मन्त्रिपरिषद्ले बल्ल टुंगायो रथी बढुवाको सिफारिस, सिग्देल नै भावी प्रधानसेनापतिका एक्ला दाबेदार

हिमाल प्रेस २८ मंसिर २०८० २०:१४
28
SHARES
मन्त्रिपरिषद्ले बल्ल टुंगायो रथी बढुवाको सिफारिस, सिग्देल नै भावी प्रधानसेनापतिका एक्ला दाबेदार

काठमाडौँ- नेपाली सेनाको रथीमा अशोकराज सिग्देल बढुवा भएका छन्। उनलाई बिहीबार बसेको मन्त्रिपरिषद्ले बढुवा गरेको हो।

गत साता नै उनको बढुवा भएको जानकारी दिइएको भए पनि त्यसदिन उनको नाम प्रस्तुत मात्र भएको र विभागीय मन्त्री विदेशमा रहेको समय भनेर मुख्य सचिवले नलेखेपछि यसै रहेको थियो।

सिग्देल अब आगामी प्रधानसेनापति बन्ने निश्चित छ। साथै सेनाभित्र उमेर र रोलक्रम विवाद बाहिर ल्याउने प्रयासको पनि अन्त्य भएको छ। नेपाली सेनामा वरिष्ठ रथी प्रधानसेनापति बन्ने प्रचलनअनुरूप सिग्देल ९ महिनापछि प्रधानसेनापति बन्नेछन्। सेनाभित्र एक समूह खेल्न खोजेको र त्यो समूहलाई ‘भडुवा’ समूहको नामकरण गरी नेतृत्वले केही समयमा कारबाही गर्ने तयारी पनि गरेको छ।

जंगीअड्डाले सिग्देललाई रथीमा बढुवा गर्न गरेको सिफारिस गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको भनिए पनि त्यही भडुवा समूहको सक्रियतामा एक साता ढिलाइ भएको बुझाइ नेपाली सेनाको छ। २०८१ भदौमा हालका प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधानसेनापति बन्ने हुनाले उनलाई रोक्न भडुवा समूह लागेको नेतृत्वको बुझाइ छ। सिग्देल २०७६ असोजमा उपरथीमा बढुवा भएका थिए। त्यतिबेला नै उनको उमेर विवाद छानबिन भएको र अहिले पनि उमेर र सर्टिफिकेट हेरेर मात्र बढुवा सिफारिस गरिएको हो।

निकै विवाद झिक्न थालेको भन्ने भएपछि उनको सबै सर्टिफिकेटको फोटोकपी समेत रक्षा मन्त्रालय पठाउने काम सेनाले गरेको थियो। सिग्देल उपरथी हुने क्रममा सेनाभित्र उनको नागरिकता र जन्ममितिमा विवाद झिकिए पनि त्यो समयमा नै उनी निष्कलंक देखिएका थिए। जन्ममिति सच्चाएका व्यक्ति पूर्व उपरथी ताराध्वज पाण्डेलाई सफाइ दिएका पूर्णचन्द्र थापाले अहिले सिग्देल निष्कलंक छन् भनेर बोलेनन्। न अन्य अधिकारीले। तर कतिपयले सिग्देल आफ्नो पौरखले यहाँसम्म आइपुगेको कुरा सुनाएका थिए। रथी बढुवामा सिफारिस भएका पाण्डेले छानबिन हुँदा नागरिकतामा कीर्ते गरेको पाइएपछि राजीनामा दिएका थिए। त्यसो थियो भने पक्कै सिग्देलले पनि दिने थिए। उनी परेमा आफ्नो नागरिकता र अन्य प्रमाणपत्र पत्रकार सम्मेलन गरेर पनि देखाउन तयार रहेको बताउँदै आएका थिए।

पाण्डेको राजीनामालगत्तै रोलक्रमका आधारमा सैनिक मुख्यालयले सिग्देललाई रथीमा बढुवा सिफारिस गरेको हो। सिग्देलको पनि उमेरमा कीर्ते भएको भन्दै सेनाभित्रको एउटा समूहले मंसिर ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठायो।

‘मन्त्रालयले सिग्देलको सबै सर्टिफिकेट छानबिन गरेर मन्त्रिपरिषद्‌मा बढुवाका लागि सिफारिस पठाएपछि पनि एक समूहले नेताको घरघर पुगेर विवाद झिक्न लगाए। तर अन्ततः सत्यको जित भयो। उनी रथीमा बढुवा भए,’ सैनिक अधिकारीले भने, ‘सेनाभित्र सिभिलको पहुँच विस्तार गराउन खोज्ने र चलखेल गर्नेलाई नेतृत्वले नजिकबाट नियालिरहेको छ। यसमा सचेत हुन समेत आग्रह गरिएको छ।’

अभिव्यक्ति स्वतन्त्रता छ भन्दैमा हुँदै नभएका विषयमा बिनाप्रमाण लाञ्छना लगाउने र सेनालाई बदनाम गराउने समूहप्रति सेना जानकार रहेको पनि ती अधिकारीले बताए। ‘लोकतन्त्रमा समाचार लेख्न पाइन्छ। अभिव्यक्ति स्वतन्त्रता पनि छ। तर लाल्छना लगाउन र अँध्यारोमा तीर हान्ने अधिकार कसैसँग पनि छैन,’ ती अधिकारीले भने, ‘सेनाको जिम्मेवारी र गाम्भीर्यता बुझ्न आवश्यक छ। राजनीतिक नेतृत्वले पनि त्यो बुझ्नुपर्छ।’

जनसम्पर्क र दलका नेताहरूसँग खासै सम्पर्क नगरी जिम्मेवारीमा तल्लीन हुने हुनाले पनि सिग्देललाई सेनाभित्रका एक समूहले रोष राख्ने गरेको अर्का अधिकृतले बताए। उनी नेपाली सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकारीका रूपमा परिचित छन्। उनी कसैको दौरा फेरो नसमाईकन सेनाको उपल्लो दर्जामा पुगेका सिग्देल अहिले पनि उत्तिकै आत्मविश्वासको साथ काम गरिरहेका थिए।

तनहुँमा जन्मिएका सिग्देलको स्थायी घर भैरहवा हो। सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हायर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए। अहिले पनि उनी प्रधानसेनापतिको मैदानमा एक्लो रहनेछन्। उनी हाल बूढानीलकण्ठमा बस्छन्।

उपरथी सिग्देलको जन्ममितिमा भेटिएन कैफियत, रथीमा बढुवा सुनिश्चित

प्रकाशित: २८ मंसिर २०८० २०:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =