संकटमा लोसपा, आआफ्नै अडानमा ठाकुर र महतो

किरण पौडेल २५ मंसिर २०८० १५:३९
58
SHARES
संकटमा लोसपा, आआफ्नै अडानमा ठाकुर र महतो राजेन्द्र महतो र महन्थ ठाकुर।

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी संकटमा परेको छ। पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो र अनिलकुमार झाले बैठक बहिष्कार गरेपछि पार्टी संकटमा परेको हो। उनीहरूले कार्यकारिणी अध्यक्ष महन्थ ठाकुरले डाकेको बैठक बहिष्कार गरका छन्। दुई दिन बस्ने गरी बोलाएको लोसपा केन्द्रीय समिति बैठक आइतबार एक दिनमै सकिएको छ।

केन्द्रीय नेतृत्वमा तीव्र असन्तुष्टि पोख्दै महतो-झाले बैठक बहिष्कार गरेका हुन्। बैठकमा महतोलगायतले उठाएका मागका सम्बन्धमा सामान्य चर्चा भएको थियो। महतोको असन्तुष्टिबारे बैठकमा लोसपाका कार्यकारिणी अध्यक्ष ठाकुर मौन थिए।

‘नेताहरू बैठकमा नआएको विषयमा धेरै छलफल भएन। तत्काल अर्को बैठक बोलाउने निर्णय भयो,’ लोसपाका केन्द्रीय सचिव मनीष मिश्र भन्छन्, ‘असन्तुष्टि आउँदो बैठकमा सम्बोधन गर्नेछौँ।’ बैठकमा ९ वटा एजेन्डा प्रस्तुत भएका थिए। जसमध्ये आउँदो राष्ट्रियसभा निर्वाचनमा दल दर्ता गर्ने प्रमुख एजेन्डा थियो।
‘दल दर्ताका लागि पार्टीको माइन्युट चाहिन्छ। त्यो काम भयो,’ मिश्रले भने।

राजेन्द्र महतो पक्ष भने आक्रोशित छ। महतो आफूनिकटलाई केन्द्रीय सदस्यबाट हटाएपछि रुष्ट भएका हुन्। ‘पुराना कांग्रेसी नेतालाई स्थान दिने तर मधेशीको अधिकारका लागि लडेका व्यक्तिहरूलाई खोइ स्थान?’ महतोले प्रश्न गरे। संस्थापनले आफू निकटका ३० केन्द्रीय सदस्यलाई थाहा नदिई हटाइदिएको आरोप उनको छ।

महतो पक्ष भने तीन महिनाअघि नै आफूले अघि सारेको माग संस्थापनले सम्बोधन नगरेको बताउँछ। ‘मैले तीन महिनाअघि अध्यक्षलाई जानकारी दिएको थिएँ, कार्यान्वयन भएन,’ महतोले भने। दुवै पक्ष एकअर्काको अडानमा अडिग छन्। महतोले असन्तुष्टि देखाउँदै बैठक बहिष्कार गर्नु र संस्थापन पक्षले चासो नदेखाउने पनि लोसपा संकटमा पुगेको स्पष्ट छ। संस्थापन पक्ष भने मिलेर जानुपर्ने पक्षमा छ। ‘मिलेर जानुपर्छ। नमिल्दा त झनै संकटमा परिन्छ’, सचिव मिश्र भन्छन्।

के चाहन्छन् महतो?

अहिले महतोले ३० केन्द्रीय सदस्यको किचलो बाहिर निकालेका छन्। संस्थापन पक्ष भने महताले राष्ट्रियसभा निर्वाचन र कार्यकारिणी अध्यक्षमा ‘बार्गेनिङ’ गरेको बताउँछ। लोसपाको कार्यकारिणी अध्यक्षमा महन्थ ठाकुर छन्।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट एकजना लैजाने ठाकुर पक्षले बताएको छ। यद्यपि उम्मेदवार सार्वजनिक नभए पनि महन्थ पक्षबाटै पर्ने निश्चित छ। यही विषयलाई लिएर महतोले किचलो गरेको संस्थापन पक्ष बताउँछ।

लोकतान्त्रिक समाजवादी पार्टीको आइतबार बसेको बैठकमा सहभागी नेता। तस्बिर : हिमाल प्रेस

लोसपामा अहिलेसम्म महाधिवेशन भएको छैन। तत्काल महाधिवेशन हुने सम्भावन पनि छैन। संस्थापन पक्ष अबको केन्द्रीय समिति बैठकबाट विधान सम्मेलन तोक्ने र त्यसपछि महाधिवेशन गर्ने पक्षमा छ। यसैले महाधिवेनअघि नै आफूलाई अध्यक्ष पद छाड्न महतोले दबाब दिएको ठाकुर निकट नेताहरू बताउँछन्।

‘अहिलेको विवाद केन्द्रीय सदस्यमा होइन। अध्यक्षमै हो’, संस्थापन पक्षका एक नेताले भने। ठाकुर तत्काल अध्यक्ष छाड्ने अवस्थामा छैनन्। ठाकुरले प्रतिनिधिसभा निर्वाचन जितेका छन् भने महतोले हारेका छन्। लोसपामा महतोको भन्दो ठाकुरको बाहुल्य छ। ठूलो टिम भएकाले पनि ठाकुर तत्काल अध्यक्षबाट हट्ने सम्भावना नभएको उनी निकट नेताहरू बताउँछन्।

पूर्वकांग्रेस र पूर्वसद्भावमा विभाजित

लोकतान्त्रिक समाजवादीको नेतृत्वमा अहिले पूर्वकांग्रेसी र पूर्वसद्भावना (मधेशकेन्द्रित) बीच मतभेद देखिन्छ। तत्कालीन सद्भावनाबाट आएका महतो र कांग्रेसबाट आएका ठाकुरबीच मतभेद देखिएको हो। लोसपा गठनबाटै विभाजन थियो। पार्टीमा तिक्त सम्बन्धका कारण गठनको दुई वर्षसम्म पदाधिकारीले पूर्णता पाएन। ठाकुरले पदाधिकारीको जिम्मेवारी दिँदा पनि परिवारवादको आरोप लाग्यो।

त्यसबेला ठाकुरले ज्वाइँ, सम्धीसम्धिनी र छोरीलाई पदाधिकारीमा मनोनयन गरेका थिए। महतोले पनि ज्वाइँ र भतिजलाई पदाधिकारीमा ल्याए। पदाधिकारीमा तीव्र विवाद भएपछि राजीनामा बुझाउनेको लर्को लागेको थियो।

ठाकुरले छोरी मीनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य, सम्धी उमाकान्त झालाई पार्टीको वरिष्ठ उपाध्यक्ष र सम्धिनी इन्द्रा झालाई उपाध्यक्ष बनाएका थिए। वरिष्ठ नेता राजेन्द्र महतोले ज्वाइँ अनिल महासेठ र भतिज उपेन्द्र महतोलाई महासचिवको जिम्मेवारी दिएका थिए। आइतबारको बैठकमा पनि पूर्वकांग्रेसी नेता भने उपस्थित थिए। पार्टीका वरिष्ठ नेता शरद्सिंह भण्डारीलगायतका नेता ठाकुरसँगै थिए। मधेश आन्दोलनअघि ठाकुर कांग्रेसमा थिए। महतो सद्भावना पार्टीका अध्यक्ष थिए।

मधेश आन्दोलनका बेला ठाकुरले कांग्रेस छाड्दै तराईमधेश लोकतान्त्रिक समाजवादी (तमलोपा) गठन गरे। लामो समय एक्लाएक्लै पार्टी हाँकिरहेका ठाकुर र महतोसहित छ दल मिलेर २०७४ सालमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) घोषणा गरे।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) तराईमधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्र यादव नेतृत्वको तराईमधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनधिकार फोरम (गणतान्त्रिक) शरद्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी मिलेर राजपा बनेको थियो।

मधेशमा दुईवटा मधेशकेन्द्रित दल थिए। उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरम पार्टी नेपाल र राजपा। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत समाजवादी फोरम विभाजन गर्ने योजना बनाएको भन्दै एकाएक दुई पार्टी एक भए।

२०७७ वैशाख १० जन्मेको सोही पार्टी लामो समय एकीकृत रहन सकेन। यादव पक्षले स्थान नदिएकाले ठाकुर-महतो पक्षमा असन्तुष्टि बढ्यो। २०७७ भदौ २ मा ठाकुर-महतो पक्षले नयाँ पार्टी बनाउँदै लोसपा बनाए। लोसपामा पनि अहिले किचलो छ।

बाध्यताले मिलेका ठाकुर-महतो

मधेशी राजनीतिमा ठाकुर र महतो दुवैको योगदान छ। दुवै नेता ठाकुर शालीन र कम बोल्ने स्वभावका छन् भने महतो कडा छन्। ठाकुर कांग्रेसप्रति नजिक छन् भने महतो मधेश केन्द्रित दलमै रहनुपर्ने अडान राख्ने गरेका उनी निकट नेताहरू सुनाउँछन्।

‘महन्थजी कांग्रेसको कांग्रेसको समेत राजनीति बुझेको नेता हो। उहाँलाई सबैले मान्नुपर्छ,’ लोसपा एक नेता भन्छन्, ‘महन्थजी हरेक राजनीतिक आन्दोलनको साक्षी हो।’ महतो आफूलाई ठाकुरभन्दा कम ठान्दैनन्।

‘कांग्रेसले मधेशबारे बोल्दैन। बोल्थ्यो भने किन मधेश केन्द्रित दल बनाउनुपर्थ्यो,’ महतो भन्छन्, ‘जे हुन्छ मधेशमै हुन्छ।’ ठाकुर-महतोको भिन्न स्वाभाव हुँदाहुँदै पनि बाध्यताले एक ठाउाँन आएको मधेश केन्द्रित नेताहरू सुनाउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =