अन्तर्वार्ता

जनताको आक्रोश नेतृत्वसँग हो, गणतन्त्रप्रति होइन : डा. शेखर कोइराला [भिडियोसहित]

चन्द्रशेखर अधिकारी १७ मंसिर २०८० ६:१४
282
SHARES
जनताको आक्रोश नेतृत्वसँग हो, गणतन्त्रप्रति होइन : डा. शेखर कोइराला [भिडियोसहित]

डा. शेखर कोइरालालाई नेपाली कांग्रेसमा भाबी सभापतिका रूपमा लिइएको छ। संस्थापन पक्षका केही र उनी निकटकै नेताले भने त्यो दाबीलाई अस्वीकार गरिरहेका छन्। तथापि उनी कांग्रेसको सर्वोच्च पदमा पुग्नका लागि सक्रिय छन्। २०८२ मा पार्टी सभापति हुने र २०८४ मा पार्टीलाई बहुमत दिलाएर कांग्रेस नेतृत्वको सरकार बनाउने कोइरालाको लक्ष्य छ। पार्टीको अघिल्लो महाधिवेशनमा पुरानो पुस्ता एक हुँदा पनि सभापतिमा राम्रो मत ल्याएका कोइराला सभापति पदमा प्रतिस्पर्धा गर्ने निश्चित भएपछि सभापति शेरबहादुर देउवाले पनि कांग्रेसको विरासत कतै कोइरालालाई नै त बुझाउन लागेका त हाेइनन् भन्ने पनि बहस भइरहेका छन्। यिनै विषयसहित समसामयिक राजनीतिक विषयमा कांग्रेस नेता डा. कोइरालासँग हिमाल प्रेसका चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :

राजनीतिकै कारण युवा पुस्ता निराश देखिएको छ। यसलाई यहाँले कसरी मूल्यांकन गरिरनुभएको छ?

तपाईंले जुन प्रश्न सोध्नुभयो, यस्तै प्रश्न मैले केही दिनअघि मेरी छोरीलाई पनि सोधेको थिएँ, तिमीहरू युवा समूहलाई भेटिरन्छौ- क्रिकेटरदेखि पेन्टरसम्म तिमीहरूको सम्पर्क हुन्छ। समाजशास्त्रमा स्नातकोत्तर र युवाहरूसँग अन्तरक्रिया गर्ने हुनाले उनी यसबारे जानकार होलिन् भनेर।

उनको उत्तर पनि तपाईंले उठाउनुभएको प्रश्नजस्तै थियो। उनले उल्टै प्रश्न गरिन्, ‘शीर्ष राजनीतिक नेतृत्वको अगुवाइमा देशमा गणतन्त्र ल्याएको हो भने यसमा युवालाई किन समेट्न सकिएन? युवालाई मुलुकमा अड्याउन किन सकिएन?’ ‘गणतन्त्रसँगै धर्म निरपेक्षता, संघीयता पनि ल्यायौँ। तर त्यसलाई व्यवस्थित गर्न सकेनौँ र हामी (युवा) निराश भइसक्यौँ। मलाई एउटा फाइदा के छ भने मेरो त तपाईँ हुनुहुन्छ तर सबैको त तपाईँ हुनुहुन्न नि! हामीजस्ता धेरै युवा छन् जसको कोही पनि छैनन्। त्यसैले उनीहरू ज्यादै निराश छन् व्यवस्थाभन्दा पनि तपाईँ (नेता) हरूदेखि। सरकारले नागरिकभन्दा आफू, परिवार र दललाई हेर्छ। मुलुक र नागरिकको चिन्ता कसैलाई छैन। मजस्ता धेरैको भनाइ पनि यही छ।’ उनले रिसाएजसरी उत्तर दिए पनि म सहमत भएँ।

दशकाैँको प्रयासपछि मुलुकमा संघीय गणतन्त्र आयो। अहिले आएर संघीय गणतन्त्र व्यवस्थामाथि प्रश्न उठ्नुको कारणचाहिँ के होला?

यतिबेला गणतन्त्र केका लागि ल्याएको भनेर सबैले प्रश्न गर्न थालेका छन्। युवाले मात्र होइन गणतन्त्र ल्याउन लडेका कपाल फुलिसकेकाहरूले पनि। यस्तै हुने थियो भने गणतन्त्र ल्याउन किन हिँड्नुपर्थ्यो र? राजनीतिलाई भद्दा मजाक बनाउन किन नयाँ व्यवस्था ल्याउने? धर्म निरपेक्षता त पहिल्यै विवादमा थियो। ८५ प्रतिशत हिन्दू समुदाय रहेको मुलुकमा विवाद हुने नै भयो। त्यसमा म धेरै जान चाहन्नँ।

संघीयतामा समस्या देखिएको छ। हामी तल्लो तहलाई अधिकार दिन चाहँदैनौँ। सरकारमा जोसुकै होस्, सबै माथिबाट नेतृत्व हुनुपर्छ भन्ने सोचमा छन्। मुख्यसचिव र प्रहरीका आईजीपीसम्म पनि अधिकार हस्तान्तरण गर्न चाहँदैनन्। सरकारको नेतृत्व गरिरहेकाहरू मात्रै होइन प्रतिपक्षमा रहेका पनि यस्तै छन्। अधिकार नदिएपछि त प्रदेश सरकार चल्दैन। अनि संघीयता केका लागि भनेर प्रश्न उठ्न थालेको हो। प्रदेशमा दलका नेताकार्यकर्ताको व्यवस्थापनबाहेक केही भएको छैन। नागरिकलाई ज्यादै कर तिराउने मात्र काम भइरहेको छ। अहिले पनि सीडीओ चाहिने? अनि कसरी परिपक्व हुन्छ संघीयता? प्रदेश अब्बल भएपछि त्यहाँ सीडीओ किन चाहियो? ब्युरोक्रेसी अधिकार तल दिन नचाहने अनि प्रदेशले गर्न सकेन मात्र भनेर हुन्छ?

उदाहरणका लागि कोशी प्रदेशमा गत वर्ष ६ वटा प्रमुख सचिव परिवर्तन भए। दुईदुई महिनामा प्रमुख सचिव परिवर्तन हुने हो भने कस्तो संघीयता खोजेको हामीले? हाम्रा सभापति आफ्नो स्वार्थ हेरेर दलको शक्ति भुल्नुहुन्छ अनि के गर्ने? कांग्रेसमा मात्र होइन सबै दलमा यस्तै समस्या छन्। अनि कसरी संघीयता अघि बढ्छ? संघीयता बिगार्ने पनि हामी नै हौँ। तर सुधारका लागि कत्ति पनि पहल भएको पाइँदैन।

अर्कोतिर आर्थिक अवस्था हेर्नुहोस् मुलुकको। कस्तो भइसक्यो भने मानिसहरू पहिले भात, दाल, दुईथरी तरकारी र अचार खान्थे भने अहिले तरकारी एकथरीमा परिणत गरिसकेका छन्। अचार नभए नि हुन्छ भन्ने अवस्था आइसकेको छ। तरकारी छ भने दाल नपकाऔँ, झोल हालेर खाऔँ भन्ने अवस्था छ।

हामीले गणतन्त्रलाई व्यवस्थापन गर्न नजानेकै हो त?

पक्कै। यहाँ हामीले गणतन्त्र त ल्यायौँ। नयाँ संविधान जारी गर्‍यौँ तर संविधानले दिएको अधिकार सबै तहमा दिन हच्कियौँ। आफैँ माथि बलियो भएर बस्ने रहर जाग्यो। जसले गर्दा संघीयता धरापमा परेकोे छ। यो राम्रो होइन। हामीले संघीयतालाई बचाएर अघि बढ्नु आवश्यक छ। सातै प्रदेशलाई प्रतिस्पर्धी ढंगले अघि बढाउन सकेमा मुलुकको विकास हुन समय लाग्दैन। तर हामी त्यसो गरिरहेका छैनौँ।

संघको बजेट नदिने, स्थानीय सरकारलाई जति पनि राजस्व उठाउन दिने तर प्रदेश सरकार नेता व्यवस्थापनका लागि मात्र उपयोग गर्ने हो भने प्रदेश किन चाहियो र? भन्ने प्रश्न आएकै छन्। यो व्यवस्था अहिलेसम्मको उत्तम व्यवस्था हो। त्यसैले यसलाई मिलाएर जनचाहनाअनुरूप काम गर्न नेतृत्वले इच्छाशक्ति देखाउन आवश्यक छ। नेतृत्व इमानदार हुनुपर्छ। छलकपटमा लाग्नै हुँदैन। यहाँ त नेतृत्वलाई कमाउन पैसा परिरहेको हुन्छ। निर्वाचन महँगो बनाइएको छ। नयाँलाई अवसर दिने चलन छैन। पार्टी आफ्नो प्याओ झैँ बनाएर राख्नेहरू छन्। अनि कसरी यो प्रणाली चल्छ?

नेपाली कांग्रेस सरकारमा छ। यस्ता निराशाको सम्बोधन गर्न पार्टीका तर्फबाट के कस्ता प्रयास भइरहेका छन्?

नेपाली कांग्रेस पनि सरकारको एउटा हिस्सेदार हो। म त नेतृत्वमा छैन। म सरकारमा भएको दलको एक सामान्य कार्यकर्ता मात्र हुँ। जसले नेतृत्व गर्छ उसले जिम्मेवारी लिने हो। नेतृत्वकर्ता नै मुलुकको विकास गर्न चाहनुहुन्न भन्ने के गर्ने? कसरी अघि बढ्ने?

हामीले युवालाई स्वदेशमा रोजगारी दिन सकेका छैनौँ। ऋण लिनेहरूले ब्याज तिर्न नसकेको अवस्था छ। मैले दसैँतिहार र छठमा प्राय: यस्तै मानिससँग भेटेँ। कृषि ऋण ५ प्रतिशत ब्याजमा पनि दिन्छ क्यारे! तपाईं लिन जानुस् २० लाख रुपैयाँ ऋण दिँदैन। कृषिमा एक अर्ब रुपैयाँ लगानी गर्छु भन्ने मान्छेलाई मात्रै ऋण दिन्छ बैंकले। कृषिमा एक अर्ब लगाउने व्यापारी हुन्। अनि ती व्यापारीको आफ्नै बैंक छ।

बैंकर्स र व्यापारीलाई छुट्याउनु भएन, अलग गर्नुभएन भने देश अप्ठेरोमा जान्छ। यसलाई सबैले हल्का रूपमा लिएका छन्। यो हल्का विषय होइन। दुवै विषय गम्भीर छन्। हामीले गर्न नसकेको हो कि? गर्न नखोजेको हो? नेतृत्वले बुझ्न जरुरी छ। अनि हामी प्रणालीलाई मात्र गाली गरेर बस्छौँ। म प्रणालीलाई भन्दा पनि मुलुकको शासनमा बस्नेलाई गाली गर्छु। उनीहरू किन यति लाचार र कमजोर भएका?

संघीयता वा प्रदेश संरचनाभन्दा पनि डरलाग्दो सञ्जाल त यहाँका व्यापारीको रहेछ हो?

छ नै त्यस्तै। यहाँका बैंकर्स र व्यापारी एकै छन्। केही हुनेबित्तिकै एकले अर्कोलाई हिलो छ्यापेझैँ गर्छन्। तर उनीहरू मिलेर आमनागरिकलाई मर्कामा पार्छन्। उदाहरणका लागि कृषिमा सस्तो ऋण दिने भनिन्छ अनि त्यो ऋण बैंकर्सकै कसैले लिएर वा त्यही समूहको कसैले लिएर उपयोग गरेका हुन्छन्। साना किसान हेरेको हेर्‍यै? त्यसैले पनि म भन्दै आइरहेको छु, बैकर्सलाई अन्य व्यवसायमा जानै मिल्दैन। राष्ट्र बैँकले यसमा निर्णय लिन सक्नुपर्छ। यहाँ त सबै मिलेर जे पनि गर्न पाउने अवस्था छ। केही अन्तर्राष्ट्रिय मापदण्ड पनि नहुने हो भने त झनै सखाप पार्छन्।

बैंकबाहेक कुनै पनि क्षेत्र नाफामा छैन। हरेक बैंक अर्बौँ नाफामा छन्। अरू सबै क्षेत्र कमजोर हुने तर बैंक किन र कसरी नाफामा? यहाँ कहीँ न कहीँ समस्या छ। कतै न कतै कुनै न कुनै मिलोमतो देखिन्छ।

हामीले अब स्पष्ट रूपले भन्नैपर्छ बैंकर्सले बैंकर्सकै भूमिका निर्वाह गर्नुपर्छ। देश कस्तो अवस्थामा छ भने बैंकबाहेक कुनै पनि क्षेत्र नाफामा छैन। हरेक बैंक अबौँ नाफामा छन्। अरू सबै क्षेत्र कमजोर हुने तर बैँक किन र कसरी नाफामा? यहाँ कहीँ न कहीँ समस्या छ। कतै न कतै कुनै न कुनै मिलोमतो देखिन्छ। यस्ता समस्या चिरेर अगाडि बढ्यौँ भने ठिक हुन्छ। अन्यथा अवस्था सहज देखिँदैन। यही अवस्था रहेमा आज दुर्गा प्रसाईजी आउनुभयो सडकमा। भोलि अर्को जी आउनुुहुन्छ। त्यसले व्यवस्थालाई असर गर्न सक्छ।

नेतृत्वलाई लाग्ला, यो आक्रोश व्यवस्थाप्रतिको हो। तर त्यो किमार्थ होइन। व्यवस्थाप्रति आक्रोश राख्ने नागरिक कमै छन्। आक्रोश नेतृत्व र राज्य सञ्चालन शैलीप्रति हो। त्यसैले भोलि के हुन्छ भनेर कसैले देखेको छैन। हामीले राम्रा काम गर्दै जानुपर्छ। जुन हामीले गरिरहेका छैनौँ। वर्तमान सरकारले चलाइरहे जसरी मुलुक अघि बढ्छ जस्तो मलाई लाग्दैन। नेतृत्व इमानदार भएमा मात्र मुलुक चल्छ भन्नेहरू सडकमा आउन थालेमा नेतृत्वले केही गर्न सक्दैनन्। यसमा हेक्का राख्नैपर्छ।

यस्ता समस्या समाधानका लागि अबको उपाय के त?

दलहरूमा नेतृत्व परिवर्तन आवश्यक छ। संघीयता ग्रहण गर्ने र संघीयतालाई पूर्ण शक्ति दिएर काम गराउने व्यक्तिहरू नेतृत्वमा जानुपर्छ। अध्ययन पनि उत्तिकै आवश्यक छ। सुनेका र विगतमा पढेका भरमा होइन। अहिले विश्वको हावा के छ त्यो थाहा पाउने व्यक्तिले मात्र नेतृत्व गर्न सक्छ। मैले नेपाली कांग्रेसको मात्र कुरा गरेको होइन, समग्र राजनीतिक दलमा यही समस्या छ। संघीयता ग्रहण गर्ने र त्यसप्रति सकारात्मक भाव राखेर विकास प्रक्रिया अघि बढाउने व्यक्तिहरूलाई अगाडि बढाउनुपर्छ। यो पनि होइन त्यो पनि होइन भन्ने हो भने जनमतसंग्रह गरौँ संघीयता रहन्छ कि जान्छ अनि सबैलाई थाहा हुन्छ। संघीयताले विकासको अध्याय थाल्छ कि बन्द भएर अझ राम्रो व्यवस्था आउन पनि सक्छ।

कसैले जानाजान संघ र पालिका राखेर प्रदेश खारेज गर्न खोजेका त होइनन् कतै?

त्यस्तो त म देख्दिनँ। राजनीतिक नेतृत्वमा प्रदेश पनि छ र त्यहाँ हाम्रा कार्यकर्ता व्यवस्थापन भइरहेका छन् भन्ने पनि होला। त्यसैले यो भत्किहाल्छ झैँ त लाग्दैन। सबै दलले आफ्ना नेताकार्यकर्ता व्यवस्थापन पनि त गर्नुपर्ने हुन्छ।

कार्यकर्ताभन्दा पनि कार्यकर्ताजस्ता देखिने पार्टीका ‘डन’ व्यवस्थापनका लागि प्रदेश चाहिएको हो भन्ने पनि छन् नि?

त्यसलाई जे भनौँ। यसरी त प्रदेश मात्र होइन मुलुक चल्दैन। आर्थिक, सामाजिक, सांस्कृतिक कुनै पनि क्षेत्र सबल छैन अहिले। त्यसैले व्यवस्था राम्रो बनाउँदै जाने हो भने पहिला राजनीतिक नेतृत्व इमानदार हुनुपर्छ। धेरै महत्त्वाकांक्षा राख्नु हुँदैन। एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने होइन नि! बीपी कतिपटक प्रधानमन्त्री बन्नुभयो सबैलाई थाहै छ। शेरबहादुरजी कतिपटक प्रधानमन्त्री बन्नुभयो, प्रचण्डजी कतिपटक बन्नुभयो? खै योचाहिँ उहाँहरूले सुधार गर्नुभयो भन्ने केही छ? यस्तो हुँदै गए मुलुक पपुलिस्ट (लोकप्रियतावादी) को हातमा जान्छ र उनीहरूले कतै सहमति गरिदिएमा असहजताबाहेक अन्य केही हुँदैन। त्यसैले राजनीतिक नेतृत्व यस्ता विषयमा गम्भीर हुन आवश्यक छ।

संसारमा एकपछि अर्को मुलुकमा पपुलिस्टले मुहार उठाएको अवस्था देखिन्छ। नेपालमा पनि राजनीतिक नेतृत्वप्रति अविश्वास बढ्दै संकट आउने र पपुलिस्टले टाउको उठाउने अवस्था आएको हो त?

राजनीतिक नेतृत्वले गर्न नसकेको काम गर्छौँ भनेर सपना बाँड्ने तर पूरा गर्न नसकेपछि सहमति गर्नेहरू पपुलिस्ट हुन्। विश्वमा पपुलिस्टको लहर चलिरहेको छ। युरोपका कतिपय देशमा पपुलिस्टहरूको हातमा सत्ता गएको छ। तर उनीहरूले राम्रोसँग सत्ता चलाउन सकेका छैनन्। नारा दिएजस्तो मुलुक चलाउन सहज हुँदैन। त्यहाँ उनीहरूले सम्झौता गर्नैपर्ने अवस्था आएको देखिन्छ। कतिपय मुलुकमा त सम्झौता गरिसकेका पनि छन्।

राजनीतिक नेतृत्वले गर्न नसकेको काम गर्छौँ भनेर सपना बाँड्ने तर पूरा गर्न नसकेपछि सहमति गर्नेहरू पपुलिस्ट हुन्। युरोपका कतिपय देशमा पपुलिस्टहरूको हातमा सत्ता गएको छ। तर उनीहरूले राम्रोसँग सत्ता चलाउन सकेका छैनन्।

नेदरल्यान्ड्सलाई युरोपियन युनियनबाट हटाउनुपर्छ भन्ने आवाज उठिरहेको छ। त्यो सम्भव छ त? अहिले त्यहाँ त्यही नारा उठाउनेले चुनाव जितेको अवस्था छ। त्यहाँ आप्रवासीलाई मुलुकमा नलिने भन्दै कन्जरभेटिभ भएर चु्नाव लडेकी महिलाले चुनाव जितिन्। तर काम गर्न नसकेपछि समझदारी गरिन्। उनीहरूको भविष्य लामो हुँदैन। हामीलाई फेरि केही समय अलमलमा पार्न सक्ने अवस्था छ।

नेपालमा पपुलिस्टहरूले पुरानो दललाई विस्थापित गर्न सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ?

पपुलिस्ट नारा दिएर अगाडि आएकाहरूलाई दलका रूपमा बनेर अगाडि बढ्न समय लाग्छ। त्यसैले भनेजस्तो सजिलो अवस्था छैन । अर्को कुरा, नेपालमा पुराना दललाई विस्थापित गर्न गाह्रो छ। विश्वका केही देशमा त्यस्ता अभ्यास गर्न खोजिएको होला। त्यो आफ्नो ठाउँमा छ।

तर नेपालीको राजनीतिक दलप्रति जुन लगाव छ नि, त्यसमा झट्ट परिवर्तन हुने म देख्दिनँ। एउटा पुस्ता निरन्तर बाहिर गइराखेको छ। त्यो पुस्ताले यहाँ परिवर्तन नहुँदासम्म केही हुन्न भनेर फरक धार लिएको हुन सक्छ। विदेशबाट निर्देशन दिएर चल्ने धारले यहाँ काम गर्छ भन्ने लाग्दैन। नयाँ आउनेले नेतृत्व लिन समय लाग्छ। हामी नेपाली आमरूपमा कन्जरभेटिभ छौँ। हाम्रो संविधान पनि कन्जरभेटिभ छ। यहाँको अध्ययन पनि त्यहीअनुरूप ‘मोडरेट’ हुन सकेको छैन। संरचनामा परिवर्तन आएको छैन। जुन उद्देश्यले विद्यार्थीकालमा राजनीति हुन्थ्यो त्यो उद्देश्य र मिसन पूरा हुँदा पनि विद्यार्थी राजनीतिमा रहने अवस्था छ। यसमा परिवर्तन गर्नुपर्छ।

पपुलिस्टहरूले टाउको उठाउँदा कांग्रेस विचलित भएको हो कि?

नेपाली कांग्रेसका केही नेता पपुलिस्ट नारा लिएर अगाडि बढ्न चाहनुहुन्छ। केही हदसम्म त ठिकै होला। यसले दीर्घकालीन रूपमा कांग्रेसलाई फाइदा गर्दैन। यसमा ध्यान दिन जरुरी छ। अन्य पपुलिस्ट त आउँछन जान्छन्। खास काम हुँदैन। स्थापित दल भित्रै त्यो अवस्था आउँदा भने समस्या हुनछर

अब कुरा गरौँ युवा पलायनको, युवा पुस्ता उच्चशिक्षा अध्ययनका नाममा विदेश गइरहेको छ। युवा विद्यार्थीलाई सकेसम्म यहीँ केही गर्ने हौसला दिन किन नसकिएको होला?

नेपालको शैक्षिक प्रणालीले गर्दा धेरै विद्यार्थी बाहिर गइरहेका छन्। त्रिभुवन विश्वविद्यालय जहाँ हामीले पढ्यौँ। त्यहीँका विद्यार्थी पनि किन पढ्न आएको भनेर प्रश्न गर्छन्। विश्वविद्यालयको अवस्था खस्किँदै गएका कारण यहाँ पढेर के हुन्छ भन्दै बाहिर जाने चलन चल्यो। आफू अनुकूल अध्ययन गर्ने र आफू अनुकूलको जागिर खाने सोच सबैको हुन्छ।

देशमा भविष्य सुरक्षित नहुने र अवसर नपाएपछि विद्यार्थी बाहिर जाने चलन चल्यो। अब त्यस्तो प्रवृत्ति रोक्न त सकिँदैन। व्यवस्थित भने गर्न सकिन्छ। तर त्यस्तो सोच कसैमा देख्दिनँ।

विश्वविद्यालयबाट पहिलेभन्दा अब्बल जनशक्ति उत्पादन गर्नुपर्नेमा झन् कमजोर उत्पादन गरिरहेका छौँ। विश्वविद्यालय भागबन्डामा चलाइन्छ। राम्रा मान्छेलाई दिनुको सट्टा हाम्रो मानिस खोज्ने प्रथाले पनि यो अवस्था आएको हो। जबसम्म ‘राइट म्यान राइट प्लेस’ हुँदैन तबसम्म केही हुनेवाला छैन। विश्वविद्यालयभित्र भीसी, रेक्टर र प्राध्यापकहरूबीच मारामार चल्छ अनि कसरी शैक्षिक गुणस्तर राम्रो हुन्छ र विद्यार्थी अडिन्छन्? नेपालका नर्सिङ कलेज बन्द हुँदैछन्। बेलायतले १० हजार नेपाली स्टाफ नर्स लिन्छु भनेको छ। नर्सिङ पढ्नकै लागि विदेश जानुपरेको छ। युवाहरू बैङ्लोरलगायत सहरमा पढ्न जाने गरेका छन्।

युवालाई स्वदेशमै पढ्ने वातावरण दिनुपर्‍यो। नीतिनियम बनाउँदा अलि खुकुलो बनाउनुपर्‍यो। कडा नीतिनियम बनाएर अन्य स्थानमा पढ्ने अवस्था निम्त्याउनु भएन। आंगिक कलेजको संख्याभन्दा विश्वविद्यालय बनाएर पूर्ण रूपमा अध्ययन गराउन सक्छौँ।

मेडिकल कलेजहरूको त कुरा छोडौँ। इन्जिनियरिङ कलेजमा पनि विद्यार्थी पाइएको छैन। तर हामी भिडिरहेका छौँ। विश्वविद्यालयका विभागहरू खाली छन्। त्यसमा सुधारतर्फ कसैको चासो छैन। शिक्षालाई कसरी समयसापेक्ष बनाउने विषयमा ध्यान दिन जरुरी छ।

श्रमिक युवालाई स्वदेशमै रोक्ने उपाय के त?

म सधैँ रेडियो सुन्छु। सरकारले भन्छ, हामीले यो देशमा श्रमिकहरूका लागि बाटो खोलेका छौँ। मलाई भित्रैबाट दु:ख लाग्छ। किन लाग्छ भने हामीसित गर्न सक्ने क्षमता त छ। खाडीमा जाने युवालाई रोक्न त सक्छौँ होला! यहीँ रोजगारी दिएर र वा सुलभ ब्याजदरमा ऋण दिएर गाउँमा खतीकिसानी गराउन सक्छौँ। युवालाई कृषिमा लगाउन सकेको खण्डमा मात्र मुलुकको विकास हुन सक्छ। विकसित मुलुकहरू कृषिमा तरक्की गरेर मात्र अघि बढेका हुन्। नेतृत्व असल र राम्रो हुँदा टापु मुलुक पनि आरामसँग बाँचेका हुन्छन् तर नेतृत्व गलत हुँदा सुनखानी भएका मुुलुकका नागरिक भोकभोकै मर्नुपरेको छ।

सुविधा दिने हो भने पनि युवा पुस्ता कृषिमा लाग्छन् भन्ने यहाँको बुझाइ हो?

सुविधा दिएर हेरौँ, स्वदेशमा केही गरौँ, हामी सघाउँछौँ भनेर सरकारले आमनागरिकसँग हातेमालो गर्न आवश्यक छ। हाम्रो कमजोरी पहिल्याउन पनि हातोमालो नगरी हुँदैन। हामीकहाँ अर्धदक्ष र दक्ष जनशक्ति नभएका पनि होइनन्। अन्य मुलुक बनाउने नेपालीले हाम्रो मुलुक बनाउन सक्छन्। युवा त खाडी गइरहेका छन्। उनीहरूले त्यहाँ गर्ने काम यहीँ पनि गर्न सक्छन् नि! तर त्यो गर्न हामी सकिरहेका छैनौँ? वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड आवश्यक छैन।

कतिपयले विदेशबाट फर्किएर यहाँ राम्रो गर्ने प्रयास गरेको सुनिन्छ। तर उनीहरू विभिन्न समस्याका कारण निराश हुने गरेको पाइन्छ। किन होला?

राज्यले उनीहरूलाई प्रोत्साहन गर्न सकेको छैन। नीति नै कताकता गइरहेको छ। नेतृत्वमा बस्ने साथीहरूको ध्याउन्न पैसा कमाउनमा मात्रै छ। देशलाई कसरी अगाडि लगौँ भन्ने उनीहरूलाई चासो छैन। विगतमा गार्मेन्ट उद्योगमा नेपालले राम्रो गरेको थियो। पछि उद्योग बन्द भयो। अहिले त्यही क्षेत्रमा बंगलादेशले बजार लिइरहेको छ। हामीले कुरा मात्रै ठूला गर्‍यौँ, काम गर्न सकेनौँ।

युवालाई स्वदेशमै रोक्ने र सरकारी खर्च कम गर्ने भन्दा कुन दलका नेताको व्यक्तिगत स्वार्थ पूरा गर्न विदेशमा दूतावास खोल्ने गरिएको भनेर आलोचना हुने गरेको छ। यसबारे दलका नेता पनि कोही बोल्दैनन्। यसबारे यहाँको धारणा के हो?

सरकारले पोर्चुगलमा दूतावास खोल्नुपर्ने जरुरी रहेको भन्दै क्याबिनेटबाट निर्णय गरी राजदूतसमेत तोक्ने काम भएको विषय उठाउनुभएको हो भने कसैको स्वार्थका लागि किन दूतावास खोल्नुपर्‍यो? यसको पनि प्रक्रिया हुन्छ। एउटा दूतावास खोल्दा वर्षमा कति पैसा लाग्छ? त्यो फिर्ता हुन्छ कि हुँदैन? त्यसको राजनीतिक प्रभाव के रहन्छ? यी सबै पाटोमा हिसाब हुन आवश्यक छ। युरोपमा १० वटा दूतावास किन आवश्यक पर्‍यो? जहाँ दुई घण्टामा जता पनि पुग्न सकिन्छ। युरोपमा रहेका नेपाली दूतावास घटाउनुपर्नेमा आफ्नालाई व्यवस्थापन गर्ने काम मात्रै भएको छ।

हामी संयुक्त राष्ट्रसंघको कुनै एजेन्सीमा उम्मेदवार खडा गर्छौँ। अनि हामी कसैको प्रभावमा पर्छौँ। आफ्ना उम्मेदवार पराजित हुन्छन्। पछिल्लो समय डा. शुम्भ आचार्य राष्ट्रसंघको एउटा एजेन्सीमा परराष्ट्रमन्त्री र उनकी पत्नी कसैको लोभलालचमा परेका कारण पराजित भएको भन्ने टिप्पणी हुने गरेको छ। हाम्रो कूटनीतिक संयन्त्र कहाँ चुक्यो?

डा. शम्भु आचार्य डब्लूएचओमा रुचाइएका व्यक्ति हुनुहुुन्थ्यो। मैले व्यक्तिगत रूपमा उहाँलाई चिनेको तीन दशकअगाडि नै हो। डब्लूएचओमा यति राम्रो व्यक्ति जानबाट रोक्ने काम भएको छ।। सरकारले गरेको निर्णयलाई बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले हाँसेर भनेकै भरमा रोक्नु राम्रो भएन। नेपालको गौरव बढाउने मान्छे डब्लूएचओमा हुँदा देशको प्रतिष्ठा उच्च हुने थियो । तर एक जना व्यक्तिले नचाहिँदो निर्णय लिँदा यस्तो भएको हो। यसमा म त नेतृत्वको दोष देख्छु।

पार्टीमा नयाँ नेतृत्व आएपछि कांग्रेसले मुलुकभर आफ्नो शक्ति देखाएर नयाँ शिराबाट लहर ल्याउन आवश्यक छ। महाधिवेशन भएन र ८४ को मुखमा आएर अधिवेशन गर्‍यौँ भने चुनावमा हाम्रो नतिजा खस्कनेछ र पार्टी भद्रगोलबाहेक केही हुँदैन।

परराष्ट्रमन्त्रीले रोक्ने होइन, अर्थमन्त्रीले रोक्ने होइन या स्वास्थ्यमन्त्रीले गर्ने काम पनि होइन यो। यी सबै कुरा नेतृत्वमै भर पर्छ। जसले सरकारको नेतृत्व गरिरहेको छ र जो सत्तारुढ दलको नेतृत्व गरिरहेको व्यक्ति छ उनीहरूले सेख हसिनाबाट के लाभ लिन यस्तो गरेका होलान्? पदका लागि सबै तैँ चुप मै चुपमा छन्।

यहाँको आसय जसले सरकारको नेतृत्व गरिरहेको छ उसैमाथि दोष आउँछ भन्ने हो?

हो। जो सरकारमा छ उसैमाथि। उसैको नेतृत्वमा सबै चिज चलिरहेको हुन्छ। अहिले नेपाली कांग्रेस सरकारमा छ। हाम्रो भागमा नौवटा मन्त्रालय छन्। यो हुँदैन, यसरी जानुपर्छ भनेर हामीले भन्नुपर्‍यो।

यस्ता जल्दाबल्दा विषयमा नेपाली कांग्रेसको नेतृत्व मौन छ भन्ने गरिन्छ। यहाँलाई कस्तो लाग्छ?

हामीलाई बोलाएको बेलामा जान्छौँ। कुरा राख्छौँ। हरेक विषयवस्तुमाथि केन्द्रीय समिति बोलाएर छलफल गर्न सम्भव छैन। पदाधिकारी बैठक बसेर निर्णय गर्दै जानुपर्छ। दलको गतिविधिको समीक्षा हुनुपर्छ। उदाहरणकै लागि लघुवित्तको ऋणबाट पीडितकै कुरा सुनौँ। मैले भन्दै आएको छु, लघुवित्त, सहकारी र बैंकर्सहरूले ८, १० प्रतिशतमा ऋण दिन्छन् तर तिर्दा १७/१८ प्रतिशतसम्म ब्याज पुग्छ। अनि तिर्न नसक्ने अवस्था हुन्छ।

यस्ता विषयमा प्रतिपक्ष त उचालिन्छ नि?

उसको त कामै हो। हामी पनि भोलि प्रतिपक्षमा हुँदा त्यही गर्ने हो। अहिले सरकारले निर्माण व्यवसायीलाई केही प्रतिशत पैसा दिएको छ। किन केही प्रतिशत मात्रै? काम सकिएको छ भने दिनु नि पूरै पैसा। अनि त्यो पैसा बजारमा आउँछ। त्यहाँ त श्रमिकको पैसा छ। मार्केट चलायमान नहुने अनि पैसा थुपारेर राख्ने? सरकार त्यसमै रमाउने। राष्ट्र बैंक पनि रमाउने। १ खर्ब ४६ अर्ब रेमिट्यान्स आयो भनेर दंग पर्ने। त्यसको उपयोग के हो भन्ने कुरा नै मुख्य हो।

एक हिसाबले त कांग्रेसबाट धेरै आशा गरिएको छ। अब कांग्रेसले उठाउने मुद्दा केके हुन सक्छन्?

सुशासन, भ्रष्टाचारमुक्त समाज, दण्डहीनता अन्त्य जस्ता तीनवटा कुरामा नेपाली कांग्रेसका नेतृत्वदेखि तलसम्म सबैले ध्यान दिनुपर्छ। गाउँपालिका, नगरपालिका र महानगरपालिकामा स्थानीय सरकार छन्। त्यहाँदेखि नै भ्रष्टाचारमुक्त समाज, दण्डहीनताको अन्त्य र सुशासन हुनुपर्छ।

कृषिमा हाम्रो ध्यान गएको छैन। किसान महासंघका ५०/६० जना साथीहरू मलाई भेट्न आउनुभएको थियो। मैले भनेँ, ‘तपाईँहरूलाई म एउटा नारा दिन्छु, तपाईँहरू जतिजना हुनुहुन्छ, यो नारा के हो भने ‘तरकारी हामी किन्दैनौँ।’ घरमा उब्जाउ भनेको हो नि त! सहरमा घर छैन, डेरामा बसेको छ भने गमलामा धनियाँ लगाऊ। यसपछि एउटा सन्देश जान्छ। अर्गानिक खेती हामीले कसरी गर्न सक्छौँ? हामीले उत्पादन बढाउन सक्नुपर्छ। उत्पादनमा एक नम्बर देश बनाउनुपर्छ। उत्पादन बढाउन त सरकार नै लाग्नुपर्छ।

शिक्षामा हामीले परिवर्तन गर्नुपर्छ। अब इतिहास र भूगोल पढाएर हुँदैन। विषयवस्तुमा जोडिएर जानुपर्छ। त्यसलाई यहीँ गर्न सकिन्छ। हामीमा छैन भन्ने होइन। जनशक्ति छन्। नेपालीहरू जो विदेशमा छन् उनीहरू ल्याउनुपर्छ। गोरो छालालाई डलर दिइराखेका छौँ। उनीहरूलाई यहाँ बोलाऔँ न काम गर्र्न। कम पैसामा खुसीसाथ काम गरेका छन्। मैले चिनेका हजारौँ होलान् विदेशमा, अमेरिका, युरोपमा। शिक्षामा लगानीअनुरुपको प्रतिफल प्राप्त गर्न सकेका छैनौँ। स्वास्थ्यमा त्यस्तो खराब छैन। तर अलिकति ध्यान दिनैपर्छ।

राजा चाहिन्छ भन्ने समूह रहिरहन्छ। हामीले काम गरेर त्यस्तो आवाज कम गर्दै जानुपर्छ। उनीहरूलाई पनि मूलधारमा ल्याउनुपर्छ। तर हामीले त्यसो गर्न सकेनौँ।

भ्रष्टाचारमुक्त समाज र दण्डहीनताको अन्त्य यो एउटा पाटो भयो। कृषि, शिक्षा र स्वास्थ्य, पर्यटन र हाइड्रोपावर अर्को पाटो हो। मलाई भित्री मनदेखि के लाग्छ भने उद्योगपतिहरूलाई २४ सै घण्टा बिजुली दिनुपर्छ। भारतमा पर युनिट जति दिन्छौँ, त्योभन्दा बढी एक रुपैयाँ, डेढ रुपैयाँ उनीहरू दिन तयार छन्। तर २४ घण्टा हामीले दिनुपर्छ बत्ती। नत्र उद्योग सकिन्छ। उद्योग बनाउने हो भने त बत्ती त चाहियो नि! यसमा इच्छाशक्ति हुनुपर्‍यो। अहिलेको नेतृत्वमा इच्छाशक्ति छ जस्तो म देख्दिनँ। भए त गरिसक्थे अहिलेसम्म।

त्यसो भए विकासको बाधक नेतृत्व नै हो त?

यसमा दुविधा छ र? म त त्यही देख्छु।

अब कांग्रेसको संगठनबारे कुरा गरौँ- तपाईँ, पार्टी सभापति र अन्य पदाधिकारीबीच सम्बन्ध कस्तो छ?

हाम्रो व्यक्तिगत सम्बन्ध राम्रै छ। नेपाली कांग्रेसमा त्यो चाहिँ राम्रो पक्ष हो। नेपाली कांग्रेस सरकारमा छ। राम्रो-नराम्रो जे गर्दा पनि जसअपसज पार्टीलाई आउँछ।

तपाईंले आफ्ना महामन्त्रीद्वयको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ?

उहाँहरूको जिम्मेवारी पार्टीलाई संगठित गरेर अगाडि बढ्ने हो। उहाँहरू कोसिस गर्दै हुनुहुन्छ। चार वर्षभित्र अधिवेशन गराउन सक्नुहुन्छ कि सक्नुहुन्न मुख्य चुनौती त्यो हो। अधिवेशन गराउने उहाँहरूको जिम्मेवारी हो। सभापतिलाई मात्र दोष दिने कुरा पनि होइन। उहाँहरू सबैले मिलेर काम गर्नुपर्छ। गरिरहनुभएको छैन भन्ने होइन।

अहिले मिसन ८२ र ८४ अभियान पार्टीमा चलिरहेको छ। कांग्रेस पार्टीभित्रको मिसन ८२ लाई यहाँले कसरी हेर्नुभएको छ?

नेतृत्वले २०८२ सालभित्र पार्टीको महाधिवेशन गराउन सक्छ कि सक्दैन त्यही मुख्य कुरा छ। पार्टीमा नयाँ नेतृत्व आएपछि कांग्रेसले मुलुकभर आफ्नो शक्ति देखाएर नयाँ शिराबाट लहर ल्याउन आवश्यक छ। महाधिवेशन भएन र ८४ को मुखमा आएर अधिवेशन गर्‍यौँ भने चुनावमा हाम्रो नतिजा खस्कनेछ र पार्टी भद्रगोलबाहेक केही हुँदैन।

पार्टी नेतृत्वलाई तपाईँको सुझाव के छ?

उहाँहरूलाई मेरो आग्रह के हो भने पदाधिकारीहरूको बैठक बसेर भए पनि विषयवस्तु आउनेबित्तिकै निश्चित दिशा तय गर्नुपर्छ। अहिले धर्मको विषय आइरहेको छ। गणतन्त्रविरुद्ध नारा लागेको छ। गणतन्त्र जाँदैन भन्ने कुरा मलाई थाहा छ। कांग्रेस पदाधिकारीहरू बसेर निर्णय गरिदिएको भए त्यसले एउटा राम्रो सन्देश दिन्थ्यो। १६८ सदस्यीय केन्द्रीय समिति बैठक बस्न त गाह्रो छ। कार्यसम्पादनबाट निर्णय गरेर केन्द्रीय समितिमा कुरा राख्नुपर्छ।

जाजरकोट भूकम्पमा कांग्रेसको भूमिका प्रभावकारी देखिएन भन्ने आरोप छ। किन यस्तो भइरहेको छ?

भूकम्पको दिन संयोगले उपभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्का त्यहीँ हुनुहुन्थ्यो। जाजरकोट र रुकुमका साथीहरू र मन्त्रीहरू तत्कालै जानुभयो। पार्टीका महामन्त्रीहरू पनि गएर काम गर्नुभयो। अहिले पनि काम गरिराख्नुभएको छ। प्रदीप पौडेल पनि त्यहाँ पुग्नुभयो घर बनाउन। तर सामाजिक सञ्जालमा नेपाली कांग्रेस कमजोर भयो, कमजोर भयो भनिराखेका छन्।

सामाजिक सञ्जाल धेरै एक्टिभ भएको छ। टिकटक बन्द गर्न हुन्थ्यो हुन्थेन त्यो अलगै बहसको विषय हुन सक्छ। अभिव्यक्ति स्वतन्त्रता छोडिदिनुपर्छ तर मनिटर गर्नुपर्छ भन्ने पक्षमा छु मचाहिँ। सामाजिक सञ्जालमा नेपाली कांग्रेसका साथीहरू कमजोर छौँ। अघि तपाईंले कुरा ल्याउनुभयो, पपुलिस्ट। उनीहरूचाहिँ सामाजिक सञ्जालमा यसरी कुरा राख्छन् कि कांग्रेस खत्तमै छ, हामीहरू नै हौँ सबैथोक। तर जाजरकोट र रुकुम पश्चिममा उनीहरूको भूमिका कहीँ देखिएन।

पार्टी सबल बनाउन विज्ञ व्यक्तिहरूलाई पनि प्रवेश गराउन सकिँदैन?

मलाई सोध्नुहुन्छ भने नेपाली कांग्रेस भित्रैबाट अलिकति कन्जरभेटिभ पार्टी छ। राम्रा मानिसहरूलाई माथि लगौँ भन्ने ध्यान कांग्रेसमा छैन। यो सबै कुरा नेतृत्व परिवर्तन भएपछि मात्र हुन्छ। अवकाशप्राप्त कर्मचारी र सचिवहरू नेपाली कांग्रेसमा प्रवेश गर्न खोज्छन्। उनीहरू हामीसँग फाइट गर्न त सक्दैनन् नि। उनीहरूलाई मौका त दिनुपर्‍यो नि। त्यो दिँदै नदिने हामी। मौका नदिएपछि मानिस कहाँ जान्छ त?

उनीहरूलाई कहीँ परीक्षण गराउनुपर्छ भन्न खोज्नुभएको हो?

होइन। गाह्रो छ नि! कतिपय राम्रा मान्छेलाई राष्ट्रियसभामा लैजान सकिन्छ। उनीहरूलाई मन्त्री बनाउन सकिन्छ। हाम्रो क्षमता भएका मानिस छन् त!

पार्टीको नेतृत्वमा युवा पनि छन् तर पनि यस्ता विषयमा किन चासो नदिएका होलान्?

त्यो त नेपाली कांग्रेसको ‘कन्जरभेटिभनेस’ले गर्दा हो। हामीले अलिकति उदार भएर हेर्नुपर्छ। भन्नचाहिँ हामी ‘सेन्टर लेफ्ट’, ‘लिबरल’ भन्छौँ। नयाँ र क्षमतावान् मानिस ल्याउँदा नेतारूलाई भाग खोसिन्छ भन्ने डर छ क्या।

एकपटक केन्द्रीय समिति बैठकमा कुरा चल्यो। शेखर कोइराला त डाक्टरबाट आको भने। कसैले के भने, कसैले के भने। मेरै अगाडि गिरिजाबाबुले ल्याइदिनुभएको हो भनेर पनि भने। मैले बोल्ने बेलामा चाहिँ तपाईंहरू जुन बेला जन्मिनुभएको थिएन होला, कति साथीहरूले भर्खरै हाफ कट्टु लगाउनुभएको थियो होला। म त्यति बेला जेल परेको मान्छे हुँ। बीपी र गिरिजाबीच हुने पत्र आदानप्रदान गराउने मान्छे हुँ भन्नुपर्‍यो। म राजा महेन्द्रका नाममा कलेजको नाम राख्दा विरोध गर्ने मान्छे हुँ। म पनि कुनै बेला विद्यार्थी थिएँ। कुनै बेला व्यवसायी थिएँं होला। कांग्रेसलाई सहयोग गरेर बसेको थिएँ। जुन पाटोबाट भए पनि सहयोग गरेको हुँ। यस्तो व्यवहार कन्जरभेटिभनेसले गर्दा भएको हो। मलाई लक्षित गरेर भन्न खोजेको होइन।

कांग्रेसले जहिल्यै पनि जनतासामु आफूलाई बचाउ गर्छ तर ‘डेलिभर’ गर्न सकेको भनेर आलोचना हुन्छ नि?

फेरि पनि भन्छु, नेतृत्व परिवर्तन होस्, संरचना परिवर्तन गरेर मात्रै अगाडि बढ्न सक्छौँ। अलिकति उदार हुनुपर्छ। धेरै भयौँ भने पपुलिज्ममा फस्छौंँ। कन्जरभेटिभनेसलाई छाडेर अगाडि बढ्यौँ भने गर्न सकिन्छ। मैले गर्न सकिने कुरा भनेको छु। गर्न सकिँदैन भन्ने कुरामा म विश्वास गर्दिनँ। जस्तै : म भ्रष्टाचार गर्दिनँ।

मुलुकमा गणतन्त्र रहन्छ र छिमेकीबाट खतरा छैन तर अब कस्तो हुने हो, के हुने हो भनेर किन हुइयाँ फैलाइन्छ? त्यसलाई विश्वस्त पारिदिनुहोस् न।

गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता यी तीनवटा विषय जसरी हामीले ल्यायौँ। यसमा हामी चुकेका पनि छौँ। संविधान निर्माणका बेला हामीले जनमत संकलन गर्‍यौँ। तर प्रतिवेदन लुकायौँ। हामी खुला हुनुपर्छ। देशका लागि गर्ने हो। व्यक्तिगत स्वार्थका लागि होइन। हामीले त्यसो गरेनौँ। जनतामा आक्रोश रहिरह्यो।

राजा चाहिन्छ भन्ने समूह रहिरहन्छ। उदाहरणका लागि फ्रान्सलाई लिन सकिन्छ। त्यहाँ चिया पसलमा जानुभयो भने केहीले राजा चाहिन्छ भन्छन्। यहाँ पनि त्यस्तो आवाज उठ्नु स्वाभाविक हो। हामीले काम गरेर त्यस्तो आवाज कम गर्दै जानुपर्छ। उनीहरूलाई पनि मूलधारमा ल्याउनुपर्छ। तर हामीले त्यसो गर्न सकेनौँ। त्यही भएर अहिले दिग्दारीपन आएको हो।

सरकार परिवर्तनका लागि कतै न कतैबाट प्रयास नभएको भन्न सकिन्न। राष्ट्रले एउटा व्यक्ति खोजिरहेको छ। जसले राम्रो काम गरिदिओस्। देशलाई बचाइदिओस्।

अर्को कुरा, देशमा पढेलेखेका मानिस छन् तर रोजगारी पाएका छैनन्। यस्ता समस्यालाई हामीले सम्बोधन गर्न सक्नुपर्छ। के कुराले रोकेको छ भन्नुहोस् त? हामीकहाँ आईटीका विज्ञहरू छन्। विशेषज्ञहरू छन्। तिनीहरूले गरी पनि राखेका छन् नेपालमा। नेपालमा उद्योग खोल्न कसले रोकेको छ? सबैभन्दा राम्रो पक्ष के छ भने अमेरिकाभन्दा १२ घण्टा अगाडि छौँ हामी। त्यो कुरालाई ध्यान दिएका छैनौँ हामीले। राम्रो टिम भयो भने गर्न सकिन्छ। नेपाली कांग्रेसमा मात्र होइन एमालेका पनि राम्रो मान्छे राखौँ न। के भयो र! माओवादीको राम्रो मान्छे छ लिऔँ। राम्रो छैन नलिऔँ।

राजनीतिक वृत्तमा प्रधानमन्त्री प्रचण्डको सरकार ढालेर कांग्रेस र एमाले गठबन्धनमा सरकार गठन हुँदैछ र त्यसमा तपाईँको भूमिका छ भन्ने गरिन्छ? साँच्चै तपाईँ सरकार ढाल्न सक्रिय भएको हो?

ममाथि दोष लगाउने एउटा समूह छ। त्यो समूह मेरोविरुद्ध लागिराखेको छ। कोशी प्रदेशमा मैले एमालेसँग हातेमालो गरें नि, त्यो कुरालाई लिएर उनीहरूले मप्रति शंका गरेका हुन्। कोशी प्रदेशमा त्यस्तो परिस्थिति नेतृत्वको कारण उत्पन्न भएको हो। पार्टीका सभापति, पदाधिकारीहरू, वरिष्ठ नेता सबै गएर माओवादी नेतृत्वमा सरकार बनाऊ भनेपछि कांग्रेसको चित्त दुख्दैन?

मैले नेपाली कांग्रेसको इज्जत मात्र बचाइदिएको हुँ। एमालेलाई पनि भनेको थिएँ, तपाईंहरू सरकार नछोड्नुहोस् भनेर। कांग्रेसको इज्जत बचेको कुरा मानिसहरूले महसुस गरिराखेका छैनन्। आज त नेपाली कांग्रेसको मुख्यमन्त्री छ। व्यक्ति को छ त्यतातिर नजाऔँ। कोशीमा मध्यावधि चुनाव हुनबाट रोकिएको छ। त्यसकारण म भन्छु, जे भएको छ ठिक भएको छ।

केन्द्रमा चाहिँ कत्तिको सम्भव छ?

मलाई लाग्दैन केन्द्रमा सम्भव हुने कुरा। तर सरकार परिवर्तनका लागि कतै न कतैबाट प्रयास नभएको भन्न सकिन्न। राष्ट्रले एउटा व्यक्ति खोजिरहेको छ। जसले राम्रो काम गरिदिओस्। देशलाई बचाइदिओस्। हामी भूराजनीतिक अवस्थाबाट पनि ग्रसित छौँ। यो कुुरालाई पनि हामीले ध्यान दिईकन अगाडि बढ्नुपर्छ। अहिले जसरी सरकार अगाडि बढ्न सक्दैन। त्यसैले त दुर्गा प्रसाईजस्ता व्यक्ति अगाडि आउनुभएको छ।

युवालाई सही दिशा दिएर अगाडि बढ्नुपर्छ। नेपालमा गर्न सकिँदैन भन्ने छैन। सानो मुलुक छ। जनसंख्या पनि कम छ। नेपालीको सबैभन्दा राम्रो पक्ष भने धैर्य हो। हाँसेर बसिरहेका हुन्छन्। त्योभन्दा राम्रो अरू के हुन्छ? अरू देशमा छैनन् नि यस्ता मान्छे। हामीसँग नेपाललाई ठिक राख्ने क्षमता छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + nineteen =