शेखरलाई संसदीय दलको नेता बन्न गगनको प्रस्ताव, कोइराला भन्छन् : अझै छलफल गरौँ

सन्तोष अधिकारी २७ मंसिर २०८० १८:०९
140
SHARES
शेखरलाई संसदीय दलको नेता बन्न गगनको प्रस्ताव, कोइराला भन्छन् : अझै छलफल गरौँ

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेता डा. शेखर कोइरालालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन्। कांग्रेसमा इतर समूहको नेतृत्व गरेका कोइरालाले बुधबार डाकेको बैठकमा महामन्त्री थापाले सभापति एवम् पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको आलोचना गर्दै कोइरालालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका हुन्।
सभापति देउवा २०८२ मा पार्टीको महाधिवेशन गराउने पक्षमा नरहेकाले संसदीय दलको नेता परिवर्तन गरेर अघि बढ्नुपर्ने प्रस्ताव थापाको छ। थापाको यस्तो प्रस्ताव गरेपछि डा. कोइराला र महामन्त्रीबीच रहेको तिक्तता अन्त्य भएको नेताहरूको बुझाइ छ। नेताद्वयले पनि आफूहरूबीच समुधुर सम्बन्ध रहेको प्रतिक्रिया दिएका छन्।

बैठकमा महामन्त्री थापाले पार्टी सही ढंगबाट चल्न सभापति बाधक बनेको आरोप लगाएका थिए। साथै उनले देउवाको कार्यशैलीअनुसार आगामी ०८२ मा पार्टीको १५औं महाधिवेशन हुने सम्भावना नभएको पनि बताए।
‘सभापतिजी कुनै हालतमा ०८२ मा १५‍औँ महाधिवेशन नगर्ने गरी कामकाज गरिरहनुभएको छ। उहाँ ०८४ को वैशाखतिर महाधिवेशन गर्ने गरी अघि बढ्ने देखिन्छ। ०८४ मा पार्टीको महाधिवेशन भयो भने तीन तहको निर्वाचनमा कांग्रेसको हालत के हुन्छ?’ बैठकमा थापाले भने, ‘त्यसैले अब संसदीय दलको नेता बदल्नुपर्छ। म प्रस्ताव गर्छु तपाईं (शेखर) संसदीय दलको नेता बन्ने गरी तयारी गर्नुस्।’ उनले बीचमा छोड्ने गरी गरेर तयारी नगर्न पनि कोइरालालाई सचेत गराए। ‘हामीले संसदीय दलको नेता फेरेनौँ भने पार्टीमा अराजकता अझै बढ्छ’, थापाले भने।

कोइरालाले भने थापाको प्रस्तावबारे छलफल गरेर निर्णय गर्नेबाहेक कुनै प्रतिक्रिया दिएका छैनन्। ‘अझ धेरै छलफल गर्नुपर्छ। कसरी अघि बढ्ने रणनीति बनाउनुपर्छ। छलफलका विषय धेरै छन्’, कोइरालालाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘गगन र शेखर मिलेका छैनन् भनेर कार्यकर्ता तहसम्म निराशा पैदा गराउने काम कसैले गर्नु भएन।’

‘मन माझामाझ भयो, अब एकढिक्का भएर अघि बढ्छौँ’

काठमाडौँको अनुपम फुडल्यान्डमा बसेको उक्त बैठकमा दुवै नेता समूहगत छलफल गर्न सहमत भएका छन्। महामन्त्री थापाले कोइरालासँगको संवादको खडेरी टुटेको बताउँदै अब समूहगत छलफललाई जोड दिनुपर्ने बताए। ‘समूहगत गर्ने संवाद, व्यक्तिगत रूपमा गर्ने संवाद, पार्टीका शीर्ष नेताबाहेक बाहिर रहेका नेताकार्यकर्तासँग गर्ने संवाद बन्द जस्तै भयो’, थापाले भने, ‘बैठकको वातावरण नेता कोइरालाले पनि बनाउनु भएन। यसले ठूलो खाडल निम्त्याउने खतरा बढ्यो। ढिलै भए पनि आज बैठक बसियो। केही मन माझामाझ गर्ने अवस्था बन्यो। अब फेरि सल्लाह गरेर बैठक बस्नुपर्छ।’

महामन्त्री थापाले पनि समूहमा एकापसमा नलडेर पार्टी नेतृत्वसँग लड्नुपर्ने बताएका थिए। उनले भने, ‘हामी समूहमा नलडौँ। समूह एकताबद्ध हुने हो भने देउवासँग भिडौँ, हाम्रो समूहमा नभिडौँ।’

महासमिति बैठक, आसन्न राष्ट्रियसभा निर्वाचनबारे समूहगत छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक आयोजना गरिए पनि ती विषयमा छलफल नभएको एक नेताले बताए। उनका अनुसार बैठकले इतर समूहका नेतृत्वकर्ता डा. कोइराला र पार्टी महामन्त्री थापा एकै ठाउँमा रहेको सन्देश प्रवाह भएको छ। बैठकको सुरुवातमै डा. कोइरालाले भनेका थिए, ‘हामी एक ठाउँमा छौँ। भएको केही छैन, संवाद कम भएको हो। एजेन्डागत रूपमा हामी एक ठाउँमा छौँ।’

नेता कोइरालाले पनि संवाद नहुँदा दुई जनाबीच मतभेद रहेको सन्देश गएको स्वीकारे। उनले सरकार र पार्टी ठिक ढंगबाट नचलेको बताएका थिए। कोइरालाले भने, ‘छलफल नहुँदा केही कुरा आएका थिए। तर मिडियामा भने जस्तो हाम्रो समूहमा कसैसँग कुनै मतभेद र विवाद छैन। महामन्त्री र मबीच केही समस्या छैन। तपाईंहरू बाहिर अनावश्यक कोही पनि नबोल्नुस्। हामी एक भएर नै १५औँ महाधिवेशन सम्पन्न गराउँछौँ।’

कोइरालाले बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै असमझदारी अन्त्य हुँदै गइरहेको बताए। उनले आफू र गगनबीच उमेर, हाउभाउ र टिम स्प्रिटको विषयमा फरक मत भए पनि एजेन्डाका हिसाबले महामन्त्री र आफूबीच एक इन्च पनि मतभिन्नता नभएको दोहोर्‍याए। ‘हामीबीच पहिले पनि त्यस्तो कुनै समस्या थिएन। म र गगनजीबीच एजेन्डामा फरक मत छैन। हिजो गर्ने भनेको बैठक महामन्त्री सहभागी नहुने भएर भएन। त्यही कारण आज बसियो’, उनले भने, ‘उहाँ (थापा) को उमेर र मेरो उमेर फरक छ। उहाँको सोचाइ र मेरो सोचाइ फरक छ। त्यसले मात्रै हो। हामी सबै मिलाएर अघि बढ्दै छौँ।’

मंगलबारका लागि तय भएको बैठकमा कोइरालाको कार्यशैलीसँग असन्तुष्ट नभएर थापा सहभागी नहुने सन्देश पठाएपछि बुधबारका लागि सरेको थियो। बैठकमा थापा पनि सहभागी हुने वातावरण बनाउन नेता अर्जुननरसिंह केसीले कोइराला र थापालाई आफ्नो निवासमा बोलाएर छलफल गराएका थिए। त्यसपछिमात्रै थापा कोइरालाले डाकेको बैठकमा सहभागी हुन तयार भएका थिए।

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न मापदण्डको प्रस्ताव

बैठकबाट बाहिरिँदै गर्दा महामन्त्री थापाले सभापति देउवा गुटको संरक्षक बनेर काम गरिरहेको आरोप लगाए। देउवाले अहिले दोहोर्‍याइरहेको कार्यशैली सुधारका लागि पनि दबाब आवश्यक भएको उनको भनाइ छ। ‘पार्टीमा एकदमै अन्याय भएको छ। पार्टीका सभापतिले सबैलाई न्यायपूर्ण व्यवहार गर्नु भएको छैन। पार्टी सभापति आफैँ एउटा समूहको संरक्षक हुनु भयो आफ्नो समूहलाई हेर्ने र अर्कोलाई हेर्ने नजर नै अर्को छ।,’ उनले राष्ट्रियसभा निर्वाचनको प्रसंग निकाल्दै भने, ‘राष्ट्रियसभा र संविधानको स्पिरिट अनुसारकालाई हामीले पठाउनुपर्छ। त्यसका लागि मापदण्ड चाहिन्छ।यो समूहले यति पाउनुपर्छ, उति पाउनुपर्छ भन्ने होइन, सभापति गुटको नभई कांग्रेसको सभापति भएर यसबारे निर्णय गर्नुपर्छ।’

आजको बैठकमा राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि मापदण्ड बनाउनुपर्ने विषय नेता गुरुराज घिमिरेले निकालेका थिए। पार्टीबाट पटक-पटक अवसर पाएका कि नयाँ तर संविधानको मर्यादा ख्याल गरिरहेकालाई अवसर दिएर राष्ट्रियसभाको सदस्य बनाउने भन्नेबारे मापदण्ड बनाउनुपर्ने घिमिरेको प्रस्ताव छ। ‘ पटकपटक अवसर पाएका, मन्त्री भएकालाई राष्ट्रियसभा सदस्य बनाउने गरी तयारी भइरहेको सुनिएको छ यो ठिक भएन,’ उनले भने,’त्यसकारण मेरो प्रस्ताव छ राष्ट्रियसभामा हामीले प्राप्त गर्ने ठाउँमा अवसर नपाएका साथीहरूलाई अवसर दिइयोस्।’ उनले थप भने,’क्राइटेरिया ०४८ सालदेखि निरन्तर चुनाव लडेका, पटक पटक मन्त्री भएका सहभागी हुने खालको हुनु भएन।’

अर्का नेता अर्जुननरसिंह केसीले पनि राष्ट्रियसभा निर्वाचन विषयमा मापदण्ड बनाएर काम गर्न नेताहरूले सुझाव दिएको बताए। ‘आज धेरै विषयमै छलफल भयो। तीमध्ये राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न मापदण्ड बनाउनुपर्ने कुरा उठ्यो। यी विषय पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपसभापतिले, महामन्त्रीले राख्नुहुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =