लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

हिमाल प्रेस ९ फागुन २०८० १०:२०
18
SHARES
लमजुङका भूकम्पपीडित विपन्न नयाँ घरमा

लमजुङ- आफू बस्दै आएको घर दुई वर्षअघिको भूकम्पले ध्वस्त बनाइदिएपछि मर्स्याङ्दी गाउँपालिका–९ का ७८ वर्षीय बाबुराम कामीको शिरमाथिको छानो आकाश बनेको छ।

अति दुःख गरेर बनाएको एउटा घर भूकम्पमा भत्काइदिएपछि सम्हालिन नसक्नेगरी मन कुँडियो। ‘जहाँ गहिरो, त्यही पहिरो’ भनेझै उहाँमाथि एकपछि अर्को समस्या थपिँदै गयो। उनले भने, ‘दुःखीको भरोसा भगवान् हुन्छन् भनेर सहदै गएँ, मैले हिम्मत हारिनँ।’

प्यारालाइसिसले हातखट्टा राम्रोसँग नचल्ने र अलिअलिमात्र बोल्ने उनी र उनकी श्रीमती भूकम्पले भत्किएको घरमै जोखिम मोलेर बस्दै आएका थिए तर अहिले परिस्थिति परिवर्तन भएको छ।

दुई छाक खान वृद्धाभत्ताको सहारा लिँदै आएका उनका लागि यतिबेला नयाँ घर पुनःनिर्माण भएर चाबी पाएसँगै मुहारमा खुसी छाएको छ।

मर्स्याङ्दी गाउँपालिका–९, ८, ३ वडाका आर्थिक अवस्था कमजोर भएका बाबुरामजस्तै धेरै भूकम्प प्रभावितको मुहार उज्यालो भएको छ। उनका छिमेकीले पनि टहरोमा कष्टकर र डरैडरमा रात कटाउँदै आएकामा अहिले नयाँ घर पाएपछि खुसी लागेको बताएका छन्।

भूकम्पपीडित तिलकबहादुर भण्डारी, गोमे कामी, टीकामाया भण्डारीलगायत विपन्न वर्गले घरसँगै जीविकोपार्जनका लागि सहयोग मिल्दा आफूहरूलाई धेरै सहज भएको बताएका छन्।

लमजुङमा क्रियाशील ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) र क्याथोलिक रिलिफ सर्भिस (सीआरएस)को साझेदारीमा लमजुङ पुनर्लाभ परियोजनाअन्तर्गत निजी आवास पुनःनिर्माण गरी गत आइतबार मर्स्याङ्दीका १७ भूकम्पपीडितको घर पुनःनिर्माण गरेर उनीहरूलाई हस्तान्तरण गरिएको छ।

चालु आर्थिक वर्षमा निर्माण सकेको १७ घरका लागि आरसीडीसी सीआरएसले ९२ लाख ५३ हजार ४६ रुपैयाँ लगानी गरेको आरसीडीसीका अध्यक्ष राजेन्द्र बोहराले बताए। उनका अनुसार उक्त रकमबाट मस्र्याङ्दी गाउँपालिका–९ मा १३, ८ मा तीन घर र वडा नं ३ मा एक घर पुनःनिर्माण गरिएको छ।

उक्त परियोजना हेर्ने इन्जिनियर रवि थापाका अनुसार जस्तापाताको छाना भएको दुईकोठे घर र शौचालय निर्माण गरिएको छ। साथै खानेपानी धारा घरघरमै लगिएको छ।

निजी आवास पुनःनिर्माणका लागि आरसीडीसी र सीआरएसले प्रतिघर पाँच लाख ४५ हजार तीन सय ४९ रुपैयाँका दरले लगानी भएको छ। साथै उक्त संख्यामध्ये १५ लाभग्राहीलाई जीविकोपार्जनका लागि १५ हजार रुपैयाँका दरले सहयोग गरेको छ।

त्यस्तै सो गाउँपालिका–९ ढाँडमा कृषि उब्जाउका लागि ढाँड सिँचाइ परियोजनाअन्तर्गत आरसीडीसी र सीआरएसले १३ लाख ४९ हजार तीन सय २३ रुपैयाँ बराबरको छ सय मिटर लामो सिँचाइ योजनासमेत निर्माण गरेको आरसीडीसीका अध्यक्ष बोहोराले बताए। उनका अनुसार यसबाट १६ घरधुरीका बासिन्दा लाभान्वित हुनेछन्।

विसं २०७८ जेठ ५ गते बिहान मर्स्याङ्दी गाउँपालिका–८ भुलभुले केन्द्रविन्दु भएर पाँच दशमलव आठ रिक्टर स्केलको भूकम्प भएको थियो। भैँचालोबाट लमजुङका दुई हजार दुई सय घरमा क्षति भएको थियो।

मर्स्याङ्दी गाउँपालिकाले विपन्नका ३० घर पुनःनिर्माणका लागि सिफारिस गरेकामा आरसीडिसी सीआरएसले गत वर्ष नौ घर र यो वर्ष १७ घर गरी २६ घर पुनःनिर्माण सम्पन्न गरेको छ।

बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका गरी ५० घर पुनःनिर्माणको जिम्मेवारी यी संस्थाले लिएका छन्।

सीआरएसका जिल्ला संयोजक कृष्णदेव जोशीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि नेपालमा सिआरएस सक्रिय भएको र यो संस्थाको सहयोगमा हालसम्म ३२ हजार निजी आवास पुनःनिर्माण गरिएको बताए। उनका अनुसार लमजुङका तीन सय ५० परिवारलाई प्रत्यक्ष लाभ हुनेगरी सहयोगका कार्यक्रम सञ्चालन गरिएका छन्।

प्रकाशित: ९ फागुन २०८० १०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + five =