फरार ढोरपाटनका मेयर ६ महिनापछि सार्वजनिक, भन्छन्- बचतकर्ताको पैसा फिर्ता गर्न तयार छु

हिमाल प्रेस ५ मंसिर २०८० २१:४३
12
SHARES
फरार ढोरपाटनका मेयर ६ महिनापछि सार्वजनिक, भन्छन्- बचतकर्ताको पैसा फिर्ता गर्न तयार छु

पोखरा- ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि सार्वजनिक भएका छन्। सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेको अभियोग लागेका मेयर नेपाली गत जेठ ५ गतेदेखि फरार थिए।

सहकारी रजिस्ट्रारको कार्यालयले गरेको अध्ययनमा उनले पोखरासहित बागलुङ, बुर्तीबाङ, गल्कोटमा गरी १ अर्ब ५४ करोड बढी रकम बचतकर्ताबाट उठाएर हिनामिना गरेको उल्लेख छ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक उनले आफ्नो जिउधनको सुरक्षा नभएका कारण केही समय टाढा बस्नुपरेको दाबी गरे। एकैपटक धेरै जना बचतकर्ताले बचत फिर्ता माग्न आउँदा सहकारी समस्यामा परेको उनको दाबी छ। आफ्नो घरमा आई हतियारसहित ज्यान मार्ने धम्की आएको र ६ लाख बचत भएकाहरूले करोडौंको घर मागेकोले बेपत्ता हुनुपरेको उनले बताएका छन्।

आफ्नो चलअचल सम्पत्ति पूरै बागलुङमा रहेको भन्दै कर्मचारीले आफूलाई असहयोग गरेको बताए। बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुख भएर ७ वर्षदेखि बुर्तिवाङ बस्दा सहकारीमा समय दिन नसकिएको उनले स्वीकार गरे।

उनले इमेज सहकारीमा बचतकर्ताले भनेजस्तो सबै रकम डिपोजिट नभएको समेत बताए। कर्मचारीहरूले मनोपोली ढंगले ऋण लगानी गरेको बताउँदै उनले आफूले मागेको ६ महिनासम्म बचत फिर्ता गर्ने समयसम्म केहीले धैर्य गर्न नसकेको आरोप लगाए।

गत ३० कात्तिकको मिति राखेर विज्ञप्ति सार्वजनिक गर्दै नेपालीले समस्या समाधानका लागि सहजीकरण गरिदिन सम्पूर्णमा अनुरोधसमेत गरेका छन्। सहकारी समस्यामा परेको थाहा पाएर मिलाउने प्रयास गर्दागर्दै सबै बचतकर्ताले एकै चोटि रकम फिर्ता मागेर अप्ठेरोमा पारेको उनको दाबी छ।

उनले आफू र पत्नीका नाममा भएको घरजग्गाको विवरण समेत सार्वजनिक गरेका छन्। आफूले बचतकर्ताको पैसा फिर्ता गर्न तयार रहेको भन्दै बागलुङ, पोखरा र काठमाडौंमा गरी आफ्ना १८ घर रहेको र ती घरको मूल्य ३ अर्बभन्दा बढी रहेको बताएका छन्।

उनले नेकपा (एमाले) बाट २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा ढोरपाटनको मेयर जितेका थिए। उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बागलुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बालगुङको हटिया र बुर्तिबाङ बजारमा छन्।

मेयर नेपाली फरार रहे पनि यसअघि पक्राउ परेका सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

प्रकाशित: ५ मंसिर २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =