दलका नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री : डा. कोइराला

हिमाल प्रेस १९ मंसिर २०८० १७:२८
78
SHARES
दलका नेता, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री : डा. कोइराला ओखलढुंगामा मङ्गलबार आयोजित नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलन एवम् (बीपी स्मृति भवन) उद्घाटन कार्यक्रममा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। तस्बिर : रासस

काठमाडौँ-  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दलका नेता, कर्मचारी र व्यापारीहरूको मिलेमतोमा एनसेल बिक्री गरिएको दाबी गरेका छन्। मलेसियन कम्पनी ‘आजियाटा ग्रुप’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट यूके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो। नियामक निकायलाई समेत जानकारी नहुने गरी मुलुकबाहिरबाट सेयर खरिद बिक्री भएको भन्दै यो व्यावसायिक कारोबारको कानुनी प्रक्रियाको वैधता र आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका बेला सत्तारूढ दलका नेता कोइरालाबाट यस्तो भनाइ आएको हो।

डा. कोइरालाले नेपाली कांग्रेस ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै भने, ‘आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदैछ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ। यस्तो काम राजनीतिज्ञ, कर्मचारी र व्यापारीको मिलेमतो नभई सम्भव हुँदैन।’

एनसेल बिक्रीबारे आफूले दलका नेताहरूलाई प्रश्न गरेको पनि कोइरालाले बताए। यस प्रकरणलाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको भन्दै नेता कोइरालाले भ्रष्टाचार निर्मूल गर्नुको विकल्प नभएको बताए।

नेता कोइरालाले भ्रष्टाचारलाई निर्मूल पार्न नसके नेपाललाई विकसित मुलुक बनाउन नसकिने बताए। उनले भने, ‘अहिले जताततै असन्तुष्टि छ। यसको कारण भ्रष्टाचारले देशलाई गाँजेको छ भन्ने कुरा सर्वत्र सुन्नुहुन्छ। भ्रष्टाचार नै मुलुकको विकास र समृद्धिको बाधक हो।’

७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरुलाई बढाउन जान सकेमात्रे रोजगारीका अवसर पाउन सकिने नेता कोइरालाको दाबी छ।

प्रकाशित: १९ मंसिर २०८० १७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =