स्थायी लेखा नम्बर लिनेको संख्या ५५ लाखभन्दा बढी

हिमाल प्रेस १ मंसिर २०८० १६:२२
4
SHARES
स्थायी लेखा नम्बर लिनेको संख्या ५५ लाखभन्दा बढी

काठमाडौँ- ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन : सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आज शुक्रबारदेखि सप्ताहव्यापी रूपमा मनाइँदैछ।

आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ।

विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी ८४ वटा कार्यालय सञ्चालनमा छन्।

विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ५५ लाख २५ हजार ९ सय १९ रहेको छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी–पान) लिएका करदाताको संख्या १८ लाख ७६ हजार तीन सय पाँच र व्यक्तिगत स्थायी लेखा नम्बर (पी–पान) लिने करदाताको संख्या ३६ लाख ४९ हजार ६ सय १४ रहेको छ।

गत आर्थिक वर्ष २०७९/८० मा सरकारले कूल ९ खर्ब ५७ अर्ब रुपैयाँ राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र ४ खर्ब ७९ अर्ब रुपैयाँ रहेको थियो।

जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५०.१२ प्रतिशत बराबर हो। गत आव सरकारले विभागलाई ६ खर्ब २६ अर्ब ६१ करोड रुपैयाँ बराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६.५७ प्रतिशत अर्थात् ४ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ बराबर राजस्व उठेको विभागले जानकारी दिएको छ।

मुलुकको कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ। आन्तरिक राजस्वको शीर्षकगत असुलीको प्रतिशत सबैभन्दा बढी योगदान आयकरको छ।

कुल आन्तरिक राजस्वमा आयकरको हिस्सा ४४.५२ प्रतिशत छ। मूल्य अभिवृद्धि कर (भ्याट) को योगदान २४.५० र अन्तशुल्कको योगदान २१.६७ प्रतिशत छ।

त्यस्तै, ब्याजदरको योगदान ६.६७ प्रतिशत, घरबहाल करको योगदान शून्य दशमलव ६४ प्रतिशत, स्वास्थ्य सेवा शूल्कको अंश १.४१ प्रतिशत र शिक्षा सेवा शूल्कको अंश शून्य दशमलव ४२ प्रतिशत रहेको छ।

प्रकाशित: १ मंसिर २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − one =