संकटमोचक बनेका कतारी प्रधानमन्त्री शेख मोहम्मद

हिमाल प्रेस ९ मंसिर २०८० ८:०५
54
SHARES
संकटमोचक बनेका कतारी प्रधानमन्त्री शेख मोहम्मद

काठमाडौँ- हमासले दक्षिण इजरायलमा हमला गरेको केही घण्टा मात्र भएको थियो, कतारी प्रधानमन्त्रीले आफ्नो काम सुरु गरिहाले।

खाडीकै सबैभन्दा सानो देशका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुदलरहमान अल थानीले एउटा टोली बनाए। जसको काँधमा जिम्मेवारी थियो, अमेरिकी संयन्त्रसँग नजिक रहने।

कतार किन सक्रिय बन्यो? किनभने कतार थोरै देशमध्येको एक हो, जसको सम्बन्ध हाल चल्दै गरेको लडाइँसँग जोडिएका सबै पक्षसँग छ। अमेरिका र इजरायलसँग मात्र होइन, कतार हमास अनि हमासलाई सघाउने इरानसँग पनि नजिक छ।

शेख मोहम्मद कतारको विदेश मन्त्रालय पनि सम्हाल्छन्। विदेशमन्त्रीको हैसियतमा उनले तत्काल अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरे। हमला भएको ४८ घण्टाभित्र उनले इजरायली जासुसी संयन्त्र मोसादका प्रमुख डेभिड बारनिया, हमासका राजनीतिक विभाग प्रमुख इस्माइल हानिया र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दोलाहियानसँग वार्ता गरे।

शेख मोहम्मदको सुरुवाती सक्रियताको मूल उद्देश्य थियो, सुरु हुनै लागेको संकट राप नियन्त्रणमा आओस्। किनभने हमासको हमलापछि इजराय बलियो प्रत्याक्रमणमा उत्रिन्छ भन्ने प्रस्ट थियो।

नउत्रियोस् पनि किन, जबकि यो हमला इजरायल स्थापनापछिकै सबैभन्दा घातक थियो। इजरायल कुनै हालतमा हमास वा अरु पक्षसँग वार्ता गर्न तयार थिएन। बरु हमासले बनाएका बन्धकलाई रिहा गरिनुपर्ने माग राखिरहेको थियो।

हमासको राजनीतिक फाँटका धेरैजसो नेता कतारमा छन्। निर्वासित जीवन बिताइरहेका छन्। सामान्यतयाः उनीहरू हमासका लडाकु संगठनबाट आफूलाई टाढा राख्ने प्रयास गर्छन्। यी नेतासँग शेख मोहम्मदले सम्पर्क गरे।

त्यसक्रममा हमासका नेताहरुले आफ्ना लडाकुहरुको उद्देश्य त्यत्तिका धेरैलाई बन्धक बनाउने नरहेको जिकिर गरे। उनीहरुको कुरा सुनेपछि शेख मोहम्मदले भने, ‘यो तर्क त्यतिबेला मात्र पत्याउँछौँ, जतिबेला बन्धकहरु रिहा हुन्छन्।’ हमासका नेताहरुको जवाफ थियो, ‘यसो गर्न जटिल छ।’

हमासका नेताहरुले भनेझैँ शेख मोहम्मद पनि जटिल परिस्थितिमा छन्। मोसादका प्रमुख र अमेरिकी जासुस संस्था सीआईएका प्रमुख बिल बन्र्ससँग लगातार नजिक रही बन्धक रिहा गराउने कार्यमा सक्रिय छन्। ४३ वर्षीय शेख मोहम्मद कम बोल्छन्। उसो त उनको कूटनीतिज्ञ प्रयासले सबैकुरा बोलिरहेकै छ।

जारी राखिएको कूटनीतिक प्रयासको फल मान्नुपर्छ, गत बुधबार इजरायल र हमासबीच सहमति भयो। जस अनुसार हमासले आफूले बन्धक बनाएका २४० मध्येबाट ५० महिला र बालबालिका छाड्न तयार भयो। उता इजरायलले शुक्रबारबाट चार दिनसम्मका लागि गाजामाथिको आक्रमण रोक्न सहमत भएको छ। इजरायलले यो चार दिनमा गाजाभित्र तेल र राहत सामग्री छिराउन दिने बताएको छ। अनि इजरायली कारागारमा रहेका एक सय ५० महिला तथा बालबालिकालाई पनि रिहा गर्ने बताइएको छ।

कतार अहिले मात्र होइन, विगत १० वर्षदेखि हमास र इजरायलबीचको पुल बन्दै आएको छ। लडाइँ सुरु हुनुअघि प्रत्येक महिना गाजा क्षेत्रमा करोडौँ अमेरिकी डलर बराबरको राहत पठाइरहेको थियो। हमासले हमला गरेको दुई साताअघि मात्र शेख मोहम्मदले मोसाद प्रमुख बारनियालाई दोहामा भेटेका थिए। गाजामा आर्थिक अवस्था कसरी सुधार गर्ने भन्नेबारे छलफल गर्न शेख मोहम्मदले बारनियालाई दोहा बोलाएका थिए। गाजामा रहेका प्यालेस्टिनीबारे चिन्तित शेख मोहम्मद हमासले एक्कासी हमला गर्दा स्तब्ध हुने नै भए।

शेख मोहम्मदलाई कतारी शाही परिवारभित्र कनिष्ठ सदस्य मानिन्छ। परिवारभित्र लो प्रोफाइलमा रहे पनि संकट समाधानमा परिपक्व मानिन्छन्। उनी सन् २०१६ मा विदेशमन्त्रीका रुपमा नियुक्त भएका थिए। अर्थशास्त्रका विद्यार्थी उनी विदेशमन्त्री बनेको १८ महिनापछि कतार चार छिमेकीको घेराबन्दीमा परेको थियो। त्यसबेला साउदी अरब र संयुक्त अरब इमिरेट्स ९यूएई० लगायतले कतारमाथि नाकाबन्दी लगाएका थिए।

नाकाबन्दी लगाउँदै गर्दा साउदी, यूएईका साथै बहराइन र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध निस्क्रिय बनाएका थिए। कतारले खाडीमा आतंकवादलाई प्रश्रय दिएको र इरानसँग लहसिएको ती चार देशको आरोप थियो। के भनिन्छ भने ती चार देशलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ थियो।

नजिकका चार देशले नाकाबन्दी लगाएपछि कतारी आत्तिने त भइहाले। देशको भविष्य के होला भन्ने चिन्ता पनि उनीहरुमा थियो। त्यस्तो कूटनीतिक संकट अनुभव नभएका विदेशमन्त्रीले पार लगाउन सक्छन्रु उनीहरुले शेख मोहम्मदको क्षमतामाथि प्रश्न गरिरहेको थिए। उनलाई शेख हमाद बिन जसिम अल थानीसँग पनि तुलना गरियो। जो लामो समय कतारको प्रधानमन्त्री तथा विदेशमन्त्री थिए।

‘त्यसबेलाको संकट हल गर्न हमाद जस्ता कूटनीतिज्ञको आवश्यकता रहेको पनि भनियो,’ दोहामा रहेको थिंकट्या मिडल इस्ट काउन्सिलका निर्देशक तारिक युसुफ सम्झिन्छन्, ‘तर केही महिनाभित्रै शेख मोहम्मदले आफ्नो क्षमता प्रदर्शन गर्न थाले। त्यसपछि त उनको प्रशंसा हुन सुरु भइहाल्यो। खासमा कतारलाई शेख मोहम्मद जस्तै युवा नेताको खाँचो थियो।’

शेख हमाद सन् १९९२ देखि २०१३ सम्म विदेशमन्त्रीको पदमा रहे। सन् २००७ मा त उनलाई प्रधानमन्त्रीमा पनि नियुक्त गरियो। उनकै पालामा हो, कतार ग्यास बिक्री गर्ने देशका रुपमा स्थापित भएको। सधैँ खाडीका अरु ठूला देशको छायाँमा पर्ने गरेको कतारलाई शेख हमादले खाडी राजनीतिको खेलाडीका रुपमा रुपान्तरण गरे। कतारले नयाँ रुप ग्रहण गर्दा उसका छिमेकी नचिढिएका होइनन्।

सन् २०१३ मा भने कतारले प्रधानमन्त्री फे¥यो। कतारमा राष्ट्रप्रमुख रहेका आफ्ना पिताले शासन सत्ता शेख तमिम बिन हमाद अल थानीलाई सुम्पिएपछि प्रधानमन्त्रीबाट शेख हमादले राजीनामा दिएका थिए। कतारको राजगद्दी अब शेख तमिमको काँधमा पुगेपछि उनले प्रधानमन्त्री अब्दुल्लाह बिन नासेरलाई बनाए। रोचक त के छ भने कतारको नयाँ इमिर बनेका शेख तमिम अरु कोही नभएर प्रधानमन्त्रीको पदबाट बाहिरिएका शेख हमादका भाई थिए।

शेख हमाद प्रधानमन्त्री र विदेशमन्त्रीबाट बिदा हुँदै गर्दा शेख मोहम्मद सरकारी संयन्त्रमा छिर्दै थिए। सुरुमा उनलाई दिइएको जिम्मेवारी थियो, विदेश सहायकमन्त्री। त्यसबेला कताी राष्ट्रप्रमुख शेख तमिम कतारी कूटनीतिक क्षमताको विस्तार चाहन्थे। यसका लागि वासिङ्टनसँगको सम्बन्ध झन् बलियो बनाउन आवश्यक थियो। यसो गर्न शेख तमिमले शेख मोहम्मदलाई खटाए। यहीबीचमा कतारले आफूलाई अन्तर्राष्ट्रिय समस्या समाधानकर्ताका रुपमा उभ्याउन थाल्यो। यो कार्य आजको दिनमा जारी छ।

कतार आजको दिनमा जहाँ छ, उसको परिचय जे जस्तो छ, यसो हुनुमा शेख मोहम्मदको भूमिका अहम छ। उनले कतारी कूटनीतिमा कतार लगानी कोषलाई मिसाएका छन्। यो कोषसँग झन्डै चार सय ५० अर्ब अमेरिकी डलर छ। कोषले लगानी मात्र गर्दैन, विकासिल देशहरुलाई दान पनि गर्छ।

‘उनी खासमा ट्रबलसुटर हुन्। उनलाई कहाँ खतरा छ, कहाँ अवसर छ, सबै थाहा छ। यत्तिका वर्ष प्रधानमन्त्री रहेपछि उनलाई कतारको क्षमता र सीमितताबारे जानकारी छ,’ एक पश्चिमी कूटनीतिज्ञ भन्छन्।

सन् २०२१ को सुरुवातमा चार देशले कतारमाथि लगाएको नाकाबन्दी हटाए। त्यसको केही समयपछि कतारले विश्वकप आयोजन गर्‍यो। दोहा र वरपरका सहरमा विश्वकप सुरु हुनुअघि विभिन्न बहानामा कतारको खुबै आलोचना भयो।

हरेक आलोचनासँग शेख मोहम्मद लडे। अफगानिस्तानबाट अमेरिकी सेनालाई फर्काउन तालिबानसँग आवश्यक वार्ता र समन्वयको नेतृत्व पनि उनी आफैँले गरे। अमेरिका र इरानबीच कैदी साटासाट गर्ने वातावरण पनि उनकै कारण सिर्जना भयो। कतिसम्म भने उनले वासिङ्टनसँग भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोको वार्ता पनि गराए।

शेख मोहम्मद गत मार्चमा मात्र कतारको प्रधानमन्त्री बनेका हुन्। उनलाई प्रधानमन्त्रीका रुपमा छानिँदा प्रश्न उठेकै हुन्, जसरी उनलाई विदेश मन्त्री नियुक्त गरिँदा उठेका थिए। फरक आर्थिक एजेण्डा बोकेर अघि बढिरहेको कतारका घरेलु मामलामा उनले समय दिन सक्छन् कि सक्दैनन्, प्रश्न यो पनि थियो। त्यसमाथि बढ्दो कूटनीतिक चुनौती सामना गर्ने उनको क्षमता छ वा छैन, चासो त्यता पनि थियो। तर यो बीचमा उनले कतारको कूटनीति मज्जाले हाँकेका छन्।

उसो त उनी आउँदो समयमा थप प्रश्नले घेरिने छन्। जब गाजामा हालको लडाइँको अन्त्य हुनेछ, तब उनीलाई सोधिनेछ?, हमाससँग निकट सम्बन्ध किन?, हमासलाई राजनीतिक कार्यालय खोल्न दोहामा ठाउँ किन दिएको?

‘मध्यस्थताकर्ताको भूमिका निर्वाह गर्ने भएकाले खाडीसँगै विश्व राजनीतिमा कतारको महत्त्व गहिरो छ। तर सँगसँगै कतारमाथि प्रश्न पनि उठ्नेवाला छन्। जसले गर्दा कतार अप्ठ्यारोमा पर्नसक्छ। राजनीतिक रुपमा कतार एक्सपोज हुनसक्छ। जसको नतिजालाई नजरअन्दाज गर्न सकिँदैन,’ युसुफ भन्छन्।

प्रकाशित: ९ मंसिर २०८० ८:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =