तिहार मान्न गाउँ पुगेकालाई गहुँ छर्ने र धान भित्र्याउने चटारो

हिमाल प्रेस २८ कार्तिक २०८० २०:००
6
SHARES
तिहार मान्न गाउँ पुगेकालाई गहुँ छर्ने र धान भित्र्याउने चटारो फाइल तस्बिर

ढोरपाटन (बागलुङ)- बागलुङका किसानलाई धान भित्र्याउने र गहुँ छर्ने चटारो छ। कामको बेला परेको तिहारले गाउँमा मान्छे जुटे पनि रौनक भने कम छ। तिहारमा आफन्त र इष्टमित्रसँग घरमै रमाउन छाडेर यहाँका किसान धान, कोदो र खर काट्न तथा गहुँ छर्नमा व्यस्त छन्।

तिहार मान्न गाउँ आएकाहरूले गर्दा कामदारको खाँचो छैन। पाकिसकेको धान वर्षाले भित्र्याउन दिँदैन कि भन्ने पीर छ। आकाशमा कालो बादल मडारिँदा किसान चिन्तित छन्। बागलुङको गलकोट, बडिगाड, जैमिनीलगायत गाउँका किसान आजभोलि खेतबारीमै भेटिन्छन्। यहाँका किसानलाई चाडबाडकोभन्दा खेतबारीकै चटारो बढी छ।

जैमिनी गाउँका किसान प्रताप शर्माले केही दिनदेखि वर्षा रोकिएकाले धान भित्र्याउन थालेको बताए। खेतमा धान पाकिसकेको हुँदा भित्र्याउन आफूलाई भ्याइनभ्याई भएको उनी बताउँछन्।

यस क्षेत्रमा धेरै किसानले जडन जातको धान लगाउने हुँदा ढिला पाकेको शर्मा बताउँछन्। एकैपटक धान भित्र्याउने र गहुँ छर्ने बेला भएकाले तिहारप्रति त्यति चासो नभएको उनको भनाइ छ।

‘पहिलापहिला तिहार सकिएपछि धान भित्र्याउने चलन थियो, अहिले अलि ढिला आए चाडपर्व,’ उनले भने, ‘त्यही भएर कामको चटारो भयो, चाडपर्व मनाउनेभन्दा बाली भित्र्याउने र छर्नेतर्फ बढी ध्यान गयो। दसैँतिहार मनाउन आएका छोरा भतिजा सबै गाउँमा भएको बेला धमाधम काम गरिरहेका छौँ। एक–दुई दिनपछि उनीहरू जान्छन्।’

गलकोटका किसान प्रेमबहादुर विक तीन दिनदेखि धान भित्र्याउनमै व्यस्त छन्। गाउँका सबैले एकैपटक धान भित्र्याउन र गहुँ छर्न थालेपछि खेताला कम भएको उनको भनाइ छ। पहिला पर्म गरेर काम गर्ने गरेको भन्दै यसपालि एकैपटक धान भित्र्याउन थाल्दा समस्या भएको छ।

जिल्लामा खेतीयोग्य जमिनको २०.१५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा छ। त्यसमध्ये बाह्रै महिना सिञ्चित क्षेत्र २ हजार ७ सय ७५ हेक्टर रहेको छ। बागलुङमा हरेक वर्ष धान उत्पादन गर्ने क्षेत्रफल बढ्दै गएको छ। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष ५ हजार ८ सय ८३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो।

अघिल्लो वर्षको तुलनामा यो वर्ष ६ हजार हेक्टरमा रोपाइँ भएको छ। जिल्लामा ४६ हजार १ सय ४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकामा ३० हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा मात्रै खेती हुँदै आएको छ। त्यसमध्ये ६ हजार १ सय ४८ हेक्टर क्षेत्रफल जमिनमा मात्र सिँचाइको सुविधा छ। रासस

प्रकाशित: २८ कार्तिक २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 16 =