पुस्तक चर्चा

ब्युँझिएपछि : समाज, सत्ता र जीवनको प्रतिबिम्ब

रमेशप्रसाद खनाल १६ मंसिर २०८० १६:००
192
SHARES
ब्युँझिएपछि : समाज, सत्ता र जीवनको प्रतिबिम्ब

कथा वसन्तको 

यो कथा वसन्तको हो। ऋतुहरूमा सबैलाई मनमोहक लाग्ने ऋतु हो वसन्त। हरेक प्राणी र जीवनका पुष्पहरू पल्लवित हुन सुरु हुने ऋतु हो। यसले जीवनको शंखनाद गर्दछ; जीवन र जिउनुको परिभाषा गर्दछ। शिशिर ऋतु सकिएर जब जीवनका टुसाहरू धर्ती छेडेर आकाशतर्फ दौडिन थाल्न सुरु गर्छन् अनि एक्कासि यो धर्तीलोकमा जीवनका विविध रूपरङ आआफ्नै तवरले तरंगित हुन् पुग्दछन्; जीवनप्रतिको धारणा नै सकारात्मकतातर्फ मोडिन थाल्छ अनि उल्लास र उमंगले जीवनलाई सोद्देश्यपूर्ण बनाइदिन्छ।

यो जीवनदायी ऋतु वर्षको एकपटक मात्र पृथ्वी र सारा चराचर जगत्लाई उल्लासमय बनाउन पदार्पण गर्दछ तर यही नेपाली समाजमा एक यस्ता सर्जक, साधक र समाजसेवी छन् जो वर्षको हरेक दिन समाजका दु:खीपीडितहरूका निमित आवाज, साहस र हौसला बनेर उदाउँछन्। त्यस्ता व्यक्तित्व हुन् वसन्त रिजाल। उनी काठमाडौँको पूर्वी क्षेत्रका सामाजिक एवं साहित्यिक क्षेत्रमा वसन्त ऋतुको पर्याय बनेका व्यक्तित्व हुन्। यो उनकै कथा हो।

सर्जक, साधक र कवि वसन्त रिजाल एउटा त्यस्तो नाम हो जसको उल्लेखनबिना यस क्षेत्रको साहित्यिक गतिविधि, उन्नयन र सन्दर्भको चर्चा सम्भव हुन सक्दैन। उनी केमा व्यस्त छन् भन्दा पनि उनी केमा मात्र व्यस्त छैनन् भन्नुपर्ने हुन्छ उनका सक्रिय गतिविधि नियाल्दा। पहिलोपटक जनस्तरबाट २०४८ मा बौद्ध रामहिटीमा साहित्य सदन स्थापना हुँदादेखि नै परोक्ष वा प्रत्यक्ष रूपमा संलग्न रहेका उनी सदनको तेस्रो कार्य समितिदेखि पाँचौँ समितिसम्म पनि सक्रिय छन् भने रमेश विकल प्रतिष्ठान, भैरव पुरस्कार गुठी/पुस्तकालय, अरुणिमा शैक्षिक प्रतिष्ठान जस्ता यस भेगका अन्य कैयौँ स्थापित प्रतिष्ठित साहित्यिक, शैक्षिक र सामाजिक संस्थाका संस्थापक तथा सञ्चालक रहेका छन्। यति नि:स्वार्थ भावले शैक्षिक, प्राज्ञिक एवं साहित्य संवर्धनमा लागेको व्यक्ति मैले अर्को देखेको छैन।

वसन्त सधैँ हतारमा हुन्छन्, व्यस्त हुन्छन् आफ्नै उद्देश्य प्राप्तिमा मस्त हुन्छन्। वसन्तको ऊर्जा हिजो जस्तो थियो त्यो आज पनि जस्ताको तस्तै छ। उनी अनवरत रूपमा साहित्य प्रवर्धनका निमित्त लागिपरिरहेका एक अत्यन्त सक्रिय स्रष्टा हुन्। रमाइलो पक्ष के छ भने यी आफू अगाडि कहिल्यै देखिन नरुचाउने, आफ्नो बारेमा कसैले केही राम्रो लेखिदिए लजाउने, आफ्नो कामको मतलब गर्ने , नाम र चर्चाबाट सधैँ टाढा बस्ने प्रवृत्ति भएका यिनी पर्दापछाडिका नायक हुन्। सारांशमा, उनी एक सक्रिय सामाजिक सेवाको अर्को नाम बन्न पुगेका छन्। उनी आज सामाजिक सेवा र साहित्यित्क अनुष्ठानको विकासमा आफ्नो जीवन समर्पित गरेका एक जागरुक व्यक्तित्वको प्रतिबिम्ब बन्न पुगेका छन्।

वसन्तको प्रारम्भ

२०१७ साल असारमा काठमाडौँको जोरपाटीमा जन्मिएका वसन्तले आफ्नो माध्यमिक शिक्षा चामुण्डा माध्यमिक विद्यालयबाट सम्पन गरेका थिए। उनले मानविकीमा उच्च अध्ययन भने त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट गरेका हुन्। विद्यालय तहदेखि नै उनी विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी एवं सक्रिय हुन्थे। उनीसहितको पहलमा चामुण्डा वाचनालय स्थापना हुनु त्यतिबेलाको जोरपाटीको परिवेशमा निकै साहसी काम थियो। त्यही वाचनालयमार्फत साहित्यिक गोष्ठी, हाजिरीजवाफ प्रतियोगिता आदि पनि आयोजना गर्ने र स्थानीय युवालाई चेतनशील र क्रियाशील बनाउन लागिपरेका थिए। उनले आफ्नो घर पनि साँझमा केटाकेटीलाई नि:शुल्क पढाउन उपलब्ध गराएका थिए। ‘खोज्छौ सुख भनि, त्यो सुख कहाँ छ? आफू मिटाई अरूलाई दिनु जहाँ छ…’ भने जस्तो कुनै स्वार्थ बिना समाज विकासमा योगदान दिन अग्रसर हुने केही विरलै व्यक्तित्वमा पर्दछन् उनी।

करिब चार दशकअघि रत्नराज्य कलेज पढ्न भर्खर सुरु गरेदेखि नै साहित्य र कलाप्रति रुचि राख्ने उनी बौद्ध, जोरपाटी, आरुबारी, गोकर्ण, रामहिटी, चाबहिल, महांकाल, मूलपानी आदि क्षेत्रमा सक्रिय साहित्यिक क्रियाकलापमा संलग्न हुन थालिसकेका थिए। सुरुमा लेखनमा त्यति सक्रिय थिएनन् तर पनि अरू स्रष्टालाई लेखनका निमित्त भावभूमि एवं वातावरण सिर्जना गरिदिने कार्य गर्न भने उनले त्यतिबेला नै सुरु गरिसकेका थिए।

आफ्नो क्षमता र प्रतिभाभन्दा अरूको प्रतिभालाई प्रोत्साहन गर्ने र बढावा दिन कहिल्यै नचुक्ने वसन्त काठमाडौँको पूर्वी क्षेत्रका सबैजसो पुस्तकालय, क्लब, सामाजिक कार्यमा चुर्लुम्म डुब्दै गएका थिए। गणेश योञ्जन, विमल अर्याल, गोपाल बराल, रमेश खनाल, विदुर चालिसे, भेषराज सापकोटा, उद्धव रायमाझी र स्वयं मिलेर २०३९ सालमा ‘मुक्का’ नामक सामयिक संकलन र २०४०/२०४१ मा ‘आगमन’ नामक सामयिक साहित्यिक संकलन प्रकाशन गर्न पनि उनले महत्त्वपूर्ण भूमिका खेले। पञ्चायती व्यवस्थाको उग्र अवस्थामा यसरी विद्रोही स्वर बोकेका साहित्यिक सामग्री संकलन र प्रकाशन गर्नु आफैँमा दुस्साहसपूर्ण कार्य थियो। तर जेजस्तो बाधाअड्काउ फुकाउने काममा उनी अग्रसर भइहाल्थे। सबै मिली रकम जुटाएर अनि देउसीभैलो खेलेर उठेको रकमले पत्रिका प्रकाशन गर्न पनि उनैले सुझाएका थिए।

यी युवा त्यतिबेला घरबाट पाइने सानो आफ्नो दैनिकी खर्चको रकम जम्मा गरेर पनि यस्ता विभिन्न सिर्जनात्मक काममा लागेका थिए। वसन्त यो समूहको मियोजस्ता थिए। आफ्नो बाबुको सहमित बेगर पनि उनले आफ्नो जोरपाटीस्थित घरका केही कोठा ट्युसन पढाउन र कार्यालय सञ्चालन गर्नसमेत उपलब्ध गराउने आँट वसन्तमा मात्र हुन सक्थ्यो किनकि उनी आँटिला थिए र यो युवा समूहलाई पनि बरोबर आँट दिन चुक्दैनथे। त्यही जोरपाटी मूल सडकको घरमा वसन्तले ती निकट आफ्ना साथीहरूलाई पहिलोपल्ट कविता सुनाएका थिए। त्यो उनको कविता पछि ‘मुक्का’ सामयिक संकलनमा छापिएको छ। अरू सबै साथीहरू पहिलेदेखि नै केही न केही लेखिरहन्थे र एकआपसमा सुनाउने, क्रियाप्रतिक्रिया लिने दिने गर्दथे। सायद यही युवा जमातसँगको नियमित उठबस र संगतको फल उनमा पनि सबैको प्रेरणाले कविता फुर्न थाल्यो त्यसै बेलादेखि र उनी धमाधम कविता कोर्न थाले। उनको साहित्यिक लेखनको सुरुवात बिन्दु सायद यही बन्न गयो।

काठमाडौँ पूर्वी भेगका साहित्य, संगीत, कलाको मियो बनेर रहेका यशस्वी आख्यानकार/ वरिष्ठ लेखक रमेश विकलसँग २०३९/४० देखि नै सानिध्यमा थिए वसन्त। विविध साहित्यिक गतिविधिमा संलग्न रहेका युवा सर्जक वसन्त रिजाल विकलका लेखन, विचार र सोचबाट प्रभावित हुँदै गएको हुनुपर्छ किनभने उनका सिर्जनामा त्यसको झल्को परको देखिन थालिसकेको थियो।

त्यसैगरी तत्कालीन समयमा चाबहिल बौद्धका प्रगतिशील लेखनधार अंगालेर लेखनमा सक्रिय लेखककविहरूसँगको संगतले उनमा प्रगतिशील साहित्य कलाप्रति रुचि बढाइदियो भने सामाजिक रूपमा सक्रिय हुँदै समाज र आफ्नो परिवेश परिवर्तन गर्ने लोकतान्त्रिक आन्दोलनमा प्रत्यक्षपरोक्ष रूपमा सक्रिय पनि बनाइदिन पुग्यो। वसन्तले साहित्य विधामा कवितामार्फत आफूले परिवर्तनका निम्ति विगतमा देखेको सपना आज आएर भताभुंग भएको देख्नुपर्दा महसुस गरेका पीडा र उच्छवास कविताका माध्यमबाट उजागर गर्ने क्रम सुरु गरे। समाज परिवर्तनका निम्ति रगतपसिना बगाएका वसन्तको निमित्त आज नेपालको राजनीतिक स्थिति निराशाजनक मोडमा पुगेको देख्दा नेपालको वर्तमान राजनीतिक नेतृत्वप्रति उनको मोहभंग भएको स्पष्टै देख्न सकिन्छ भने कवितामा व्यक्त भएका भावनाबाट उनमा तथाकथित परिवर्तन र रूपान्तरणप्रति आएको वितृष्णा स्पष्ट अनुभूत गर्न सकिन्छ।

‘ब्युँझिएपछि’ भित्र

कवि वसन्त रिजाल नेपाली साहित्य, लेखन र यसको चौतर्फी प्रवर्धनमा गैरसरकारी तहबाट चार दशकदेखि क्रियाशील सर्जक हुन्। विभिन्न साहित्यिक पत्रपत्रिकामा कविता छापिए पनि पुस्तकाकार रूपमा भने कुनै संग्रह प्रकाशित भएको थिएन वसन्त रिजालको। खुसीको कुरा, यिनै साहित्यसाधक वसन्तका ६३ वटा लामाछोटा गद्य कविताको संग्रह ‘ब्युँझिएपछि’ २०७७ साल पुसमा भैरव पुरस्कार गुठीले प्रकाशित गरेको छ। कलाकार तथा कवि रमेश क्षितिजले आवरण कला संयोजन यति राम्रो अमूर्त कलामार्फत गरिदिएका छन् कि यो कविता संग्रहको शीर्षकसँग सान्दर्भिक र चित्ताकर्षक देखिन पुगेको छ। ‘आगमन’ शीर्षकको कविताबाट सुरु भएको यसै संग्रहको अन्तिम कविता ‘ब्युँझिएपछि’ बाट कवितासंग्रहको नामकरण गरिएको छ। संग्रहको अन्तिम कविताबाट नाम राखिनु यस प्रकारको संग्रहको नामकरण गर्ने शैलीको नयाँ प्रयोग हुन पुगेको छ। चार दशकदेखि कविता लेखनमा रहेको विषय ‘आफ्नै कुरा’ मा उल्लेख गर्दै ‘कालजयी रचना लेख्न नसकेको’ भन्ने रिजालको स्वीकारोक्तिलाई भने यस संग्रहमा संकलित कविताहरूको स्तरले अस्वीकृत गर्छन्।

नेपाल राष्ट्रको भौगोलिक र सामाजिक एकीकरण हुँदै गर्दा दक्षिण एसियामा बढ्दै गएको अंग्रेज साम्राज्यले यसको बढोत्तरी रोक्ने काम मात्र गरेन आजको नेपालको भूगोलमा नेपाललाई सीमित हुनुपर्ने अवस्था सिर्जना गरिदियो। नेपालको इतिहासको विभिन्न कालखण्डमा भएका युद्ध र त्यसपछिको परिणति थियो यो। दुई विशाल छिमेकी राष्ट्रहरूबीच एक स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा अस्तित्वमा रहेको यो मुलुक भूराजनीतिको परोक्ष तथा प्रत्यक्ष प्रभाव पर्ने यथार्थ एकातिर छ भने यसै भौगोलिक वास्तविकताले गर्दा छिमेकी राष्ट्र मात्र होइन अन्य शक्ति राष्ट्रहरूको चासोका टकराव हुन जाँदा नेपालको राजनीतिक स्थिरता र दिगो शान्तिको चाहना भने सदैव संकटमा पर्न गएको आभास हुन्छ। नेपाल राष्ट्रको तरल राजनीति र नेतृत्वको सही मार्ग निर्देशन अभावले देशका युवालगायत सबै भविष्यप्रति आशावादी हुन नसकेको र देशको व्यवस्था र अवस्था लथालिंग हुन पुगेको सर्वविदित छ।

राणा शासनको अवसान भई २००७ मा भएको राजनीतिक परिवर्तन वा २०४६ सालको प्रथम जनआन्दोलनले ल्याएको फेरबदल अनि २०६२/६३ को दोस्रो जनआन्दोलनले २४० वर्षको राजतन्त्रको घोषणा र देशलाई गणतन्त्रमा प्रवेश गरेको भनिए तापनि आजसम्म देशले स्पष्ट मार्ग चित्र कोर्न सकेको छैन। नेपाल अहिले कुनै अँध्यारो सुरु भित्र पसेको र बाहिर निस्कने उपाय नभएको स्थितिबाट गुज्रिरहेको अनुभव हुन्छ। ३६ साल, ४६ साल र कतिपय अवस्थामा ६२/६३ मा समेत जनताले उठाएका मुद्दा सही होलान् भन्ने ठानेर कवि वसन्तजस्ता युवा पनि आन्दोलनमा होमिएका हुन्।

यस्तै नि:स्वार्थी नेपाली युवाको योगदान, परिश्रम र बलिदानबाट स्थापित हुन पुगेको आजको राजनीतिक व्यवस्था, स्थापित गराएका नेतृत्वको भ्रष्टीकरणले तिक्त अनुभव बटुलेका कवि वसन्तको रचना गर्भको यस पृष्ठभूमिको बारेमा बुझेर उनको ‘ब्युँझिएपछि’ कवितासंग्रहमा समेटिएका कविताहरू पढ्दा कविताले भन्न खोजेका कुराहरू र तिनका उद्देश्य बुझ्न सहज हुन्छ भन्ने लागेर यति पृष्टभूमि लेख्नुपरेको हो।

कवि वसन्त रिजाल

उनले आफ्ना सबैजसो कवितामा नेपाली राजनीतिको कुरूप अनुहार उजागर गर्न चाहेका मात्र छैनन्, यसमा उनी कठोर एवं कतिपय अवस्थामा क्रूद्ध भएको आभास पनि हुन्छ। उनका कविताका अर्को विशेषता भनेको राष्ट्रप्रतिको अतिव प्रेम अभिव्यक्त हुनु पनि हो। देशलाई घात गर्नेहरूप्रति उनी कठोर प्रहार गर्न चुक्दैनन्। गहन विषयवस्तुलाई पनि सहज ढंगमा छोटा कवितामार्फत प्रवेश गराउने उनको अर्को काव्यिक वैशिष्ट्य देखिन्छ।

उनका कविताहरूको अर्को प्रमुख वैशिषट्य सधैँ सत्ताको विपक्षमा उभिनु हो भन्ने अनुभूति हुन्छ कविताहरू पढ्दै जाँदा। सत्ताको ताबेदारी गर्ने त भाटहरूले हो, इमानर सर्जक त सधैँ आममानिसको मनमुटुको कथा भन्छ र सधैँ चेतनाको बिगुल फुक्नु उसको कर्त्यव्य ठान्दछ। त्यसो भन्दैमा के सर्जक सधैँ अराजक हुने हो त भन्ने प्रश्न पनि उठ्छ। सर्जक आफ्नो सिर्जनामा इमानदारीपूर्वक अभिव्यक्ति होस् त्यो हिजो तानाशाही भनिएको व्यवस्थामा होस् वा अहिलेको खुला प्रजातान्त्रिक भनिएको व्यवस्थामा होस्- उसको मर्मले देखेको लेख्ने वा अभिव्यक्ति गर्ने हो – त्यसको अभिभारा लिएर अभिव्यक्त हुने कुनै पनि रूपमा सर्जकको कर्म हो। त्यसैगरी सत्ताको मदमा चूर नेतृत्वको नांगेझार पार्न कवि पछि परका छैनन्। देशको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक स्थितिप्रति कवि पटक्कै सन्तुष्ट छैनन्। उनको कवितामा बारम्बार देश चिन्ता हुन्छ र भविष्यप्रति चिन्तन अभिव्यक्त भएको पाइन्छ।

अधिकांश कवितामा देश प्रेम यथेष्ट छचल्किएको देखिएकाले कविलाई देशभक्त कविका रूपमा पनि वर्गीकरण गर्न सकिन्छ। न्याय, शान्ति र समानताका लागि कवि आफ्ना रचनामार्फत बारम्बार आवाज उठाउँछन्। उनका कविताले परिवर्तनका निमित्त होमिने युवाको प्रतिनिधित्व गरेको छ। संग्रहित कविता नेपाली समाज, सत्ता र जीवनका प्रतिबिम्बका रूपमा रहेकोमा दुई मत नहोला। वसन्तका यस कवितासंग्रहमा समाविष्ट कविताहरू र कवित्वबारे कवि तथा लेखक शार्दूल भट्टराईले ज्यादै गहन रुपमा विश्लेषण लेखेका छन् जसमा उनले वसन्तका कविताका रचना गर्भ, प्रवृत्ति र महत्ताका विषयमा प्रकाश पारेका छन्।

यस संग्रहमा संकलित ६३ कविता मध्ये मलाई मन परेका केही कविताको संक्षिप्त विश्लेषण गर्दै वसन्तका काव्य प्रवृत्ति, विशेषता र महत्ताको संक्षिप्त चर्चा गर्नु यस लेखको मूल उद्देश्य रहेको छ। यस संग्रहलाई अन्य कवि वा सर्जकका काव्य सिर्जनासँग तुलनात्मक अध्ययन नगरिएककाले यो विश्लेषण कतिपय अवस्थामा कविता पढेपछि उत्पन्न मेरो व्यक्तिगत अनुभूतिजन्य प्रस्तुति मात्र हुन पुगेको व्यहोरा पाठकमा अनुरोध गर्दछु।

मन परेका कविता

मलाई मन परेको पहिलो कविता हो ‘आगमन’ यसमार्फत कवि यस्तो नायकको खोजी गर्छन् जो असहाय बेसहाराको निमित्त मुक्तिदाता भएर आओस् भन्ने मनसाय झाल्किएको पाइन्छ। देशमा विद्यमान बेथिति, विसंगति र अव्यवस्थाको निराकण अहिले भएका भ्रष्ट नेतृत्वबाट नहुने र जनताले सोचेको परिवर्तनप्रति कुनै आशासमेत बाँकी नभएकोले उनी देशमा नयाँ नेतृत्वको ‘आगमन’ को आशा गर्छन् यस कवितामा।

२. ‘सपना’ कविता मार्फत कवि एक्काइसौँ शताब्दीको विकासको सपनालाई विपना बनाउने चाहना राख्छन् र उनी भन्छन् :

‘यो एक्काइसौँ शताब्दी हो
असल मानिसहरूले नै देख्छन्
असल सपना
असल सपना देख्नेहरू मिलेरै
पूरा हुन्छ सपना।’

३. निर्दलीय राजनीतिविरुद्ध युवा अवस्थामा नै प्रतिरोधमा उत्रिएका कविचेतमा सायद दलीय राजनीतिले ल्याएको दलदलबीचको अपवित्र गठबन्धन अनि गुटउपगुटको राजनीतिले देशको मूल लक्ष्यमा कुठाराघात भएको देखेका भोगेका कवि आफ्ना कवितामार्फत यस प्रकारका राजनीतिक विसंगतिविरुद्ध जेहाद छेड्न चाहेको बुझिन्छ। जनताको मत (विश्वास) पाएर सत्ता सञ्चालन गर्ने ठाउँमा पठाएका हिजोका आदर्श मानिएका व्यक्तित्वमा क्रमश: स्खलन हुँदै गएको इमानदारी, विश्वसनीयता र भरोसाबाट देशमा व्याप्त हुन गएको नैराश्यप्रति कवि चिन्तित छन्। जसलाई हिजो विश्वास गर्‍यो आज उसले नै घात गरिरहेको भन्ने उनको निष्कर्ष देखिन्छ। राजनीतिको कैदी (दास) बनेकाहरूले नै देशको सर्वनास गरे भन्ने उनको बुझाइ छ। नेतृत्वप्रति उनको अहिलेको धारणा यस्तो देखिन्छ :

‘देशलाई कैद बनाएर
हाकाहाकी लुटिरहेछन्
र, शिर ठाडो पारेर घुमिरहेछन् ‘
(कैदी-५४)

४. त्यसैगरी कविले पद, पैसा र प्रतिष्ठाको निमित्त मरिमेट्नेहरूको झाँको झारेका छन् कवितामार्फत। ‘मेरो म’ शीर्षकको कविता यो संग्रहको एक अर्को उत्कृष्ट रचना लाग्दछ मलाई किनकि यस कवितामा कविले मिठासपूर्ण तवरमा ‘म’ (कवि) का बलियो पक्ष र निर्बल पक्षको राम्रो चिरफार गरेका छन्। उनको अर्को चिन्ता छ ‘सुन फल्ने नेपाल’ मा आज युवाको किन विकर्षण छ। उनीहरू बाह्य गमन नै किन गर्न चाहन्छन् -’ अपूरो काम’ कविता मार्फत उनले यसलाई सटिक ढंगमा प्रस्तुत गरेका छन्।

५. वसन्त रिजाल हिजो अर्थात् पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा होमिएर जे जस्तो रूपमा आफ्नो कविको कर्तव्यपालना गर्दथे आजको खुला भनिएको राजनीतिक व्यवस्थामा पनि आफ्नो दायित्वबाट च्यूत भएका छैनन् भन्ने यो संग्रहका कविताले पुष्टि गर्दछन्। त्यसैले त उनी अहिलेको राजनीतिप्रति यस्तो व्यंग्य कस्छन् :

‘राजनीति सेवा भन्थे
त्यो त मेवा रै’छ।’
(पानी पर्‍यो)

६. स्वार्थवष्टित नेपाली समाज र व्यवस्थाप्रतिको व्यंग्य्य जताततै भेटिन्छ – आफ्नालाई च्याप्ने र राम्रालाई फ्याँक्ने प्रवृत्तिविरुद्धको आवाज हो उनका कविताहरू। जस्तो कवि लेख्छन्-

‘म देशका मान्छे खोजिरहेथे,
उनीहरूले पार्टीका मान्छे खोजे। ‘ (हार्दिक श्रद्धाञ्जली)

७. ‘मनमा कालो भरेर जिब्रो मिठो राखेर के काम’ भन्दै कवि मनको मैलो फाले मात्र मानव जीवन सार्थक हुन्छ भन्ने सन्देश सम्प्रेषण गर्दछन् ‘उपहार-उपहास’ शीर्षक कवितामा जुन एक अर्को उत्कृष्ट रचना हो। यस कवितामा देशलाई आमाको प्रतीकका रूपमा उभ्याएका छन् कविले। उनी भन्छन-

‘आमालाई बन्धक बनाएका छन्
हातमा साँचो लिनेहरूले’

८. देशको निमित्त आफ्नो सबैभन्दा प्यारो जीवन नै आहूति गर्ने सहिदहरूप्रति वसन्त निकै भावुक छन् र उनीहरूका कारण आज हामीले प्राप्त गरेका भनिएका उपलब्धिप्रति अनुगृहीत हुन नसकेकोमा दु:ख व्यक्त गर्दछन। ‘त्रास-सन्त्रास’ कविताले यसै पक्षलाई उजागर गर्दछ।

९. शोषित, पीडित र पछाडि पारिएका समुदायका निमित्त सधैँ आवाज उठाउने कवि आफ्नो कर्तव्यमा अडिग देखिन्छन्। ‘सदाबहार कुकुर’ कविता एक प्रतीकात्मक व्यंग्य्य कविता हो जसमा लेखक ‘कुकुर’ को प्रतीक सिर्जना गर्दै नेपाली समाज र राजनीतिको अव्यवस्थाहरूप्रति कठोर प्रहार गर्न सफल देखिन्छन्।

१०. यो संग्रहको एक अर्को उत्कृष्ट कविता हो ‘वसन्त आउनेछ’ जसमा कविले वसन्त ऋतुलाई मोहक ढंगमा परिवर्तनको पर्यायका रूपमा परिभाषित गरेका छन्।

११. रातो ‘रंग’ सांकेतिक रूपमा जनउभार, विद्रोह वा क्रान्तिको प्रतीक मानिन्छ खासगरी प्रगतिवादी भनिने साहित्यमा यसलाई त्यही रूपमा प्रस्तुत गर्ने गरिएको पाइन्छ जबकि अन्य धारका साहित्य लेखनमा रातो रङले हिंसा वा युद्ध वा विनासप्रति संकेत गरेको पनि हुनसक्छ। कवि रिजाल ‘रंग’ शीर्षकको कवितामा युवा विद्रोह र परिवर्तनलाई रातो रङसँग सन्निहित गराउँछन्। नेपालको लोकतन्त्रको आन्दोलनमा लामो समय संलग्न कविले प्रगतिशील साहित्यलेखनको धारलाई पछ्याएको प्रस्टै देखिन्छ भने ‘रंग’ लाई उनले त्यही रूपमा क्रान्तिको बिम्बका रूपमा प्रस्तुत गरेका छन्।

१२. नेपालको राजधानी र केन्द्रका रुपमा इतिहासदेखि नै रहँदै आएको काठमाडौँ नेपालको सबै भूभागबाट मानिस ओइरिने क्रम जारी नै छ। काठमाडौँको नियति के छ भने काठमाडौँमा आएर सफल भएका मानिस नै काठमाडौँको खिल्ली उडाएर यस सहरप्रति व्यंग्य्य गर्न छोडदैनन्। खासगरी काठमाडौँबाहिरबाट आएर स्थापित भएका सर्जकहरूको काठमाडौँप्रति एकैसाथ प्रेम र घृणाको सम्बन्ध रहँदै आएको देख्न सकिन्छ। धेरै कवि र सर्जकहरूले काठमाडौँबारे लेखेका छन् र यो लेखनको क्रम जारी नै रहने छ -केवल समय र परिस्थिति मात्र फरक हुनेछ। कवि वसन्तले पनि ‘काठमाडौँ’ शीर्षकमा यसै संग्रहमा २/२ वटा कविता प्रस्तुत गरेका छन्। काठमाडौँको रैथाने बासिन्दा रिजालको यस सहरप्रतिको बुझाइ यस्तो देखिन्छ :

‘धेरै कुकुर पालेर सोख गर्न
नेपाली माटोमा आयात गरिएका
विदेशीको क्रीडास्थल हो काठमाडौँ। ‘
(काठमाडौँ)

१३. कुनै समय सक्रिय राजनीतिक गतिविधिमा पनि लागेका तर परिवर्तनको आभास नपाउदा आफूलाई विशुद्व सामाजसेवा र साहित्य प्रवर्धनमा लागेका कवि निराश हुँदै लेख्छन् :

‘जसले जे जे भने पनि
जति सक्छु, गर्छु
दियो आफैँ बन्नका लागि
आफैँ बल्न परे पनि।’
(बत्ती)

१४. समाज तथा राज्यलाई दुहुनो गाईजस्तो बनाएर राखिरहेका ‘लामखुट्टे’ हरूलाई कविले मर्मान्त व्यंग्य्यवाण हानेका छन्। यो कविता सत्ता र नेतृत्वको दोहोलो काट्न सफल छ। यो कविता यस संग्रहको उत्कृष्ट सिर्जना भन्न सकिन्छ :

‘आ बाबु आ ! खा बाबु खा!
रात रहुन्जेल त हो तेरो मनपरी
ब्युँझिएपछि ?
ब्युँझिनु त छँदै छ एक दिन।’ (लामखुट्टे)

‘ब्युँझिएपछि’ कवितासंग्रहका कविताहरू पढिरहँदा कविभित्र वास्तविक परिवर्तनप्रति दन्किरहेको आगोको स्पष्ट बोध हुन्छ। सर्वप्रथम व्यक्ति स्वयं ब्युँझिनुपर्छ र ‘ब्युँझिएपछि’ मात्र वास्तविकता अनुभूत गर्न सकिन्छ भन्ने मूल मर्म र अर्थलाई कविताहरूले संश्लेषित रूपमा पेस गरेका छन्। त्यसैले यसलाई यथार्थवादी धारका कविताहरूको एक संग्रह हो। कवि आफूभित्र वेष्टित चेतना र भोगाइले बालिदिएको सञ्चेतनाको ज्वालालाई कवितामार्फत व्यक्त गर्न सफल रहेकोमा शंकै छैन।

सरल, सहज तथा बोधगम्य अभिव्यक्ति कलाले उनी सीधै पाठकको मन र मुटुलाई छुन र तिनलाई नेपाली समाजमा विद्यमान सामाजिक यथार्थ, विभेद र विसंगतिप्रति सचेत पार्न सफल छन्। एउटा गुनासो के रह्यो भने प्रत्येक रचनाका अन्त्यमा कविता लेखिएको साल वा मिति पनि उल्लेख भएको भए पाठकलाई रचनाको समय-सन्दर्भ, समाज र तत्कालीन राष्ट्रको अवस्था बुझ्न अझ सहज हुने थियो। आगामी कृतिहरूमा लेखकको ध्यान यसतर्फ पनि जाने विश्वास लिएको छु। धेरै मान्छेको जीवनमा वसन्त ल्याउन सफल वसन्त रिजालका आउँदा वसन्तहरू थप सिर्जनशील, सकारात्मक तथा ऊर्जाशील हुँदै जानेछन् र निकट भविष्यमा हामीले उनका अरु जोडदार कविता पढ्न पाउने नै छौँ।  कूटनीति र साहित्य लेखनमा रुचि भएका लेखक पूर्वराजदूत एवं पूर्वशिष्टाचार महापाल हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + ten =