एकीकृत समाजवादी : सर्‍यो महाधिवेशन, सशंकित खनाल

किरण पौडेल २० मंसिर २०८० १४:२४
22
SHARES
एकीकृत समाजवादी : सर्‍यो महाधिवेशन, सशंकित खनाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरू। तस्बिर : हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको महाधिवेशन जेठमा सारिएपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। सम्मानित नेता झलनाथ खनाल पक्षीय नेताहरूले जेठमा महाधिवेशन हुन सक्नेमा शंका व्यक्त गरेका हुन्। आन्तरिक तयारी र विभिन्न बहाना देखाउँदै महाधिवेशन चार महिना धकेलिएको भन्दै खनाल पक्षीय नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

सोमबार र मंगलबार बसेको पार्टी सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। समाजवादीको यसअघि माघ ८ बाट महाधिवेशन गर्ने निर्णय गरेको थियो।  ‘जाजरकोट भूकम्प, राष्ट्रियसभा निर्वाचनले हामीले माघमा महाधिवेशन गर्न सकेनौँ,’ समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘माघमा पार्टीको राष्ट्रिय सम्मेलन गर्दैछौँ।’ खतिवडाका अनुसार राष्ट्रिय सम्मेलनका कारण पनि महाधिवेशन धकेलिएको हो।

बैठकमा सम्मानित नेता खनाल पक्षले महाधिवेशन चार महिना पछि सार्न नहुने अडान राखेको थियो। बैठकमा खनाल माघमा नभए फागुनमा अधिवेशन गर्नुपर्ने अडानमा थिए। तर अध्यक्ष नेपालले जबरजस्ती निर्णय गरेको आरोप खनाल पक्षको छ।  ‘हामीले महाधिवेशन फागुनभन्दा उता नलगौँ भनेका हौँ। तर केही नेताका अडानले जेठमा सारियो’, खनाल निकट सचिवालयका एक सदस्यले भने। ती नेताले राष्ट्रिय सम्मेलनको औचित्य नरहेको पनि बताए। उनले भने, ‘हामी पहिलो महाधिवेशन गर्नुपर्ने पक्षमा थियौँ।’

आआफ्नै स्वार्थले सारियो महाधिवेशन

समाजवादीमा महाधिवेशन सार्नमा आआफ्नै स्वार्थ देखिएको छ। नेपाल पक्षले माघमै गर्नुपर्ने वा असोजसम्म लैजानुपर्ने अडान राखेको थियो। नेपालले माघमै महाधिवेशन गर्ने अडान राख्नुको कारण पार्टीका शीर्षनेताको उमेर हद हो।

एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दा पार्टी विधानमा ७० वर्षे उमेर हदको व्यवस्था थियो। समाजवादीले आफूलाई एमालेकै रूप भनेको छ। पार्टीका कतिपय नेता उमेर हद राख्नुपर्ने अडानमा छन्।

माघ ८ मा महाधिवेशन गरेको भए नेपाल ६९ वर्षकै हुन्थे। फागुन २६ बाट उनी ७० वर्ष लाग्दैछन्। खनाल भने ७३ वर्ष पुगिसके। माघमै महाधिवेशन भएको भए नेपाल मात्र अध्यक्षमा भिड्न सक्थे। खनाल प्रतिस्पर्धाबाट बाहिरिन्थे। यही कारण नेपाल पक्षले माघमै महाधिवेशन गर्नुपर्ने अडान राखेको थियो। तर खनाल पक्ष भने महाधिवेशन फागुन वा चैतसम्ममा गर्दा गृहकार्य पुग्ने दाबी गर्दै आएको थियो।

महाधिवेशन मितिकै विषयमा विवाद भएपछि बैठकमा लामै छलफल भएको थियो। ‘महाधिवेशनको मितिकै तय गर्न लामो समय लाग्यो। सचिवालय सदस्यका सबैको धारणा सुन्दा दुई दिन लाग्यो,’ प्रवक्ता खतिवडाले भने।

खनाललाई महाधिवेशन सार्न बाध्यकारी बनाउने नेपाल रणनीति

समाजवादीले माघ ११ को राष्ट्रियसभा निर्वाचनलाई कारक मान्दै महाधिवेशन सारेको छ। खनाल पक्ष भने पार्टीले चाहेको भए सोही समयमै महाधिवेशन हुन सक्ने दाबी गर्छ।
जेठमा पुर्‍याइएको महाधिवेशन पनि हुने वा नहुनेमा सशंय छ। ‘इलाम २ मा (सुवास नेम्वाङ) को ठाउँमा उपनिर्वाचन पनि वैशाख वा जेठमै हुन्छ। यही कारण मान्दै फेरि महाधिवेशन धकेल्न सकिन्छ’, खनाल निकट ती नेताले भने, ‘हाम्रो पार्टीमा एकदमै अन्योल छ। पार्टी संस्थापन पक्षले महाधिवेशन नगर्न अब उपनिर्वाचनको निहुँ गर्न सक्छ।’

इलाम खनालको गृहजिल्ला हो। खनालनिकट स्रोतका अनुसार उनी आफैँ उपनिर्वाचन लड्न चाहन्छन्। खनाललाई समस्या पार्न संस्थापन पक्षले जेठमा राख्नुको कारण पनि त्यही रहेको उनी निकट नेता बताउँछन्। पार्टीले महाधिवेशन मदन भण्डारीको स्मृतिका नाममा गर्ने निर्णय गरेको छ।

‘उल्टो बाटो’ मा एकीकृत समाजवादी

पार्टीको दुई दिनको बैठकमा नेपाल र खनालबीच चर्काचर्की परेको थियो। सोमबारको बैठकमा खनाल आक्रामक बनेका थिए। पार्टीका एक पदाधिकारीका अनुसार खनालले पार्टीको आन्तरिक गतिविधिलाई लिएर अनेक प्रश्न उठाएका थिए।

खनाल महाधिवेशन गरेर मात्र राष्ट्रिय सम्मेलन वा विधान अधिवेशन गर्नुपर्ने पक्षमा थिए। ‘हामी पहिले नेतृत्व चयन गरौँ त्यसपछि विधानमा लागौँ,’ खनाललाई उधृत गर्दै एक पदाधिकारीले भने, ‘हामी विद्रोहबाट आएका हौँ। नेतृत्व चयनमा ध्यान पुर्‍याऔँ।’

नेपाल पक्षले खनालको भनाइ मानेन। त्यही कारण माघमा राष्ट्रिय सम्मेलन र जेठमा महाधिवेशन तोकियो। खनालले पहिले सम्मेलन र पछि महाधिवेशन गर्ने कामलाई ‘उल्टो बाटो’ को संज्ञा दिएका छन्।

‘उमेर हद’ फ्याँक्ने तयारी

एमालेमा अहिले उमेर हद ‘निलम्बन’ गरिएको छ। अब एकीकृत समाजवादीमा उमेर हद हटाउने तयारी दुवै समूहले गरेको छ। नेपाल पक्षीय नेताहरू उमेर ‘कमिटमेन्ट’ मात्र भएको र बाध्यकारी नभएको बताउँदै आएका छन्।

समाजवादीका उपमहासचिव गंगाधर तुलाधर ‘बाध्यकारी’ नभएकाले नेपाल-खनालले चाहे अझै अध्यक्ष बन्न दिनुपर्ने बताउँछन्। ‘४० प्रतिशत युवा र ६० प्रतिशत पाका नेताबाट मात्र समाजवादी चल्न सक्छ। अहिले उमेर हद लगाइयो भने युवा मात्रले पार्टी नचल्न सक्छ’, उनी भन्छन्।

खनाल पक्ष भने उमेर हद मान्दैन। ‘उमेर हद लाएमा समूहभित्रबाट लिडरसिप आउँदैन। पार्टी नेतृत्वविहीन हुन सक्छ। लिडरसिप दिने भनेको उमेरले होइन विचारले हो’, खनालले भने,‘परिपक्व नेता चाहिन्छ। अहिलेको हाम्रो दोस्रो पुस्ता परिपक्व छैन।’

खनाल-नेपालबाहेक कोही निस्किएन अध्यक्षको दाबेदार

नेपाल पछिल्लो समय भाबी नेतृत्वलाई लिएर अन्योलमा छन्। उनी निकट नेतासँग पनि आफू भाबी अध्यक्षमा उठ्ने वा नउठ्ने दोधार भएको बताउँछन्। पार्टीमा गतिशीलता नदेखिनु र खनाल पक्षले पकड बनाउँदै लैजाँदा नेपाल दोधारमा परेका हुन्। ‘अध्यक्षज्यूले अध्यक्षमा लड्ने भन्नुभएको छैन। किनभने उहाँ एकदमै समस्यामा हुनुहुन्छ।’

उनी निकट एक नेताले भने, ‘यसको प्रमुख कारण ललितानिवास प्रकरणमा नाम जोडिएको कारण हो। उहाँ क्लिन नेता हो। तर एकाएक त्यो प्रकरणमा नाम आयो। त्यसले अध्यक्षज्यूलाई आजित बनाएको छ।’

नेपाल आफैँले यसपछि संन्यास लिन सक्ने बताएका थिए। गत साउन १९ को एक कार्यक्रममा नेपालले ‘राजनीति छाडौँ कि जस्तो लागेको तर परिस्थितिले नदिएको’ बताएका थिए। पछिल्ला दिनमा समेत नेपाल निकट नेतासँग यस्तै कुरा गर्न थालेका छन्। तर दोस्रो पुस्ताका नेताले भने कम्तीमा पनि नेपाललाई एक दशक सक्रिय राजनीति गर्न पर्ने सल्लाह दिइरहेका छन्।

‘हाम्रो दोस्रो पुस्तामा नेताको लिडरसिप क्षमता हामीले जानेका छौँ। यसैले अध्यक्षज्यूले फेरि अध्यक्षमा लड्नुपर्छ,’ उनी निकट एक नेताले भने। नेपाल खेमाबाट भाबी अध्यक्षमा उनी आफैँ प्रतिस्पर्धा गर्ने तयारीमा लागेको पार्टी स्रोत बताउँछ।

पार्टी प्रवक्ता खनाल भने आउँदो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तयारी भइरहेको बताउँछन्। ‘अहिले को अध्यक्ष भन्न सक्ने अवस्था छैन। तर हामी नेतृत्व सर्वसम्मतबाटै चुन्छौँ’, खतिवडा भन्छन्।

विधानमा हेरफेर गर्न कार्यदल

नेकपा एकीकृत समाजवादीले विधानमा हेरफेर गर्न कार्यदल गठन गरेको छ। माघ १४ र १५ गते हुने राष्ट्रिय सम्मेलनमा विधानबारे छलफल गर्ने गरी कार्यदल गठन भएको हो।

कार्यदलको संयोजकमा पार्टीका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा‍. बेदुराम भुसालसहित महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन्।  सम्मेलनको व्यवस्थापनका लागि पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधर, सचिव जीवनराम श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष सावित्रा भुसाल, केन्द्रीय सदस्य केदार सञ्जेल र विष्णु लम्साललाई जिम्मेवारी दिइएको एकीकृत समाजवादीले जनाएको छ।

राष्ट्रिय महाधिवेशनमा पेस गर्ने पार्टी दस्ताबेज मस्यौदा तयार गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा कमिटी गठन गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। उक्त कमिटीमा केन्द्रीय सचिवालयका सदस्य, केन्द्रीय पदाधिकारी साथै चारवटा विशेष क्षेत्रका सदस्य रहनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =