नेपाल दक्षिण एसियाका लागि ‘पानीको ब्याट्री’!

हिमाल प्रेस ७ मंसिर २०८० २१:१६
8
SHARES
नेपाल दक्षिण एसियाका लागि ‘पानीको ब्याट्री’!

ललितपुर– नेपालले दिगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्। बिहीबार जलविद्युतको दिगो विकाससम्बन्धी क्षेत्रीय सम्मेलनका वक्ताहरूले नेपाल पानीको खानी भएकाले यसको दिगो उपयोगमा ध्यान दिनुपर्ने बताएका हुन्।

सम्मेलनमा हाइड्रोपावर सस्टेनेबिलिटी एलायन्स (एचएसए)का उपकार्यकारी निर्देशक एलेन किलाजियानले नेपालमा ‘हाइड्रोपावर सस्टेनेबिलिटी स्ट्याण्डर्ड’लागू हुनुपर्ने बताए। उनले भने, ‘नेपालले दिगो र उत्तरदायी ढंगले जलस्रोतको उपयोग गरेर दक्षिण एसियाका लागि ‘पानीको ब्याट्री’ बन्ने दायित्व पूरा गर्नुपर्छ।’

किलाजियानले इन्डोनेसियाको बालीमा ३१ अक्टोबरदेखि २ नोभेम्बर २०२३ सम्म आयोजित विश्व जलविद्युत् कंग्रेसका बारेमा जानकारी दिँदै विश्वव्यापी मापदण्डको पालना गर्दै नेपालको जलविद्युत् विकास पहलमा सहयोग पुर्‍याउन एचएसए नेपाल आएको बताए। उनले शून्य उत्सर्जन लक्ष्य हासिल गर्दै जलविद्युत् विकासमा ध्यान केन्द्रित गर्नु महत्त्वपूर्ण पक्ष रहेको बताए। उपकार्यकारी निर्देशक किलाजियानले भने, ‘जलविद्युतको विकासले मात्र पुग्दैन भन्ने विश्वव्यापी सहमति छ। त्यसकारण यसलाई दीर्घकालीन रूपमा पनि दिगो बनाउन आवश्यक रहेको छ।’

सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् विकासका लागि सार्वजनिक–निजी साझेदारीका लागि सरकार थप खुला हुनुपर्नेमा जोड दिए। उनले ऊर्जामन्त्रीले संसद्को तल्लो सदनमा पेस गरेको विद्युत् विधेयक, २०२३ को मस्यौदा कार्यान्वयन हुनुअघि संशोधन गर्नुपर्ने आवश्यकता औँल्याए।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा जलविद्युत् विकासका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको र यसमा सार्वजनिक निकाय र निजी क्षेत्र दुवैले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले बजारको खोजी गर्दा सरोकारवालाले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा समान रूपमा ध्यान दिनुपर्नेमा जोड दिए।

ऊर्जामन्त्री शक्ति बस्नेतले दिगो विकासका लागि जलविद्युतले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकालाई आफूले बुझेको उल्लेख गरे। उनले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको योजना रहेको बताए। मन्त्री बस्नेतले केही प्राथमिकता प्राप्त आयोजनामा दिगो लगानी आकर्षित गर्न सरकारले सक्दो प्रयास गरिरहेको पनि बताए।

अन्तर्राष्ट्रिय जलविद्युत् संघका उपाध्यक्ष सुशील पोखरेलले इन्डोनेसियाको बालीमा सम्पन्न विश्व जलविद्युत् सम्मेलनले नेपाललाई आफ्नो उपलब्धि विश्वस्तरमा प्रदर्शन गर्ने अवसर प्रदान गरेको बताए। अन्तर्राष्ट्रिय सेमिनार र सम्मेलनहरूमा नेपाली प्रतिनिधिहरूले लगानी आकर्षित गर्ने गरी हाम्रो सफलताका कथाहरू सुनाउनुपर्ने पोखरेलको भनाइ छ। उनले लगानीकर्ताका लागि प्रभावकारी एकद्वार नीतिले देशलाई फाइदा पुग्ने समय आएको पनि उल्लेख गरे।

विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले अहिले प्रचलित आम धारणाविपरीत नेपालमा बढी परिमाणमा विद्युत् उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए। उनले २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसमध्ये १५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको तर कहाँ निर्यात गर्ने र कसरी गर्ने भन्ने प्रश्न यथावत् रहेको बताए।

कार्यक्रममा नेपाल हाइड्रोपावर एसोसिएसनका अध्यक्ष अरुण रजौरियाले जलवायु अनुकूल पूर्वाधार विकास र स्वच्छ ऊर्जा दिगो विकासको लागि समग्र रूपमा आधारभूत आवश्यकता रहेको बताए।

सम्मेलनको उद्घाटन सत्रमा इपान, एचएसए र आईएचएबीच सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सहकार्य जलविद्युतको माध्यमबाट दिगो विकासको लागि भएको बताइएको छ। समझदारीपत्रमा टिम भेन्चरका संस्थापक तेन्जिन गोन्सार र इन्टरनेसनल हाइड्रोपावर एसोसिएसनका उपाध्यक्ष सुशील पोखरेलले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ७ मंसिर २०८० २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =