‘चुरे संरक्षणबिना जलस्रोत र विपद् व्यवस्थापन कार्य अधुरै रहन्छन्’

हिमाल प्रेस १० मंसिर २०८० १९:५२
14
SHARES
‘चुरे संरक्षणबिना जलस्रोत र विपद् व्यवस्थापन कार्य अधुरै रहन्छन्’

जनकपुरधाम- चुरे क्षेत्रको संरक्षणबिना मधेश प्रदेशमा जलस्रोत व्यवस्थापन र विपद् प्रतिकार्यसम्बन्धी कार्य अधुरा रहने भन्दै सोहीअनुसार योजना तथा रणनीति बनाउन यहाँका सरोकारवालाले सम्बद्ध अधिकारीहरुको ध्यानाकर्षण गराएका छन्।

जल तथा ऊर्जा आयोगको सचिवालय, काठमाडौँले आज (आइतबार) जनकपुरधाममा आयोजना गरेको ‘कमला नदी बेसिनको जलस्रोत व्यवस्थापनसम्बन्धी परामर्श गोष्ठी’मा नदी प्रभावित क्षेत्रका जनप्रतिनिधिलगायतले अव्यवस्थित चुरे दोहन नै मधेशमा विपद्को प्रमुख कारण भएकाले त्यसलाई आधार बनाएर तत्काल आवश्यक कदम चाल्न आग्रह गरे।

कार्यक्रममा मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरीले अव्यवस्थित मानवीय क्रियाकलापले चुरेको परिस्थिति प्रणाली नै खलबलिएकाले मधेशमा एकपछि अर्को स‌ंकट आइरहेको धारणा राखे। त्यही कारण मधेशमा पानीको सतह घट्दै गएको र बाढी, डुबानलगायत समस्याले नागरिकको जनजीवन समस्याग्रस्त रहेको उनले बताएश्र

‘अन्नभण्डारको रुपमा रहेको मधेशमा कृषि क्षेत्र तहसनहसको अवस्थामा छ। यसमा करिब ७० प्रतिशत समस्या चुरे र महाभारत दोहनका कारण निम्तिएको हो। यस्तै अवस्था रहे आगामी १०र१५ वर्षमा मधेश मरुभूमिमा परिणत हुनेछ,’ उपाध्यक्ष चौधरीले भने, ‘त्यसकारण हामी सबै चुरेकोको संरक्षणविना अन्य गतिविधि प्रभावकारी हुँदैनन् भन्नेमा प्रष्ट हुनुपर्छ। यसर्थ म चुरे संरक्षण ऐन बनाएर एकीकृत रूपमा कार्य गर्न तीनै तहका सरकार र विकास साझेदार संस्थाहरुलाई आग्रह गर्दछु।’

आयोगका सचिव इञ्जिनियर सुशीलचन्द्र तिवारीले नेपाल सरकारले कमला नदी बेसिनको जलस्रोत उपयोग रणनीति बनाएर नदी बेसिन तहमा जलस्रोत विकासको दिगो व्यवस्थापनका क्रियाकलाप सञ्चालन गर्न लागेको जानकारी दिए। उनले चुरे संरक्षण नै मधेशका नदीको नियन्त्रण र पानीको व्यवस्थापन गर्न प्रभावकारी तथा उपयुक्त उपाय हुनेमा आयोग र सम्बद्ध पक्ष स्पष्ट पारे।

त्यसैगरी मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोककुमार साहले कमला नदी क्षेत्रमा विभिन्न कार्यालय, आयोजना र संस्थाले काम गरिरहे पनि समन्वयात्मक अभाव देखिएकाले तीनै तहका सरकार र निकायबीच समन्वयका लागि एकीकृत संयन्त्र बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा कमला नदी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिले स्थानीय नागरिक तथा प्रतिनिधिहरूसँग बृहत् समन्वय र समस्याको प्राथमिकीकरण गरी काम गर्न आग्रह गरे।

नेपालस्थित अस्ट्रेलियन दूतावासका विकास सहयोग प्रमुख कविथा कास्यनाथनले कमला नदी बेसिन जलस्रोत व्यवस्थापन तथा विकास रणनीतिका प्राथमिक क्षेत्रमा सहकार्य गर्न आफूहरू तयार रहेको धारणा राखे। -रासस

प्रकाशित: १० मंसिर २०८० १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =