जनकपुरधाममा छठको तयारी

हिमाल प्रेस २९ कार्तिक २०८० १६:३७
10
SHARES
जनकपुरधाममा छठको तयारी

महेन्द्रनगर- दीपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी सुरु भएको छ। छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामका विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृंगार गर्न थालिएको छ।

कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ। तराईमा छठको छुट्टै महत्त्व रहेको डा. राजेन्द्र बिमलले बताए।

मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गंगा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ।

छठ पर्वका लागि आवश्यक पर्ने सामानको जोहो गर्न किनमेल गर्नेको बजारमा निकै भीड देखिन थालेको छ। विगतभन्दा यस वर्ष छठ पर्वमा आवश्यक सामानको मूल्य निकै वृद्धि भएको स्थानीय प्रमेश्वर साहले बताए।

यसवर्ष मंसिर ३ गते षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरु हुने गर्छ।

अहिले गाउँगाउँ घरघरमा छठ पर्वका गीत गुन्जिने गरेको पाइन्छ। छठको पहिलो दिन बर्तालु नहायखाय गरी छठ पर्व आरम्भ गर्छन्। दोस्रो दिन खरना विधि गरिन्छ। खरनालाई पापको क्षय हुने दिन पनि भनिन्छ।

खरनाका दिन राति गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर बर्तालु दिनभर उपवास बस्ने गर्छन्। बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै नयाँ भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ।

यस्तो खीर केराको पातमा राखेर छठिमातालाई चढाइन्छ र चढाइसकेपछि बर्तालुले प्रसादका रूपमा ग्रहण गर्ने गर्छन्। यसलाई परिवारका अन्य सदस्यले पनि प्रसादका रूपमा ग्रहण गर्ने चलन रहेको पण्डित तपोनरायण झाले बताए।

अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन बर्तालुले रातभरि जाग्राम बसी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई फेरि अर्घ्य दिएर व्रत समाप्त हुन्छ। रासस

प्रकाशित: २९ कार्तिक २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 12 =