रामग्राममा भेटियो प्राचीन विहार र पोखरी

हिमाल प्रेस १० मंसिर २०८० १८:३१
26
SHARES
रामग्राममा भेटियो प्राचीन विहार र पोखरी

लुम्बिनी- गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी (पश्चिम) रामग्राममा भग्नावशेष विहारका पर्खाल र प्राचीन पोखरीको संरचना फेला परेको छ। पुरातत्व विभाग, लुम्बिनी विकास कोष, युनेस्को र दुर्हाम विश्वविद्यालयका विज्ञहरूको टोलीले करिब एक महिनादेखि गरेको उत्खनबाट प्राचिन विहारका भग्नावशेष र पोखरी भेटिएको हो।

पुरातत्व विभाग, लुम्बिनी विकास कोष र दुर्हाम विश्वविद्यालयका विज्ञहरूको टोलीले नोभेम्बर १ तारिखदेखि रामग्राम स्तुप उत्खनन र पण्डितपुरमा भौगर्भिक सर्भे गरेको छ। रामग्राममा प्राचीन विहारका भग्नावशेष पर्खाल, पोखरी र अन्य प्राचीन सामग्रीहरू फेला परेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए। उनले रामग्राम स्तुपको बारेमा हजार मिटरभन्दा बाहिरीको क्षेत्रमा पनि अनुसन्धान गर्नुपर्ने बताए। उनले पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेले जमिनमुनि प्राचीन सहर रहेको देखिएको बताए। उनले कोलिय राज्यको सहरका रूपमा पण्डितपुर हुन सक्ने आधारहरू देखा परेको बताए।

आइतबार रामग्राम स्तुप र पण्डितपुरमा गरिएको भौगर्भिक सर्भेबारे जनप्रतिनिधि र सरोकारवालाहरूलाई जानकारी समेत दिइएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई सिद्धिचरणले रामग्राम स्तुपमा गरिएको भोगर्भिक (जियोफिजिक्स ) सर्भेमा देखिएको संरचनालाई अहिले गरिएको उत्खननले पुष्टि गरेको बताए। उनले विहारका भग्नावशेष पर्खाल, पोखरी फेला परेकाले रामग्राम स्तुपको पुरातात्विक महत्व थप उजागर भएको बताउँदै लुम्बिनी विकास कोषले रामग्राम स्तुपको विकासलाई गति दिने गरी योजना बनाएको समेत बताए। उनले रामग्राम स्तुप क्षेत्र कोषकै कार्यक्षेत्रभित्रमा पर्ने भएकाले यसको व्यवस्थापनका सन्दर्भमा स्थानीय स्तरमा उठेका सवाललाई सम्बोधन गर्ने समेत प्रतिबद्धता जनाए।

उक्त कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले बुद्धको अस्तुधातु रहेको रामग्राममा सरकारले प्राथमिकताका साथ उत्खनन र संरक्षणको काम नगरेको गुनासो गरे। उनले अहिले भएको उत्खननबाट फेला परेका प्राचीन अवशेष र संरचनाले उत्साही बनाएको बताउँदै यस्ता उत्खननको मात्रा बढाउन समेत आग्रह गरे।

उत्खनन र भौगर्भिक सर्भेका बारेमा दुर्गाह विश्वविद्यालयका प्रा. डा. रविन कनिङघमले रामग्राम स्तुप निकै महत्त्वपूर्ण प्राचीन सम्पदा भएकाले यहाँको महत्त्व पुष्टिका लागि उत्खननले ठूलो सहयोग गर्ने बताए। उनले आफूहरू प्राविधिकरूपमा रामग्राम स्तुपका प्राचीन संरचनाहरू पत्ता लगाउने भए पनि यसको संरक्षण स्थानीयले नै गर्नुपर्ने बताए।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले रामग्राम स्तुपको महत्त्वलाई झल्काउनका लागि यसको उत्खनन र संरक्षणलाई प्राथिमकता दिनुपर्ने बताए। रामग्राममा भेटिएका पुरातात्विक भग्नावशेष र वस्तुहरूको कालअवधी (समय) पत्ता लगाउनका लागि यो पटकको उत्खननले सहयोग गर्ने लुम्बिनी विकास कोषका वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेतीले बताए।

रामग्राम स्तुप गौतबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो। रामग्राममा १९९७ सालमा छोटो अवधिको र सन् १९९८ देखि २००४ सम्म अलि लामो गरी दुई चरण मात्रै उत्खनन भएको थियो। त्यसयता अहिले सन् २०२३ नोभेम्बर १ तारिखदेखि ३० सम्मको समय राखेर उत्खनन गरिएको हो।

प्रकाशित: १० मंसिर २०८० १८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =