भैरहवामा सुरु भयो छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव

हिमाल प्रेस ६ मंसिर २०८० १८:०२
272
SHARES
भैरहवामा सुरु भयो छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव

लुम्बिनी- भैरहवामा छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव-२०८० बुधबारदेखि सुरु भएको छ। चेम्बर अफ कमर्स रुपन्देहीको आयोजनामा ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो।

महोत्सवको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गरे। मन्त्री रिजालले मुलुक बनाउन उद्योगी-व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले भने, ‘तपाईंहरू निराश हुनुपर्ने आवश्यकता छैन। बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउनुपर्छ भन्ने तपाईंहरूको भावना छ, हिजोको प्रधानमन्त्रीज्यूको कुराबाट अवगत हुनुभएको होला, निराश हुनुपर्ने छैन।’

मुलुक आर्थिक संकटमा छ भनिरहँदा उद्योग-व्यापारमा लगानी गर्ने मानिसहरूमा अलि नैराश्यता उत्पन्न भएको आफूले महसुस गरेको उनको भनाइ छ। कोभिडपछि नेपालमा मात्र नभई संसारभरि यो समस्या आएको मन्त्री रिजालले बताए। तर, अन्य मुलुकका उद्योगी तथा नेतृत्व तहमा बसेका व्यक्तिहरू डटेर सामना गर्नुपर्ने मान्यता राखे पनि नेपालमा निराशाका कुरा मात्र हुने गरेको उनले बताए।

‘उद्योगीहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु। तपाईंहरूको अभिभावकत्व सरकारले लिनेछ र भविष्यमा आउने समस्याको सामना गर्न नेपाल सरकार तपाईंहरूको साथमा रहनेछ। तपाईं हाम्रो संयुक्त पहलले नेपाल सरकारलाई झकझकाउन सजिलो पर्नेछ,’ उनले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा नआउँदा औद्योगिकीकरण र व्यापार विविधीकरणमा केही असहजता भएको महसुस भएको उनले बताए। उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनको लागि सरकार प्रयासरत छ। मेरो पनि पहल रहने विश्वास दिलाउन चाहन्छु।’ आफ्नै मुलुकमा उत्पादन हुन सक्ने वस्तु पनि ठूलो मात्रामा आयात भइरहेको तथ्यांकले देखाएको मन्त्री रिजालले बताए। उनले उद्योगी-व्यवसायीको समस्या समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको दाबी गरे।

त्यस्तै संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले मुलुकको विकासका शिक्षाको कुरा उठाउन जरुरी रहेको बताइन्। उनले समग्र विकासका लागि शिक्षाले प्रेरित गर्नेमा जोड दिइन्। मन्त्री साहले अर्थतन्त्र चलायमान बनाउन तथा हरेक क्षेत्रमा रोडम्याप बनाउन आवश्यक रहेको बताइन्।

लुम्बिनी प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले प्रकृतिले नेपाललाई पर्यटनको लागि बनाइदिएको राष्ट्र भएको बताए। उनले नेपालमा पर्यटनको माध्यमबाट आर्थिक समृद्धि ल्याउन सकिने बताए।

भारत उत्तरप्रदेश विधानसभा नौतनवा (महराजगंज) का विधायक ऋषि त्रिपाठीले नेपाल भारतबीच भावनात्मक सम्बन्ध रहेको बताए। उनले दुई देशबीचको संस्कृतिमा खासै फरक नरहेको बताए।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा नआए आमरण अनशनमा बस्ने चेतावनी दिए। उनले लुम्बिनीको विकासले नेपालको विकास हुने बताए।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय यथाशिघ्र पूर्ण सञ्चालनमा ल्याउनुपर्ने बताए। उनले एकआपसमा सहकार्य गरेर अघि बढ्नुपर्ने बताए।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले देशको वर्तमान कहालीलाग्दो अवस्था आउनुको कारणबारे समीक्षा हुन आवश्यक रहेको बताए।

उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक दर्पण श्रेष्ठले मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान गर्न सहयोग पुर्‍याउने बताए। उनले महोत्सवमा झण्डै ३ लाख दर्शकले अवलोकन गर्ने र २५ देखि ३० करोड मूल्य बराबरको कारोबार हुने विश्वास लिइएको बताए।

प्रकाशित: ६ मंसिर २०८० १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =