भट्टराईले यादव र श्रेष्ठलाई रात्रिभोज दिएपछि जोगिएको नेसपा

रमेश दवाडी ११ मंसिर २०८० १५:०२
46
SHARES
भट्टराईले यादव र श्रेष्ठलाई रात्रिभोज दिएपछि जोगिएको नेसपा

काठमाडौँ-  नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव र गंगानारायण श्रेष्ठ माओवादी केन्द्रसँग तत्काल पार्टी एकताबाट पछाडि हटेका छन्। यादव र श्रेष्ठले माओवादी केन्द्रसँग पार्टी एकताका लागि अर्का अध्यक्ष डा. बाबुराम भट्टराईमाथि दबाब दिँदै आएका थिए। दुवै नेतासँग अध्यक्ष भट्टराईले निजी निवास टोखामा रात्रिभोजसहितको छलफल गरेपछि तत्काल पार्टी एकता नगर्ने सहमति भएको नेसपाका एक नेताले जानकारी दिए।

ती नेताका अनुसार टोखामा भट्टराई, यादव र श्रेष्ठबीच डेढ घण्टाभन्दा बढी समय पार्टी एकताका विषयमा गम्भीर छलफल भएको थियो। दुवै नेता तत्काल एकता हुनुपर्ने अडानमा थिए। भट्टराईले भने ‘पार्टी एकतामा हतार नगरौँ’ भन्ने प्रस्ताव गरेका थिए। मंसिर ४ गते भएको उक्त छलफलपछि भोलिपल्ट पदाधिकारी र कार्यकारिणी समिति बैठक बसेको थियो।

बैठक स्थलमा हँसिलो मुद्रामा प्रवेश गरेका यादव र श्रेष्ठले बोली फेरेको ती नेता बताउँछन्। उनका अनुसार त्यसअघि यादव र श्रेष्ठबीच अलग्गै छलफल भएको थियो। ‘रात्रिभोजपछि भट्टराईको वचनमा प्रतिबद्ध यादव र श्रेष्ठले पदाधिकारी, कार्यकारिणी र केन्द्रीय समिति बैठकमा बोली फेरे। त्यसअघि माओवादीसँग तत्काल एकता गर्नुपर्ने नभए विद्रोह गर्ने धम्की दिँदै आएका थिए’, नेसपाका ती नेताले भने।

श्रेष्ठ बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री छन् भने यादव संघीय सरकारमा खानेपानीमन्त्री छन्। माओवादी केन्द्रबाट संसद्‌मा प्रतिनिधित्व गरेका उनीहरू भट्टराईकै पहलमा मन्त्री बनेको दाबी ती नेताले गरे।

यादव र श्रेष्ठले ६ गते बसेको पार्टी केन्द्रीय समिति बैठकमा नेसपाको संगठन विस्तार अभियान, आगामी एजेन्डालगायत विषयमा अभिव्यक्ति दिएका थिए। बैठकमा यादवले भने, ‘हामी पार्टीमा एक ढिक्का छौँ। कोही कतैपट्टि छैनौँ। पार्टी एकताको गृहकार्य चलिरहेको छ। हतारमा एकता गर्दैनौँ। हामीले सम्मानजनक रूपमा मात्रै पार्टी एकता गर्नुपर्छ। अब पुनः संगठन निर्माण र सुदृढीकरण अभियान चलाउनुपर्छ।’

यादव र श्रेष्ठले माओवादीसँग एकताका लागि पहल गर्ने जिम्मेवारी भट्टराईलाई नै दिएकमा छन्। ती नेताका अनुसार एजेन्डा, वरीयता, नाम, केन्द्रीयदेखि वडा कमिटीसम्मका विषयमा माओवादीसँग सहमति गर्न भट्टराईलाई जिम्मेवारी दिइएको छ। एकताकै विषयमा भट्टराईले प्रचण्डसँग पटकपटक छलफल गर्दै आएका छन्।

नेसपाका अर्का एक नेता भन्छन्, ‘भट्टराईले दुवै नेतालाई आफ्नै निवासमा डाकेर कुराकानी नगरेको भए अहिले पार्टी दुई धारको विचारमा चल्ने र अन्ततः पार्टी विभाजित हुन्थ्यो। अब तत्कालका लागि विभाजन रोकिएको छ।’ पार्टी एक ढिक्का रहेको सन्देश गएको ती नेताले बताए।

उनले भने, ‘यसको जस बाबुराम सरलाई जान्छ। उहाँले तत्काल पार्टी विभाजन हुनबाट जोगाउनुभएको छ। विचार मिल्ने पार्टीसँग सहमतिमै एकता गर्ने कुरा छ। छुट्टिएर, चोइटिएर जाँदा गलत सन्देश जान सक्छ। त्यसमा हामी जिम्मेवार छौँ।’

माओवादीसँग पार्टी एकताको एजेन्डा सतहमा आउँदा नेसपाका कार्यकर्तामा चासो थियो। केन्द्रीय समिति बैठकले के निर्णय गर्ला? तर बैठकले निराश बनाएन। बैठकले बृहत् समाजवादी केन्द्र निर्माणका लागि नेकपा माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ध्रुवीकरण गर्दै जाने एजेन्डा पारित गरेको थियो।

नेसपाका एक कार्यकर्ता भन्छन्, ‘पार्टी एकता प्रक्रियाले हामीलाई उत्साहित बनाएको छ। ढिलोछिटो विचार मिल्ने पार्टीसँग एकतामा जानैपर्छ। वैकल्पिक राजनीतिको हाम्रो यात्रा टुंगिएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =