भौतिक विकासका क्षेत्रमा प्रशस्त काम भएको पाइएको बताएका छन्। ‘मध्यपहाडमा कच्ची भए पनि सडक पुगेको छ, विद्यालय बनेका छन् र स्वास्थ्य चौकी छन्,’ उपमहासचिव ज्ञवाली भन्छन्। तर विकास प्रक्रिया र जनताको बुझाइमा दुरी रहेका कारण जनतामा निराशा देखिएको उनको बुझाइ छ।

उनले भने, ‘हामीले गरेको विकास र जनताको बुझाइमा कहीँ न कहीँ दूरी छ। यही कारण जनता निराश छन्।’ तीनै तहका सरकारले जनताका आवश्यकता के हुन् भन्ने विषय पर्गेल्न नसक्दा बसाइँ सराइ र विदेश पलायन बढिरहेको उनको बुझाइ छ। ‘स्थानीय, प्रदेश र संघ सरकार विकास निर्माणमा सक्रिय छन् तर जनताका समस्या के हुन् भन्नेबारे बुझेको देखिएन’, ज्ञवाली भन्छन्।

मध्यपहाड जैविक विविधता, कृषि, पशुपालन र जलस्रोत अनि सांस्कृतिक विविधताका दृष्टिले महत्त्वपूर्ण भूमि हो। ‘निराश भएका जनता कोही बसाइँ सरेर सहरी क्षेत्रतिर लागेका छन्, कोही कमाउनका लागि विदेश जानुपर्ने अवस्था छ’, ज्ञवालीले भने।

प्रश्नैप्रश्नले घेरिए नेता

एमाले नेतृत्वले यात्राका क्रममा धेरै जनतासँग ‘प्रत्यक्ष संवाद’ सुन्यो। एमाले प्रवक्ता राजेन्द्र गौतमका अनुसार अध्यक्ष ओलीसहितको टोलीले जनतासँग कुरा गरेर सुनेका समस्यालाई ‘प्रत्यक्ष संवाद’ भनिएको छ।

यात्राका क्रममा मध्यपहाडका जनताले मध्यपहाडी सडक निर्माण कहिले बनिसक्छ? मध्यपहाडी सडकको बजेट किन घट्यो? कृषिमा व्यावसायीकरण किन हुन सकेन? पूर्वाधार विकास चुस्त कहिलेबाट हुन्छ? रोजगारीका लागि विदेश जानुपर्ने दिनको अन्त्य कहिले हुन्छ? मध्यपहाडका १० सहर किन बन्न सकेनन्? जस्ता प्रश्न सोधेको प्रवक्ता गौतम बताउँछन्।

एमाले अध्यक्ष टोलीले जनताले उठाएका यिनै समस्यामा आधारित भएर आफ्नो सम्बोधनमार्फत जबाफ दिएका थिए। यसबाट जनतामा केही आशा पलाएको नेताहरूको बुझाइ छ। उपमहासचिव ज्ञवालीले भने, ‘जनताका यस्ता प्रश्नको उत्तर अध्यक्षसहितको टोलीले वस्तुगत ढंगमा दिएको छ। समस्या समाधान हुँदै जाने संकल्प पनि पार्टीले लिएको छ। शीर्ष नेतृत्व आफ्नै गाउँठाउँमा आउँदा जनता आशावादी देखिएका छन्।’ उनले यिनै आधारमा समस्या समाधानको खाका तयार पारी अघि बढ्ने बताए। पहिलो चरणमा जनताका निराशालाई ‘फिल्ड’ मै समाधान गर्ने प्रयास भएको गौतमको भनाइ छ।

सांस्कृतिक समुदायसँग नजिक

१८ दिने यात्रामा एमाले नेतृत्वले विभिन्न समुदायका संस्कृतिसँग नजिक हुने अवसर पाएको छ। यात्राका क्रममा नेताहरूको स्वागतमा सुदूरपश्चिमको पहाडी संस्कृति देउडादेखि कोशीको पहाडी क्षेत्रको च्याब्रुङ नाचसम्म देखाइएका थिए। कतिपय समुदायसँग अध्यक्ष ओली आफैँ सहभागी भएर साथ दिएका थिए। एक समुदायले अर्को समुदायका संस्कृतिलाई सम्मान गरेको देखिएको उपमहासचिव ज्ञवालीले बताए।

कतैकतै केही स्वार्थ समूहले सांस्कृतिक एकतामा खलल पुर्‍याउने प्रयास गरेको एमालेको बुझाइ छ। उनी भन्छन्, ‘केही तत्त्वहरूले समुदायमाथि नै धावा बोलिरहेको बुझियो। यसले सामाजिक सद्भाव खल्बलिन्छ। यसप्रति सजग बन्नुपर्नेछ।’ पश्चिमदेखि पूर्वी पहाडसम्मका जनताका माग पनि सांस्कृतिक एकता नखल्बलियोस् भन्ने देखिएको ज्ञवालीले बताए। ‘हामी पश्चिमदेखि पूर्वी पहाडसम्म पुग्याँै। त्यहाँका सर्वसाधारणको समस्या आफूआफूमा फुट नहोस् भन्ने रहेछ।’

पहिचानवादी नरम

एमालेको संकल्प यात्रा कोशीतर्फ लागेपछि पहिचानवादीले बिथोल्ने शंका थियो। सुरक्षा संयन्त्र पनि अन्य प्रदेशमा भन्दा कोशी प्रदेशको पहाडमा बढी नै परिचालित भयो। प्रदेश १ को नामकरण कोशी भएकोमा असन्तुष्ट हुँदै कोशीमा एमाले नेतालाई निषेध गरिँदै आएको थियो। तेह्रथुम पुगेपछि पहिचानवादी नरम बनेको बुझाइ एमाले नेतृत्वको छ।

ओलीले तेह्रथुममै आयोजित सभामा कालो झन्डा देखाएर, बाटामा रहेका सल्लाका रूख ढालेर समस्याको समाधान नहुने भन्दै पहिचावादीलाई बाटो नबिराउन आग्रह गरेका थिए। उनले भनेका थिए, ‘समस्या समाधान चाहेको हो भने शान्तिपूर्ण ढंगले छलफल गर्नुपर्‍यो।’

यसैगरी ओलीले लोकतन्त्रमा धैर्य भएर लोकतान्त्रिक विधिबाटै समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका थिए। प्रचारमा आएजस्तो कोशीमा एमाले सभा नबिथोलिएपछि नेतृत्वले पहिचानवादी बिस्तारै नरम हुन थालेको बुझेको प्रवक्ता गौतम बताउँछन्।

ओली एक्लैको प्रस्तुति

१८ दिनसम्मको यात्रामा भएका जनसभामा प्रायः अध्यक्ष केपी शर्मा ओली मात्रै जनसभामा देखिएका थिए। यात्रामा पदाधिकारीको टोली खटिए पनि भाषण गर्नुभन्दा जनताका जीवन बुझ्न सक्रिय भएको प्रवक्ता गौतम बताउँछन्।

भोजपुरमा शेर्पा समुदायको भेषमा ओली। तस्बिर : ओलीको सचिवालय

यात्रामा ओलीबाहेक अन्य नेतालाई सुरक्षा दिइएको थिएन। ओलीको स्वस्थालाई आधार बनाएर चिकित्सक टोली परिचालित थियो। ‘अध्यक्षज्यूले बिहानदेखि राति १० बजेसम्म यात्रा र भाषण गर्दा स्वास्थ बिग्रिने चिन्ता थियो। तर त्यसो भएन,’ प्रवक्ता गौतमले भने, ‘चिसोले समस्या ल्याएन। यसलाई उपलब्धि मान्नुपर्छ।’ नेतृत्वले भुइँतहमै पुगेर जनताका धेरै समस्या दखेकाले अब समाधानमा केन्द्रित हुने उनले बताए।  ‘हामीले मध्यपहाडी जनताको जनजीवनबारे ‘जिरो लेभल’ बाट जानकारी पाएको छौँ। जनताका आकांक्षा र अपेक्षा पूरा हुन किमिसका छन्। अब हामी त्यसतर्फ ध्यान दिन्छौँ’, गौतमले भने।

अबको बाटो

एमालेले मध्यपहाड यात्रामा जनताका धेरै समस्या सुनेको छ। उपमहासचिव ज्ञवालीका अनुसार यसमध्ये कति सहज किसिमका त कति जटिल किसिमका छन्। यस्ता समस्यालाई वर्गीकरण गरेर अघि बढ्ने नेताहरू बताउँछन्। सबै विषयको अध्ययन गरेपछि संकल्प यात्रामा प्राप्त उपलब्धिबारे सार्वजनिक गरिने ज्ञवालीले बताए।

जनताका समस्या समाधानका लागि पार्टी जिम्मेवार भएर प्रस्तुत हुने एमालेको योजना छ। ‘कुन सरकार (स्थानीय, प्रदेश र संघ) बाट समाधान हुने हो त्यहीँबाट हामी समाधानका उपाय खोज्छौँ,’ ज्ञवाली भन्छन्, ‘कतिपय समस्या एमालेबाटै समाधान हुने गरी योजना बन्नेछ।’

पार्टीबाट समाधान नभए सरकारलाई दबाब दिइने उनले बताए। सरकारले समेत समाधान गर्न नचाहे जनदबाबको कार्यक्रम अघि बढाउने एमालेको तयारी छ।
लोकमार्ग जाडिएका २६ जिल्लामध्ये २०७८ सालको जनगणनाअनुसार कोशी प्रदेशको उदयपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको रुकुम पूर्व, कर्णाली प्रदेशका रुकुम पश्चिम र जाजरकोट जिल्लाको जनसंख्या वृद्धिदर सकारात्मक छ।

एमालेले यात्रा गरेको मध्यपहाडमध्ये कोशीका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगाको जनसंख्या वृद्धिदर ऋणात्मक छ। बागमतीका सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङले पनि ठूलो जनसांख्यिक क्षति व्यहोरेका छन्।

गण्डकीका गोरखा, लमजुङ, पर्वत, बागलुङ पनि जनसंख्या क्षति व्यहोरिरहेका जिल्लामा पर्छन्। यी जिल्लाको बाह्य बसाइँ सराइ दर उच्च छ। मध्यपहाडी लोकमार्गमा पर्ने कर्णाली प्रदेशको दैलेख जिल्लाको पनि जनसंख्या वृद्धिदर ऋणात्मक छ।

सुदुरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा र बैतडी जिल्लाको जनसंख्या वृद्धिदर नकारात्मक छ। २०७८ सालको जनगणनाअनुसार मध्यपहाडी लोकमार्गले छोएका २६ जिल्लामा ५७ लाख ७८ हजार ९ सय ८५ जनसंख्याको बसोबास छ।

‘हामीले जनसंख्या, बसाइँ सराइ, अवसर र सम्भावना सबै विषयमा गहन अध्ययन गर्नेछौँ’, उपमहासचिव ज्ञवालीले भने, ‘मध्यपहाडी क्षेत्रमा देखेका समृद्धिका सम्भावना, स्थानीय जनताले बुझाएका र सुझाएका समृद्धिका प्रस्ताव, स्थानीय पार्टी कमिटीहरूले समृद्धिसँग सम्बन्धित भएर दिएका स्मरणपत्रका आधारमा समृद्धिको खाका तयार पार्नेछौँ।’

मन र भावना जोडिएको ओलीको दाबी

एमाले अध्यक्ष ओलीले झुलाघाट-चुवाभन्ज्याङ यात्राका क्रममा यात्री मात्रै नजोडिएर मन र भावना पनि जोडिएको बताएका छन्। यात्रा समापनपछि उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा खोला तरेर अर्को ठाउँमा पुग्दा बेग्लै भेषभूषाका आत्मीय स्वागत! यात्रीहरू मात्र जोडिएनन्, मनहरू जोडिए, भावनाहरू जोडिए।’

समस्या पहिल्याउने र समाधान खोज्ने उद्देश्यले आयोजना गरिएको यात्रा उल्लासपूर्ण र रमाइलो भएको ओलीले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 17 =