हर्सिङडाँडामा पर्यटक बढे

हिमाल प्रेस २४ कार्तिक २०८० १२:१७
8
SHARES
हर्सिङडाँडामा पर्यटक बढे

लमजुङ- राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईवस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको संख्या बढेको छ।

लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचारप्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो। विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए।

उनले भने, ‘विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन्।’ विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताए।

यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो। पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर ११ लाख रुपैयाँ लगानीमा खाना-बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गरेको छ। यहाँ आउने पर्यटकलाई अर्गानिक खानाखाजा दिने गरिएको छ।

यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढंगे, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ घाउँ देखिन्छ। त्यस्तै दक्षिण एसियाकै नमूना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मर्स्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनास्लु रेन्स, बुद्ध हिमाललगायतका देख्न सकिन्छ।

त्यस्तै तनहुँको बन्दीपुरडाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ। यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति एक हजार रुपैयाँ लिने गरेको छ।

यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा विसं १८०२ मा खुदीको ढंगेबेसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गरेको थियो।

हर्सिङडाँडामा गाईवस्तु चराएका भक्ति थापा विसं १९७१ मा नेपाल–अंग्रेजी युद्धको बखत नेपालका वरिष्ठ सैनिक हुन्। उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएकी हुन्। उहाँ पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न हुन्। विसं १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेजी युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे।

देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो। अंग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिंह थापालाई बुझाएको इतिहास छ।

प्रकाशित: २४ कार्तिक २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =