५७ करोडमा पुनर्निर्माण हुँदै अदालत भवन

हिमाल प्रेस ३० कार्तिक २०८० १६:०१
6
SHARES
५७ करोडमा पुनर्निर्माण हुँदै अदालत भवन

गलकोट- भुकम्पले भत्काएको आठ वर्षपछि उच्च अदालतको क्षतिग्रस्त भवन निर्माण हुँदैछ। पोखरा उच्च अदालतको बागलुङ इजलासको उक्त भवन दुई चरणमा काम भइरहेको हो।

पछिल्लो समय निर्माणको कामले तीव्रता पाएको निर्माण कम्पनीले जानकारी दिएको छ। ६ तलाभन्दा बढीको पूर्ण आपांगमैत्री भवनमा अहिले चौथो तलाको काम भइरहेको छ।

अदालतको भवन २०७२ सालको भूकम्पले छियाछिया बनाएकाले पहिलो पटक दुईवटा विद्युतीय भर्‍याङसहित नमूना भवन निर्माण भइरहेको हो। हालसम्म भवनको ४० प्रतिशत काम सम्पन्न भइसकेको र सोही भवनसँगै जोडिएको मुख्य आवासगृहको पहिलो तला पनि ढलान भएको निर्माण कम्पनीको जिकिर छ।

मुख्य भवनको मात्रै निर्माणको काम ६० प्रतिशत भए पनि भवन तथा तीन वटा आवास गृह निर्माणका हिसाबले पूरै योजनाको ४० प्रतिशत सम्पन्न भएको हो। सम्झौता भएको ११ महिनामा चौथो तलाको ढलान भइरहेकाले सम्झौता अघि नै भवन सकेर बुझाइने निर्माण कम्पनीले बताएको छ।

उक्त भवन ३० महिनामै सक्नेगरी २०७९ मंसिर १६ गते श्यामसुन्दर पशुपति शिवजी निर्माण कम्पनीले ५७ करोड रुपैयाँमा ठेक्का पाएको थियो। भवन निर्माणका लागि अत्याधुनिक उपकरण प्रयोग गर्नाका साथै दिन र रातमा समेत दुई चरणमा निर्माणको काम भइरहेको ठेकेदार कम्पनीका व्यवस्थापक ओम गुरुङले जानकारी दिए।

‘पुरानो भवन भत्काउनेदेखि नयाँ भवनको भूइँतलाका लागि माटो व्यवस्थापनमा समय लाग्यो, अहिले दिनरात गरी दुई चरणमा काम भइरहेको छ, यति ठूलो भवन ३० महिनामै सक्नु चुनौतीपूर्ण हो तर हामीसँग प्रविधि र जनशक्ति दुवै छ,’ उनले भने, ‘५७ करोड रुपैयाँ लागतको भवन दिनमा मात्रै काम गरे ५ वर्ष लाग्छ, दिनरात काम गरेर ३० महिना अगावै सक्न आवश्यक छ।’

भवन निर्माणका लागि आवश्यक कच्चा सामग्री रेडिमिक्सको सहायताबाट तयार पारी प्राविधिक जाँच गरेपछि मात्रै प्रयोगमा ल्याइने गरिएको छ। श्रमिकलाई समेत आवसीय सुविधासहित भवन निर्माणस्थलमै राखिएको छ।

बागलुङ इजालसका सूचना अधिकारी शिवप्रसाद गौतमले भवन निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको र भवन निर्माणमा ढिलासुस्ती नगरेकाले समय अगावै सकिने बताए। रासस

प्रकाशित: ३० कार्तिक २०८० १६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =