सांसदसँग संवाद

अधिकार प्राप्तिको आन्दोलनमा पनि विभेद छ : ठाकुर

हिमाल प्रेस ६ पुष २०८० १३:५५
54
SHARES
अधिकार प्राप्तिको आन्दोलनमा पनि विभेद छ : ठाकुर

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारीमा रही राजनीतिमा तीन दशकभन्दा बढी योगदान पुर्‍याएका छन्।

२०१६ सालमा राजनीतिक यात्रा आरम्भ गरेका उनले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनका क्रममा धेरैपटक प्रहरी हिरासत र जेलजीवन बिताए।

गत एक वर्षमा समग्रतामा संघीय संसद् चलिरहेको देखिए पनि कामकाजभन्दा गत्यारोधमा बढी समय खर्चिएको जनाउँदै ‘सांसदसँग संवाद’मा उनले पूरापूर दुई महिना सांसदले काम नै गर्न नसकेको प्रतिक्रिया दिए।

नेपालमा प्रजातान्त्रिक अभ्यास लामो नभएको र पटकपटक अवरोध भएको इतिहास रहेको जनाउँदै पूर्वउपसभामुख ठाकुरले भने,‘कसैलाई चित्त बुझेन भने विरोध गर्न सकिन्छ तर दिनदिनै लामो समयसम्म रोष्टम घेराउ गर्ने भनेको संसदीय प्रजातन्त्रभित्रको उग्ररुप हो।’

कानुन बनाउने विषयमा दलहरूले आवश्यक समय र ध्यान दिएनन् भन्ने लागेको आरोप भने अस्वीकार गर्दै नेता ठाकुर त्यो ‘आरोप’ मात्रै भएको बताउँछन्।

उनले भने,‘संविधान र संघीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण विधेयकसमेत यस अवधिमा अघि बढ्न सकेन। मिटरब्याजसम्बन्धी विधेयक पारित भए पनि पीडित अझै खुसी छैन। विधेयक भरसक सबैको सहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ।’

एक प्रसङ्गमा शान्तिपूर्ण जुलुस निकाल्ने र सडकमा प्रदर्शन गर्ने सबैको प्रजातान्त्रिक अधिकार भए पनि तोडफोड गर्ने उग्ररुप भएको बताउँदै उनले भने,‘सरकारबाट पनि हिंसात्मक हस्तक्षेप हुन्छ, विरोधमा उग्ररुप देखिए सरकारले नियन्त्रणका लागि सशस्त्र बल प्रयोग गर्छ अनि असहज स्थिति आउँछ,त्यो सबैले बुझ्नुपर्छ।’

केही समय भारतमा निर्वासनसमेत रहेका पूर्वउपसभामुख ठाकुर पछिल्ला दशक मधेस र मधेसी समुदायका हकहितका ‘एजेन्डा’ उठाउँदै कार्यान्वयनका लागि पहल गरिरहेका छन्। उनीसँग शिक्षण र वकालतको अनुभव, निष्ठाको राजनीतिको पर्याय र समानताको पक्षधरको परिचय छ।

महोत्तरीको पीपरामा १९९९ सालमा जन्म भई केही समय सर्लाहीलाई कर्मथलो बनाएका ठाकुर २०४८ र २०५१ सालको मध्यावधि निर्वाचनमा त्यहाँबाट प्रतिनिधित्व गरेका थिए।

तराई मधेस आन्दोलनपछि कांग्रेस परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी स्थापनासँगै मधेस केन्द्रित राजनीतिमा सक्रिय नेता ठाकुर २०७४ सालमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) गठन गरी सो पार्टीको अध्यक्षमण्डलको सदस्य भएका थिए।

२०६४ सालमा मनोनीत संविधासभा सदस्य तथा २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र ३ बाट निर्वाचित ठाकुरले कानुनमा स्नातक र इतिहासमा स्नात्तकोत्तर गरेका छन्।

२०७४ सालपछि गठन भएको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यका रूपमा केही समय सभाको अध्यक्षता गर्दै सदनमा प्रवेशी सदस्यलाई शपथ दिलाएर र बैठक सञ्चालन गरेका थिए।

६ वर्षमा बल्लबल्ल ‘पास’ भएको नागरिकता विधेयक कार्यान्वयनमा गए पनि जनताले अझै सहजरुपमा नागरिकता प्राप्त गर्न नसकेको गुनासो सुन्न परेको बताउँदै पूर्वमन्त्री ठाकुरले कर्मचारी संयन्त्रको उल्झन र पैसाको खलखेलले त्यो गुनासो आएको प्रतिक्रिया दिए।

अध्यक्ष ठाकुरका अनुसार मुलुकमा लोकतन्त्र पुनःस्थापनापछि गाउँबस्तीमा सेवासुविधा र सडकलगायत भौतिक पूर्वाधार निर्माणमा निकै सुधार भएको छ। विद्यालय र कलेजमा पैसा गएको छ। गाउँगाउँमा सामुदायिक भवन बनेका छन्। ग्रामीण सडक पनि ढलान र कालोपत्र भएका छन्। धार्मिक आस्थासँग जोडिएका मठमन्दिर तथा बरमबाबा स्थान घेराबेरा भएको छ।

पछिल्ला वर्षमा तराई-मधेसमा समेत सिँचाइ र खानेपानी समस्या देखिएको बताउँदै पुराना राजनीतिज्ञ ठाकुरले खण्डित वर्षाले कहीँ सुक्खा त कहीँ बाढी निम्त्याएको अवस्था आएको सुनाए।

सांसद ठाकुरले भने,‘यस वर्ष मिथिला क्षेत्रमा बर्सात कम हुँदा नदी र पोखरी सुक्ने अवस्थामा पुगिसकेको छ। जमिनमा पानीको सतह गहिरिएको छ। कतिपय सहरी क्षेत्रमा खानेपानी अभाव छ भने खोला सुकेका कारण सिँचाइ भई धानखेती राम्रो हुन सकेन।’

उद्योगधन्दा र कलकारखानाको अभावमा बेरोजगारी निकै ठूलो चुनौतीका रूपमा रहेको जनाउँदै पूर्वविज्ञान प्रविधिमन्त्री ठाकुर भन्छन्,‘सांसद र मन्त्रीसँग मतदाता धेरै खुसी छैनन्,नोकरी लगाउने र मुद्दासमेत जिताइदिने जनप्रतिनिधिले गर्दियोस् भन्ने समाजमा मान्यता छ। त्यो त एउटा विधि प्रक्रियाका आधारमा हुन्छ नि!’

अध्यक्ष ठाकुरका अनुसार पहिला उद्योग र आयोजना हुन्थे। काम दिन्थे। अहिले जुन सम्भव छैन। फोन गरेर मात्रै काम हुन्छ र! काम गर्ने परिस्थिति के छ। कुन अवस्थामा छ। त्यो बुझ्न जरुरी छ।

पछिल्ला समय खासगरी बालबालिका,युवायुवतीमा राम्रो कपडा लगाउने,होटलमा गएर मीठो खाने,विभिन्न गाउँमा घुमफिर गर्ने चलन बढिरहेको बताउँदै उनले मुलुकमा परिवर्तनको प्रवाह भए पनि आर्थिक संकट र बेरोजगारीले विविध समस्या निम्त्याएको प्रतिक्रिया दिए।

गठबन्धनको सरकार भएकाले विभिन्न विचारलाई मिलाएर काम गर्नु आफैँमा चुनौती रहेको बताउँदै नेता ठाकुरले भने,‘प्रधानमन्त्री आफैँ भनिरहनुभएको छ कि जति हुनुपर्ने त्यो काम गर्न सकिएको छैन। महँगी बढेको छ। बेरोजगारी बढेको छ।’

उनका अनुसार भ्रष्टाचार नियन्त्रण गर्ने संयन्त्र र कानुन पर्याप्त छ। अदालतलाई पनि प्रमाणित गर्न प्रमाण चाहियो। हल्लाको भरमा कसैलाई पनि यति खायो भन्न मिल्दैन। कारबाही गर्ने निकाय छन्।

राजनीति परिवर्तनमा योगदान पुर्‍याएका नेताहरू नै सानो गुट, परिवार र नातागोतामा अलमलिए भन्ने आरोपलाई खण्डन गर्दै नेता ठाकुरले त्यो आरोपलाई वास्तविकता नभई सतहीका रूपमा हेरिएको प्रतिक्रिया दिए।

आन्दोलनमा संलग्न हुँदा सबै परिवार र नातागोता प्रभावित हुने भएकाले अवसर प्रदान गरिदा नाता जोडेर हेर्न नहुने तर्क गर्दै उनले एउटा घरको मूली जेल जाँदा परिवारले कति सास्ती खेप्न पर्छ भन्ने पक्षको विश्लेषण नगरी अवसरसँग जोडेर हेर्न मिल्छ र भनी प्रतिप्रश्न गरे।

आर्थिक दृष्टिकोणले अहिले पनि कम्जोर रहे पनि राजनीतिक केन्द्र हरहमेसा पहाड नै रहेको बताउँदै नेता ठाकुरले जस्तोसुकै बदमासी गरेर सत्तामा जाने प्रयास भएकाले नेपालको राजनीतिक इतिहास शान्तिपूर्ण नरहेको विचार धारणा राखे।

अधिकार प्राप्तिमा भएका आन्दोलनमा पनि जाति र समुदायबीच विभेद गरिएको आरोप लगाउँदै उनले कानुनका नाममा जथाभावी डन्डा चलाउने कार्य कोही कसैलाई पनि स्वीकार्य नहुने धारणा राखे।

भौगोलिक विविधता र प्रशस्त प्राकृतिक स्रोतसाधनले भरिपूर्ण नेपालमा विकासको धेरै सम्भावना रहेको बताउँदै अध्यक्ष ठाकुरले भने,‘जनता इमान्दार र मेहनती छन्। प्राकृतिक स्रोतसाधन प्रशस्त छ, सदुपयोग गरिनुपर्छ। विकास सम्भव छ।’ रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =