न्युयोर्क फर्किए गुटेरेस [फोटो फिचर]

हिमाल प्रेस १५ कार्तिक २०८० ११:०६
10
SHARES
न्युयोर्क फर्किए गुटेरेस [फोटो फिचर]

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन्।

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे। सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधिलगायत उपस्थित हुन्।

महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते यहाँ आएका थिए। महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग महासचिव गुटेरेसको अगलअलग भेटवार्ता भएको थियो।

भ्रमणका क्रममा महासचिव गुटेरेस सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रका साथै पोखरा र लुम्बिनीसमेत जानेका थिए। उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए।

प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए। भम्रणका दौरान उनले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए।

सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि नेपालको भ्रमणमा आउनुभएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरेका थिए।

राष्ट्रसंघका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्रसंघका अन्य अधिकारीहरू सहभागी हुन्। रासस

प्रकाशित: १५ कार्तिक २०८० ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + two =