तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन सेती नदी ‘डाइभर्ड’

हिमाल प्रेस २० कार्तिक २०८० १६:२०
4
SHARES
तनहुँ जलविद्युत् आयोजनाको बाँध बनाउन सेती नदी ‘डाइभर्ड’

तनहुँ- १४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि सेती नदी ‘डाइभर्ट’ (फर्काउने काम) गरिएको छ।

ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५ सिमा भएर बग्ने सेती नदी १४० मिटर अग्लो कंक्रिट बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी डाइभर्ट गरिएको हो।

डाइभर्सन सुरुङमार्फत फर्काइएको पानी बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं तनहुँ हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एशियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्थाविजय तुङ्गाले सोमबार बेलुन उडाएर नदी डाइभर्टको शुभारम्भ गरेका हुन्।

अब बाँध निर्माण अवधिसम्म नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिने प्राधिकरणले जानकारी दिएको छ। बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ।

कार्यकारी निर्देशक घिसिङले नदी कार्य आयोजना निर्माणका लागि एउटा महत्त्वपूर्ण कोशेढुंगा र फड्को भएको बताए। विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रूपमा अगाडि बढाउने गरी काम भइरहेको उनको भनाइ थियो।

आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत भएको छ। समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे)सक्ने लक्ष्य राखिएको छ।

प्रकाशित: २० कार्तिक २०८० १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =