उपरथी सिग्देलको जन्ममितिमा भेटिएन कैफियत, रथीमा बढुवा सुनिश्चित

हिमाल प्रेस २० मंसिर २०८० ९:०१
10.0k
SHARES
उपरथी सिग्देलको जन्ममितिमा भेटिएन कैफियत, रथीमा बढुवा सुनिश्चित

काठमाडौँ- नेपाली सेनाको रथीमा बढुवा सिफारिस भएका वरिष्ठ उपरथी अशोकराज सिग्देल ९ महिनापछि नेपालको ४५औँ प्रधानसेनापति बन्ने निश्चितजस्तै भएको छ। उपरथी सिग्देलका बारेमा कुनै कैफियत नरहेको र केही बेनामे उजुरीउपर नेपाली सेनाले छानबिन गरेर उनको फाइल रक्षा मन्त्रालयमा पठाएको सैन्य स्रोतले जानकारी दियो।

सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन भएको थियो। एसएलसीको प्रमाणपत्र र नागरिकतामा भएको जन्ममितिमा कुनै विवाद नदेखिएपछि सिग्देलको नाम सिफारिस भएको हो। रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकारसमक्ष बढुवा सिफारिस गर्ने प्रावधान छ।

रथी सीताराम खड्काले सिग्देलको फाइल अध्ययन गरेर प्रधानसेनापति प्रभुराम शर्मामार्फत मन्त्रालय पठाएका छन्। खड्का पुस ३ सेवा निवृत्त हुन लागेका छन्। ‘कैफियत भए घर जान लागेका सेनाको उपप्रमुखले किन त्यस्तो कार्य गर्थे र?,’ सेनाका एक अधिकारीले भने, ‘हामीले उपलब्ध प्रमाण हेरेर छानबिन गर्ने हो। बाहिर के आएको छ र कस्तो हावा चलेको छ भनेर बस्ने होइन।’

आगामी मन्त्रिपरिषद्ले पारित गरेमा सिग्देल साउन २४ गतेबाट कायममुकायम प्रधानसेनापति बन्नेछन्।

खड्का बुधबारदेखि बिदामा बस्न लागेका छन्। अब प्रधानसेनापतिमुनिको दुवै रथी खाली हुनेछ। त्यसैले पनि मन्त्रिपरिषद्ले जतिसक्दो छिटो रथीमा बढुवा गर्नेछ।  यसअघि बढुवामा सिफारिस हुने क्रममा रहेका उपरथी ताराध्वज पाण्डेको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरकफरक मिति देखिएपछि विवादमा तानिएका थिए। यसबारे नेपाली सेनाले छानबिन प्रक्रिया थालेपछि पाण्डे  राजीनामा दिएर बाहिरिए। पाण्डेको राजीनामापछि सिग्देल रोलक्रममा माथि आएका हुन्।

‘सिग्देलको प्रमाणपत्र र नागरिकता गलत थियो भएमा सेनाले सिफारिस गर्छ होला र? के सेनामा एकजना त्यस्तो रहँदैमा सबैको किर्ते हुन्छ भन्ने छ र? सेनाभित्रको संयन्त्रले दिएको खण्डमा वर्तमान उपरथीले आफ्नो प्रमाणपत्र पत्रकार सम्मेलन गरेर नै बाहिर ल्याउन सक्ने क्षमता राख्नछन्,’ सिग्देल निकटका एक अधिकृतले भने।

सेनामा शालीन, भद्र र अध्ययन एवं प्रशिक्षणमा अब्बल अधिकृतका रूपमा सिग्देलको पहिचान छ। कसैको दौरा नसमाइकन यहाँसम्म पुगेका व्यक्तिले उमेर सच्याएर अनेक तिकडम गर्नै नपर्ने ती अधिकृत बताउँछन्।

उपरथी सिग्देललाई पनि विवादमा तान्ने काम सेनाभित्रकै एक समूहले गरिरहेको दाबी जंगीअड्डा स्रोतको छ।  जनसम्पर्क र दलका नेताहरूसँग खासै सम्पर्क नगर्ने व्यक्ति भएको कारण पनि सिग्देललाई सेनाभित्रका केही समूहले मन नपराउने सैन्य अधिकारी बताउँछन्।

तनहुँमा जन्मेका सिग्देलको स्थायी घर भैरहवा हो। नेपाली सेनाका वरिष्ठ उपरथी सिग्देल २०४३ को ब्याचका सेकेन्ड लेफ्टिनेन्ट हुन्। उनी २५ बेसिकका एक नम्बरमा सेकेन्ड लेफ्टिनेन्ट भएका थिए। हाइयर कमान्डमा पनि सिग्देल एक नम्बरमा थिए।

प्रकाशित: २० मंसिर २०८० ९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =