परदेशमा चेली-माइती बनेर भाइटीका

रमेश भारती २९ कार्तिक २०८० ७:५९
16
SHARES
परदेशमा चेली-माइती बनेर भाइटीका तिहारमा लक्ष्मीपूजा गरेर रमाउँदै इजरायलमा रहेका नेपाली। तस्बिर सौजन्य : आशा पाठक

काठमाडौँ-  काठमाडौँकी कोपिला खड्का तीन वर्षदेखि यूएईमा तिहार मनाउँदै आएकी छिन्। खड्काले वैदेशिक रोजगारीमा यूएईमै कार्यरत नेपालीलाई दाजुभाइ (माइती) बनाएर तिहारको भाइटीका लगाउने गरेको जानकारी दिइन् । विदेशमा भए पनि नेपालीलाई माइती बनाएर तिहारमा भाइटीका लगाउने गरेको उनले बताइन्।

‘नेपालमा जस्तो विधि पुर्‍याएर टीका लगाउन त पाइँदैन। तर कामबाट बिदा भएपछि साँझ एउटा होटलमा भेला भएर टीका लगाउँछौँ। परदेशमा भए पनि तिहार मनाउनुपर्‍यो। आफ्नो रीतअनुसार मनाइन्छ’, उनले भनिन्, ‘परदेशमै चेलीमाइती भएर धेरै नेपालीले तिहारमा भाइटीका लगाउने गरेका छन्। नेपालबाट आएको नेपाली दाजुभाइलाई माइती बनाएर भाइटीका लगाउँदा परदेशमा पनि तिहार रमाइलो हुन्छ ।’

वैदेशिक रोजगारीका कारण तिहारजस्तो चाडपर्वबाट टाडा नहोस भनेर भाइटीका लगाउने गरेको उनको भनाइ छ।

हङकङमा कार्यरत पाँचथरका दीपेन्द्र लिम्बू पनि पाँच वर्षदेखि नेपाली दिदीबहिनीबाट तिहारमा भाइटीका लगाउँदै आएका छन्। हङकङमा धेरै नेपाली भएका कारण तिहारमा रमाइलो हुने गरेको लिम्बू बताउँछन्।

हङकङमा नेपालीले देउसीभैलोसमेत खेल्ने गरेको उनले बताए। ‘रोजगारी र अध्ययनका लागि आएका नेपाली दिदीबहिनीबाट तिहारमा भाइटीका लगाउँछु। मैले त पाँच वर्षदेखि हङकङ आएका नेपाली चेलीबाट भाइटीका लाउने गरेको छु। यस वर्ष पनि यसरी नै भाइटीका लगाएँ’, उनले भने, ‘हङकङमा रहेका नेपालीले समूहमा भाइटीका लगाउने चलन छ। यो त यहाँको संस्कार जस्तै भइसक्यो। परदेशमा यसरी टीका लगाउँदा रमाइलो र आफ्नोपन बढ्दो रहेछ।’

नेपाल सरकारले रोजगारदाता देशसँग कुरा गरेर तिहारमा नेपालीलाई बिदाको व्यवस्था मिलाइदिनुपर्ने माग उनको छ।

माल्टामा कार्यरत मोरङका प्रविन अधिकारीले सात वर्षदेखि विदेशमै तिहार मनाउँदै आएका छन्। वैदेशिक रोजगारीकै कारण सात वर्षयता उनले परिवार र आफन्तसँग बसेर दसैँतिहार मनाउन पाएका छैनन्।

यूएईमा पाँच वर्ष नेपाली दिदीबहिनीबाट तिहारमा भाइटीका लगाएको अधिकारीले जानकारी दिए। माल्टामा पनि नेपाली दिदीबहिनीबाट भाइटीका थप्ने गरेको उनले बताए। उनी यूएईबाटै रोजगारीका लागि दुई वर्षअघि माल्टा पुगेका थिए।

काभ्रेकी सविता दाहालले पनि साइप्रसमा तीन वर्षदेखि भाइटीका लगाउँदै आएकी छिन्। उनले नेपालमा पाँच वर्षदेखि साइप्रसमै भएका कारण टीका लगाउन पाएकी छैनन्। परदेशी भएपछि आफूले सोचेजस्तो दसैँतिहार मनाउन नपाइने उनले बताइन्। ‘साइप्रसमै भएका नेपाली दाजुभाइलाई भाइटीका लगाएर तिहार मनाउँदै आएकी छु। नेपालमा आएका यहाँ बसोबास गर्दै आएको नेपालीले चेली भनेर टीका लगाउन बोलाउँछन्। उनीहरुलाई टीका लगायो। यस्तै हो परदेशको तिहार’, उनले भनिन, ‘देश छाडेपछि दसैँतिहार सम्झनामा मात्र सीमित हुन्छ। अरूको देशमा तिहार मनाउन पनि समस्या हुन्छ। एकतिर काम अर्कोतिर समय मिलाउनुपर्छ।’

विदेशमा भए पनि आफनो देशको धर्मअनुसार दसैँतिहार बनाउने गरेको उनको भनाइ छ।

पछिल्लो समय वैदेशिक रोजगारीमा कार्यरत रहेका नेपालीले रोजगारदाता देशमै चेलीमाइती बनेर भाइटीका लगाउने गरेका छन्। यो प्रचलन खाडीका देश, मलेसिया, युरोपका देश, दक्षिण कोरिया, अमेरिका, बेलायत र क्यानडामा छ। नेपाली धेरै भएका देशमा आफ्नो संस्कारअनुसार सामूहिक भाइटीका लगाउने प्रचलन बढ्दो छ।

परदेशीको सम्झनामा तिहार

पाँचथरका राज खतिवडा वैदेशिक रोजगारीमा दक्षिण कोरिया पुगेको एक वर्ष भयो। उनले पहिलो पटक दसैँतिहार परिवारसँग मनाउन पाएनन्। २० वर्ष परिवारसँगै दसैँतिहार मनाए पनि यो वर्ष वैदेशिक रोजगारीमा भएका कारण तिहार मनाउन नपाएको कोरियाबाट खतिवडाले जानकारी दिए।

गाउँघरमा दसैँभन्दा तिहार रमाइलो हुन्छ। त्यही भएर यस पटक तिहार गाउँघरमा मनाएको सम्झिएर काम गर्ने उनले बताए। ‘अरू बेला जेजस्तो भए पनि दसैँतिहारमा भने गाउँघर, साथीभाइ र परिवारको याद धेरै आउँछ। नेपालमा जस्तो चाडपर्वमा रमाइलो विदेशमा हुँदैन। जन्मभूमि भनेको जन्मभूमि नै हो’, उनले भने, ‘तिहारमा सबैतिर देउसी खेल्ने, नाँच्दै हिँड्ने, घरघर डुल्ने र सबैसँग मित्रता पनि जोडिन्छ। विदेशमा भने काम गर्‍यो बिदा भएपछि यसो साथीभाइसँग भेला भएर गफ गर्दै नेपाल हुँदा तिहार मनाएको रमाइलो क्षण बाँड्ने मात्र हो।’

वैदेशिक रोजगारीमा आम्दानी भए पनि चाडपर्व, परिवार र समाजबाट टाढा बस्नु पर्दा धेरै दु:ख पनि लाग्ने गरेको उनको भनाइ छ। राजलाई जस्तै जापानमा कार्यरत रामछापेका सञ्जय कार्कीलाई पनि दसैँतिहारको समयमा आफनो जन्मभूमिको धेरै याद आउँछ। दसैँभन्दा पनि तिहारमा मन गाउँघरमा पुग्ने गरेको कार्कीले बताए।

तिहारमा देउसी खेल्न हिँडेको याद अहिले पनि आउँछ। तर यही समयमा घर जान्न बिदा नपाउने गरेको कार्कीले गुनासो गरे। ‘आफ्नो देशमा जस्तो विदेशमा चाडपर्व मनाउन कहाँ सजिलो हुन्छ? यहाँ त कामसँग मतलब हुन्छ। भाइटीकाको दिन बिदा पाइँदैन। काम गर्‍यो, डेरामा गयो र नेपालमा तिहार मनाएको फेसबुकमा हेरे बस्यो’, उनले भने, ‘वैदेशिक रोजगारीका कारण चाडपर्वमा परिवारबाट टाढा बस्नुपरेको छ। स्वदेशमा काम गर्ने वातावरण भएको भए ४५ लाख युवा विदेशमा हुनु पर्दैन थियो। नेपालमा राजनीति मात्र भयो, विकास र रोजगारी सिर्जना भएनन्। हामी देश छाड्न बाध्य भयौँ।’

वैदेशिक रोजगारीका कारण चाडपर्वमा पनि  बिसिनुपर्ने अवस्था सिर्जना भइरहेको उनको भनाइ छ। कार्की ११ वर्षदेखि जापानमा कार्यरत छन्।

राज र सञ्जयजस्तै, झापाकी कविता गुरागाईं पनि एक वर्षअघि वैदेशिक रोजगारीका लागि रोमनिया पुगेकी छिन्। कविताले दुई वर्षदेखि परिवारसँग दसैँतिहार मनाउन नपाएको गुनासो गरिन्।

दुई सन्तानकी आमा कविताले छोरासँग बसेर दसैँतिहार मनाउन नपाएको बताइन्। ‘परदेशी भएपछि दसैँतिहार सम्झना जस्तो मात्र हुन्छ। चाडपर्वका बेला परिवारको खुबै याद आउँछ। विदेशमा भएपछि यस्तै हुँदो रहेछ’, उनले भनिन्, ‘नेपालमा हुँदा २७ वर्ष खुबै भैलो खेल्न हिँडियो। तर रोमनिया आएपछि त दसैँतिहारको मतलब नै हरायो। विदेशमा यस्तै हो। अरूको देशमा काम अनि पैसा यतिसँग मतलब हुन्छ।’

अरु बेला जेजस्तो भ एपनि दसैँतिहारमा चाहिँ खुबै घर जान मन लाग्ने र परिवारको यादले सताउने गरेको कविता बताउँछिन्।

सरकारले रोजगारदाता देशसँग छलफल गरेर दसैँतिहारको समयमा नेपालीलाई बिदा दिने व्यवस्था मिलाउनुपर्ने विदेशमा रहेको नेपालीको माग छ। वैदेशिक रोजगारीमा कार्यरत धेरै नेपालीले अहिले रोजगारदाता कम्पनीमै भेला भएर दसैँतिहार मनाउने गरेको बताउँछन्।

वैदेशिक रोजगारीका लागस हरेक दिन नेपालीहरु श्रम स्वीकृति लिएर जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। पछिल्लो समय वैदेशिक रोजगारीमा व्यक्तिगत श्रम स्वीकृति नयाँनयाँ देशमा नेपालीहरू जान थालेका छन्। दैनिक १ हजार ५ सय नेपाली वैदेशिक रोजगारीमा जाने गरेको विभागको तथ्यांकमा उल्लेख छ।

(यो सामग्री सामाजिक सञ्जालमा कुराकानी गरेर तयार पारिएको हो।)

प्रकाशित: २९ कार्तिक २०८० ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 4 =