विदेशबाट फर्केर कागती खेती गरेका पौडेललाई बजार अभाव

हिमाल प्रेस १६ कार्तिक २०८० १७:३५
10
SHARES
विदेशबाट फर्केर कागती खेती गरेका पौडेललाई बजार अभाव

वालिङ (स्याङ्जा)- स्याङ्जाका किसानले उत्पादन गरेको कागतीले यस वर्ष बजार पाउन सकेको छैन। वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर ६ लाख रुपैयाँ आम्दानी गरेका थिए।

यसपाली बजार अभावका कारण कागती बिक्री नभएर बोटमै रहेको उनले बताए। कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन्। ‘गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो,’ उनले भने, ‘यस वर्ष सिजन (याम) मै बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ।’

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेलको भनाइ छ। कसैले बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ,’ उनले भने। स्थानीय बजारमा दैनिक १०/१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए। ‘दिनभर बजार डुलाउँदा मुश्किलले १०/१५ किलो मात्र बिक्री हुन्छ। बजार नपाउँदा दिक्क लागेको छ,’ पौडेल भन्छन्।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन्।

उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एक सय ५० कागतीका बोट लगाएका थिए। ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन्।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ। रासस

प्रकाशित: १६ कार्तिक २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =