ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

हिमाल प्रेस १० मंसिर २०८० ११:११
2
SHARE
ठेक्का रद्दको चेतावनीपछि काममा फर्किए ठेकेदार

बागलुङ- मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्ड निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायी लामो समयपछि काममा फर्किएको छ।

भारत सिद्धिसाई ठेक्का रद्दको चेतावनीपछि काममा फर्किएको मध्यपहाडी पुष्पलाल लोकमार्ग पर्वतका सूचना अधिकारी इन्जिनियर पवन सुवेदीले जानकारी दिएका हुन्।‍

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत बागलुङमा पर्ने एक सय ४२ किलोमिटर सडकमध्ये बागलुङ सदरमुकाम खण्डमा मात्रै सडक कालोपत्र गर्न बाँकी रहेको छ। बागलुङबाट बिहुँसम्मको २५ किलोमिटर सडक दुई भागमा बाँडेर ठेक्का लगाइएको थियो।

बागलुङ बजारबाट अछेते हुँदै बिहुँ टापुसम्मको १३ किलोमिटर र बिहुबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडक कालोपत्रका लागि आठ वर्षअघि ठेक्का लगाइएको भए पनि अहिलेसम्म कालोपत्र सम्पन्न हुन सकेको छैन।

बिहुँबाट घोडाँबाधेसम्मको १२ किलोमिटर सडकको जिम्मा पाएको सूर्य कन्ट्रक्सन काममा नफर्केपछि ठेक्का रद्द गरिएको सुवेदीले जानकारी दिए।

‘बिहुँबाट घोडाबाँधेसम्मको ठेक्का सम्झौता रद्द भइसक्यो, बागलुङ बजारबाट बिहुँसम्मको १३ किमी सडकको निर्माणसमेत अलपत्र भएपछि ठेक्का रद्दका लागि सूचना प्रकाशित गरेका थियौँ’,सूचना अधिकारी सुवेदीले भने,‘तल्लो खण्डमा अन्तिम चेतवानीपछि निर्माण व्यवसायी काममा फर्केको एक महिना भयो, अहिले अछेते बजारबाट बिहुँतर्फको सडकमा कालोपत्रका लागि ग्राभेल गर्ने र बाँकी रहेको स्थानमा पर्खाल लगाउने काम भइरहेको छ।’

काममा फर्केपछि एकपटक अवसर दिन लागिएको जनाउँदै उनले यसपटक अछेते बजारबाट साढे चार किमीमाथि बिहुँसम्म कालोपत्र गर्ने गरी काम भइरहेको बताए।

उक्त निर्माण व्यवसायीले सदरमुकाबाट अछेते बजारसम्म पहिल्यै कालोपत्र गरिसकेको छ। निर्माण कम्पनी काममा फर्केपछि अहिले उक्त खण्डमा कालोपत्र सम्पन्न हुनेमा स्थानीय आशावादी छन्। रासस

प्रकाशित: १० मंसिर २०८० ११:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =