सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

हिमाल प्रेस १७ मंसिर २०८० २०:०१
14
SHARES
सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर

बारा (सिमरा)- सिमरा विमानस्थलमा हवाई इन्धनको रिफ्युलिङ सेन्टर स्थापना भएको छ। नेपाल आयल निगमले स्थापना गरेको उक्त रिफ्युलिङ सेन्टरको आज (आइतबार) उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालकै सबैभन्दा पुरानो विमानस्थलका रूपमा रहेको उक्त विमानस्थलमा हालसम्म हवाई इन्धन भर्ने व्यवस्था थिएन। रिफ्युलिङ सेन्टर सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट (आन्तरिक तर्फ) नजिकको वैकल्पिक विमास्थलका रूपमा उक्त विमानस्थललाई प्रयोगमा ल्याउन सकिने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

काठमाडौँबाट सिमरासम्मको हवाई यात्राको समय करिब १५ मिनेट छ। रिफ्युलिङ सेन्टरको स्थापनापछि हवाई यात्राको कनेक्टिभिटी र पहुँचलाई सुदृढ गर्दै उड्डयन उद्योग र हवाई यात्रु दुवैलाई फाइदा पुग्ने निगमको विश्वास छ। रिफ्युलिङ सेन्टरका लागि निगमले विमानस्थलमा ११ र १६ किलोलिटरका २ वटा रिफ्युलर तथा ९ किलोलिटरको ‘डिस्पेन्सर’ को व्यवस्था गरेको छ।

सिमरा विमानस्थलमा भण्डारण ट्यांक स्थापना नभएसम्म जनकपुरमा रहेको डिपोबाट हवाई इन्धन ल्याइनेछ। निगमले हाल भारतको बरौनीबाट जनकपुर डिपोमा हवाई इन्धन ल्याउने गरको छ। निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले हवाई इन्धन रिफ्युलिङ सेवा विस्तार गर्ने नीति तथा कार्यक्रमअनुसार यो वर्ष पहिलोपटक सिमरा विमानस्थालमा सेवा सुरु गरिएको बताए। निगमले यही वर्ष भरतपुर र जुम्ला विमानस्थलमा समेत सेवा विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए।

यो सेवा विस्तारबाट निगमलाई सिमराबाट काठमाडौँसम्मको ढुवानीमा लाग्दै आएको ढुवानी भाडा बचत हुने प्रवक्ता ठाकुरको भनाइ छ। सेवा विस्तारले जहाजको लोड क्षमता व्यवस्थापन गर्न तथा त्रिभुवन विमानस्थलको चाप घटाउन समेत सहयोग पुग्ने उनको विश्वास छ।

सो अवसरमा मन्त्री रिजालले व्यावसायिक संस्थाका रूपमा रहेको निगमले खाना पकाउने ग्यासमा जनतालाई सहुलियत दिन नोक्सानी व्यहोरेरै भए पनि सस्तो मूल्यमा उपलब्ध गराइएको बताए। उनले औद्योगिक तथा व्यावसयिक प्रयोजनका लागि पाँच सयदेखि एक हजार किलोग्राम क्षमताका सिलिन्डरको व्यवस्था गर्न प्रयास गरिरहेको बताए। यसबाट व्यावसायिक प्रयोजनको ग्यासमा अनुदान घटाएर नोक्सानी कम गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।

प्रकाशित: १७ मंसिर २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 5 =