सडकले जोड्यो मुस्ताङ र डोल्पा

हिमाल प्रेस १९ कार्तिक २०८० १६:४४
4
SHARES
सडकले जोड्यो मुस्ताङ र डोल्पा

काठमाडाैँ– मुस्ताङ र डोल्पालाई जोड्ने सडकमार्ग खुलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालमा जोडिएका हुन्।

सडक खुलेसँगै मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलो पटक ट्याक्टर आवतजावत गरेका छन्।

सरकारले मुस्ताङ र डोल्पालाई जोड्ने रणनीतिक महत्त्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो। करिब २० करोड रुपैयाँको लगानीमा ५६.५ किलोमिटर सडक मार्ग खुलेको छ।

गत वर्ष नयाँ ट्रयाक खोल्न भौतिक पूर्वाधार मन्त्रालयले ३ करोड १७ लाख बजेट विनियोजन गरेको थियो। चालु आवमा सोही शीर्षकमा २ करोड बजेट छुट्याइएको थियो। मुस्ताङ–डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्रयाक खोल्न शिखा इञ्जिनियरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो।

समुद्री सतहदेखि ४००० मिटरभन्दा बढीको उचाइमा भौगोलिक रूपमा विकट र दुर्गम याकखर्क क्षेत्रमा सडक निर्माण गरिएको छ। एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै याकखर्कको भिर छिचोलेर डोल्पाको सिमानामा सडक पुर्‍याइएको छ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण गरिएको थियो। उक्त सडकलाई आव २०७६/७७ मा ११ करोड तथा आव २०७५/७६ मा ४ करोड बजेट विनियोजन गरिएको थियो।

डोल्पा जोड्ने सडकको प्रवेश बिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा गत वर्ष १२० मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको थियो।

प्रकाशित: १९ कार्तिक २०८० १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 12 =