प्रहरीले भन्याे : ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

हिमाल प्रेस ६ मंसिर २०८० ११:५८
6
SHARES
प्रहरीले भन्याे : ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखा- दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन तस्करीमा संलग्न १२ जना अझै फरार छन्। प्रहरीले उनीहरू फरार रहेकाले खोजी भइरहेको जनाएको हो।

जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए।

सुन तस्करीमा संलग्न व्यक्तिको बयान र प्रहरी अनुसन्धानबाट लामाबगरको फलाक नाका हुँदै छ पटकमा ३३ किलो सुन भित्रिएको खुल्न आएको उनले बताए।

प्रहरी अनुसन्धानका क्रममा सुन तस्करको गिरोहले चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखाको लामाबगरको फलाक नाकाबाट डोरीमा सुन बाँधेर खोला पार गरी तस्करी गरेका थिए।

तिब्बतबाट अवैधरूपमा सुन नेपाल भित्र्याई काठमाडौँ लगेर बिक्री गरेपछि पुनः त्यहाँबाट डलरलाई शिलबन्दी गरी प्याक गरेर लामाबगरको फलाकबाट डोरीमा बाँधेर खोला तारी चिनियाँ नागरिकलाई भुक्तानी गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रामकृष्ण पाठकले बताए।

सो समूहले एक वर्षको अवधिमा सात लाख ६० हजार अमेरिकी डलर अर्थात् १० करोड ११ लाख १८ हजार रुपैयाँ डोरीमा बाँधेर खोला तारी चिनियाँलाई भुक्तानी गरेको देखिएको छ।

०७९ मंसिरदेखि कात्तिक ८ गतेसम्म एउटै समूहले छपटक गरी ३३ किलो सुन भित्र्याएको अनुसन्धानबाट खुलेको छ। दोलखाका प्रहरी प्रमुख खड्का भन्छन्,‘१२ जना अझै फरार छन्। उनीहरू पक्राउ परेपछि तस्करीमा संलग्न व्यक्ति थपिन सक्छन्। उनीहरूलाई पूरक अभियोग लगाइने छ।’

प्रहरीले लामाबगरको फलाक नाकाबाट भित्रिएको ३३ किलो सुनमध्ये ११ किलो सुन दोलखाबाट र अनुसन्धानका क्रममा पाँच सय ३२ ग्राम सुनका गहना बरामद गरेको थियो। सो सुनको मूल्य १० करोड ६८ लाख ६८ हजार सात सय ६१ रुपैयाँ बराबर रहेको छ।

प्रहरीले सुन तस्करीमा संलग्न व्यक्तिबाट १८ लाख ३३ हजार पाँच सय रुपैयाँ नगद बरामद गरेको थियो भने उनीहरूको नाममा विभिन्न बैंकमा रहेको ३१ लाख ७४ हजार छ सय ६५ रुपैयाँ रोक्का राखेको छ।

दोलखा प्रहरीले सुन तस्करीमा संलग्न मुख्य नाइके चिनियाँ नागरिक ग्याङ, आकर लामासहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। तीमध्ये एकजना बालकलाई हाजिर जमानीमा रिहा गरेको थियो। बाँकी १४ जनालाई हिरासतमा राखी करिब दुई महिना अनुसन्धान गरिएको थियो। रासस

प्रकाशित: ६ मंसिर २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =