रंगभेदविरुद्ध एकता दिवस मनाउन माग राख्दै सीके राउतले संसद्‌मा दर्ता गराए संकल्प प्रस्ताव

हिमाल प्रेस ६ मंसिर २०८० १७:०७
14
SHARES
रंगभेदविरुद्ध एकता दिवस मनाउन माग राख्दै सीके राउतले संसद्‌मा दर्ता गराए संकल्प प्रस्ताव

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन्। बुधबार उनले मंसिर १० गते रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

‘रंगभेद गरिनुमा रंगभेद के हो के होइन, आफूले रंगभेद गरिरहेको छु भनेर आमनागरिकमा बोध नहुनु प्रमुख कारण रहेको हुनाले मंसिर १० लाई नेपाल सरकारबाट ‘रंगभेदविरूद्ध एकता दिवस’ घोषणा गरी राष्ट्रव्यापी रूपमा मनाउन र संघीय संसद्‌बाट सामूहिक रूपमा रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनका लागि यो संकल्प प्रस्ताव पेस गरेको छु’, संकल्प प्रस्तावमा भनिएको छ।

हिमाल, पहाड तथा मधेशका विभिन्न समुदायहरूमाथि पटक पटक राज्य पक्ष र शासक वर्गबाट नश्ल, रंग र वर्णको आधारमा विभेद हुँदै आएको प्रस्तावमा भनिएको छ। नश्ल, रंग र वर्णको आधारमा उनीहरूविरुद्ध अनेकौं अपमानजनक शब्दहरू प्रयोग गरिनुका साथै दैनिक व्यवहारदेखि लिएर राज्यका प्रक्रियाहरूमासमेत उनीहरू विभेदको शिकार हुनु परेको प्रस्तावमा उल्लेख छ।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद १२ मा संकल्प प्रस्तावसम्बन्धी व्यवस्था छ। नियम ८० मा संकल्प प्रस्ताव दर्ता भएको सात दिनपछिको कुनै पनि बैठकमा छलफल गर्न सकिने व्यवस्था छ। संकल्प प्रस्ताव पारित भएमा मन्त्रिपरिषद् र सम्बन्धित मन्त्रीलाई कार्यान्वयनका लागि पठाइनेछ।

प्रकाशित: ६ मंसिर २०८० १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 13 =