गोरखामा आगलागी, आमाछोराको मृत्यु

हिमाल प्रेस २६ कार्तिक २०८० १९:५७
30
SHARES
गोरखामा आगलागी, आमाछोराको मृत्यु प्रतीकात्मक तस्बिर

गोरखा- गोरखामा आगलागीमा परेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। जिल्लाको धार्चे गाउँपालिका–१ हुच्लचोकस्थित एक घरमा शनिबार राति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन्। जस्ताले छाएको गुरुङको एकतले घरमा अचानक राति आगलागी भएको थियो। घटनाको जानकारी प्राप्त भएलगत्तै जगत प्रहरी चौकीबाट खटिएका प्रहरीको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका प्रनाउ श्रेष्ठले बताए।

आगो पूर्ण नियन्त्रणमा आएपछि घरभित्र खोजी गर्दा दुई जनाको शव जलेर चिन्नै नसकिने अवस्थामा भेटिएको श्रेष्ठले जानकारी दिए। उनका अनुसार आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

घरमा आगलागी भएको खबर थाहा पाउने बित्तिकै घटनास्थलमा पुगेर स्थानीयवासीले निभाउने प्रयास गरे पनि करिब दुई घण्टापछि मात्र आगो नियन्त्रणमा आएको स्थानीयवासीको भनाइ थियो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी निरीक्षक नरबहादुर साउदको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलतर्फ पठाइएको प्रनाउ श्रेष्ठले जानकारी दिए।

आगलागीको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। चिसोका कारण न्यानो बनाउन घरभित्र बालिएको आगोबाट सल्किएर घरमा आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। रासस

प्रकाशित: २६ कार्तिक २०८० १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =