आयोगले भन्यो : भूकम्पपीडितलाई चिसोबाट जोगाऊ

हिमाल प्रेस २६ मंसिर २०८० ८:२७
8
SHARES
आयोगले भन्यो : भूकम्पपीडितलाई चिसोबाट जोगाऊ भूकम्पकाे त्रासले खुला ठाउँमा रात बिताउँदै आएका जाजरकोटको भेरी नगरपालिका-३ थाप्लेका सर्वसाधारण। फाइल तस्बिर : रासस

जाजरकोट- राष्ट्रिय मानव अधिकार आयोगले भूकम्पपीडितलाई चिसोबाट जोगाउन आवश्यक व्यवस्था मिलाउन कर्णाली प्रदेश सरकारलाई आग्रह गरेको छ।

जाजरकोट र रुकुमपश्चिम पुगेर फर्किएका आयोगका सदस्य मिहिर ठाकुरले त्रिपालमुनि बसेका ४३ जनाको चिसोबाट मृत्यु भइसकेको जनाउँदै उनीहरूलाई चिसोबाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न जरुरी रहेको बताए।

सोमबार आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीसँगको भेटमा आयोगका सदस्य ठाकुरले तत्काल चिसोबाट बचाउन नसकिए त्रिपालमुनि अझ धेरैकाे ज्यान जान सक्ने बताए।

‘त्रिपालमुनि बसिरहेका दीर्घरोगी, सुत्केरी, गर्भवती, महिला र वृद्धवृद्धा धेरै प्रभावित भएको पाइयो,बिरामीको संख्या पनि अधिक छ। दाउरा वितरणदेखि न्यानो कपडा भूकम्पपीडितलाई आवश्यक छ, यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक छ।’

जाजरकोट जिल्ला अस्पतालमा आवश्यक जनशक्ति र औषधीको पनि अभाव रहेको पाइएको सदस्य ठाकुरले बताए।

उनले केही पालिकामा अझै सरकारले घोषणा गरेको अस्थायी घर बनाउनका लागि पहिलो किस्ताको रकम पनि नपुगेको भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरे।

‘राहत वितरण प्रक्रिया पनि पारदर्शी हुनसकेको देखिएन, टाठाबाठाले नै धेरै राहत लिएको पाइयो’,उनले भने,‘यसतर्फ पनि ध्यान दिन आवश्यक छ।’ उनले प्रदेश सरकारलाई पुनःनिर्माण प्राधिकरण गठन गरेर काम गर्न सुझाव दिए।

आन्तरिक मामिला तथा कानुनमन्त्री जिसीले संघीय सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा प्रदेशको भूमिकालाई शून्य बनाएको आरोप लगाए।

उनले अस्थायी आवास निर्माणका लागि प्रदेश सरकारले एक अर्ब छुट्याएको भए पनि संघीय सरकारले दिने निर्णय गरिसकेकाले सार्वजनिक संरचना निर्माणमा उक्त रकम खर्चिने बताए।

प्रकाशित: २६ मंसिर २०८० ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =