लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान विशेष

घरभित्र हिंसा, बाहिरबाहिर अभियान

रमा केसी २१ मंसिर २०८० ७:३०
72
SHARES
घरभित्र हिंसा, बाहिरबाहिर अभियान

सुर्खेत- वीरेन्द्रनगर नगरपालिका–१४ सोतखोलाकी कमला रास्कोटीलाई लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानबारे केही जानकारी छैन। न त उनलाई यस्ता अभियानले नै छुन सकेको छ।

पतिले सौता भित्र्याएपछि पीडित बनेकी यी महिला आफ्नो खुसी लुटिएकोमा तनावमा छिन्। आफू र सन्तानको भविष्यका लागि ज्यालामजदुरी गरेर बाँचिरहेकी कमला भन्छिन्, ‘घरभित्र हिंसा भइरहेको छ। बाहिरबाहिर अभियान चलाइरहेका छन्।’ उनको सहारा भनेकै तीन सन्तान छन्।

पति मनमुटाव बढ्नुको कारणचाहिँ धार्मिक विषय रहेछ। सोही कारण घरमा सधैँ विवाद हुने गरेको कमला बताउँछिन्। उनको माइती हिन्दु धर्मप्रति आस्था राख्थे भने लोग्नेको परिवार इसाई। कमला मन्दिर जान चाहन्थिन्। विभिन्न धार्मिक गतिविधिमा संलग्न हुन चाहन्थिन्। उनका पति बाधक बनिदिन्थे। उनी भन्छिन्, ‘धर्मका कारण घरमा सधैँ झगडा परिरहन्थ्यो। माइती हिन्दु र घर इसाई हुन्। म मन्दिरतिर जान खोज्दा विवाद हुन्थ्यो।’

विवाद बढ्दै गए पनि उनी स्थानीय मेडिकलमा काम गरेर परिवारलाई सहज बनाउन लागिपरिन्। त्यसै बेला लोग्नेले भारत जान प्रस्ताव गरे। ‘भारतमा जाऔँ, सँगै काम गरौँला भनेपछि म पनि पछि लागेँ।’

पतिमाथि विश्वास गर्दा धोका भएको उनको दुःखेसो छ। दुःखसुख सँगै भोगौँला भनेर पतिसँगै भारत पुगेकी उनी त्यति बेला आहत भइन् त्यति बेला पतिले सौता देखाइदिए। आफूमाथि आइपरेको वज्रपात कसैलाई नभनेको उनी स्मरण गर्छिन्। कमला भन्छिन्, ‘भारत गएपछि पतिले अर्काे बिवाह गरेको थाहा पाएँ। मिलेर काम गरौँ, भनेर फकाए।’

यस्तै लेकबेसी नगरपालिका ३ की २७ वर्षकी बालकुमारी नेपाली हिंसामा परेकी अर्की महिला हुन्। आफूले कमाइ गर्न नसक्दा सधैँ हिंसामा परेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘छोडेर जाम् त कहाँ जाम्? बालबच्चा सानै छन्। घरको काम गर्दा कसैले देख्दैनन्।’

पैसा कमाउनु मात्र सबैथोक हो भनेर घरपरिवारले रुखो वचन लगाएको उनले जानकारी दिइन्। सानै उमेरमा बिवाह गरि पढाइ बीचमा छोड्दाको परिणाम यति बेला भोग्नुपरेको उनी बताउँछिन्।

हिंसापीडित महिलाका अनुसार जनचेतना नभएर दुर्व्यवहार भएको होइन। त्यसैले शिक्षित व्यक्ति पनि हिंसामा परेको उनी बताउँछन्। ‘कतिपय शिक्षित व्यक्ति पनि हिंसामा परेका छन्। तर उनीहरू बाहिर केही भन्न सक्दैनन्।’

नेपाली पनि घरभित्र हिंसा गर्नेहरूले नै अभियान चलाउँदा आफूहरू थप निराश बनेको बताउँछिन्। उनी भन्छिन्, ‘घरमा नबुझ्ने कोही छैन तर पनि सबै मिलेर काम गर्नुपर्छ भन्ने चेतना नहुँदा म हिंसामा परेकी छु।’ हिंसाविरुद्धको अभियान चलाउँदा घरभित्रको कुरा बुझ्ने र समस्या समाधान गर्ने कोही नभएको उनी बताउँँछिन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको थालनी सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसिपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो। त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म विश्वव्यापी रुपमा मनाउँदै आएको पाइन्छ।

महिलामाथि हुने हिंसा मानव अधिकार हननको सवाल हो भन्ने मान्यता स्थापित गर्दै सोहीअनुरुप काम गर्न सबै राष्ट्र तथा संयुक्त राष्ट्रसंघलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायलाई आह्वान गर्ने यो अभियानको उद्देश्य हो। अभियानअन्तर्गत २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म समुदाय, स्थानीय, प्रदेश तथा संघीय स्तरसम्म विभिन्न गतिविधि र कार्यक्रम गरिन्छ।

रोकिएन घरेलु हिंसा

प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार लैंगिक हिंसाका घटना बढ्दो क्रममा छ। जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, मानव बेचबिखन, बहुविवाह, बालविवाह, आत्महत्या, अपरहण, गर्भपतन, कर्तव्य ज्यान, बोक्सी आरोप, जातीय छुवाछुत र घरेलु हिंसाका घटनामध्ये सबैभन्दा बढी घरेलु हिंसासँग सम्बन्धित उजुरी दर्ता भएको कार्यालयको विवरणमा उल्लेख छ।

चालु आर्थिक वर्ष २०८०∕०८१ को कात्तिक मसान्तसम्म कर्णाली प्रदेशका १० जिल्लामा गरी घरेलु हिंसाका २३१ उजुरी दर्ता भएका छन्।  आर्थिक वर्ष २०७९∕०८० मा सुर्खेतमा घरेलु हिंसाका ५०७ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ। 

 

हिंसाको एउटा कारण : शरीर अरूकै नियन्त्रणमा रहनु

प्रकाशित: २१ मंसिर २०८० ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =