हराउँदै परम्परागत देउसीभैलाे

विजय नेपाल २८ कार्तिक २०८० १८:०४
12
SHARES
हराउँदै परम्परागत देउसीभैलाे भैरहवामा आइतबार साँझ देउसीभैलोका क्रममा हिन्दी गीतमा नृत्य गर्दै स्थानीय। तस्बिर : विजय नेपाल

पाेखरा– भरतपाेखरी विकास मञ्चले हरेक वर्ष देउसीभैलाे प्रतियोगिता निरन्तर रूपमा सञ्चालन गर्दैआएकाे छ। पाँच वर्षअघि स्थापना भएकाे मञ्चले तिहारमा देउसीभैलाेलाई प्राथमिकतामा राखेकाे छ।

मञ्चका अध्यक्ष डिल्लीराम बराल नेपाली गीतसंगीतमा आफ्नाे पहिचान बनाएको देउसीभैलाेकाे परम्परागत शैली जाेगाउँदै प्रतियाेगितात्मक रूपमा संरक्षणकाे प्रयास गरिएको बताउँछन्। त्यसैकाे निरन्तरतामा यस वर्ष पनि भरतपाेखरीमा खुला देउसीभैलाे प्रतियोगिता आयाेजना गरिएको छ। जसमा प्रथम हुने टिमले २० हजार तथा देउसी भैलाेकाे एकल नृत्य प्रतियोगितामा प्रथमले ७ हजार पाएका छन्। साथै दुवै इभेन्टका दाेस्राे, तेस्राे र सान्त्वनालाई नगद पुरस्कार व्यवस्था गरिएको थियाे।

नेपाली पहिचान बाेकेका भेषभूषामा सजिएकाले परम्परागत शैलीमै देउसी भैलाे भट्याएका थिए। छैटौँ संस्करणको प्रतियाेगितामा सहभागीले नेपाली कला, संस्कृति, गीत, संगीत साँच्चिकै फरक रहेकाे भन्दै संरक्षणमा सबै जना जुट्नुपर्ने पनि गीतमार्फत सन्देश छरे।

यी र यस्तै प्रतियाेजनाकाे प्रवर्धनमा पाेखरा प्रज्ञा प्रतिष्ठानले पनि सहयोग गर्ने गरेकाे कुलपति पद्मराज ढकाल बताउँछन्। ढकालका अनुसार विगतकाे तुलनामा अहिले सहरबजारमा खास देउसीभैलाे खेलिँदैन। अरू गीतसंगीतमा जस्तै देउसीभैलाेका गीतमा पनि विकृति बढेकाेमा सांस्कृतिक अभियन्ता चिन्तित छन्। संरक्षणमा प्रतिष्ठानले कस्ताे काम गरिरहेकाे छ भन्ने जिज्ञासामा उनले भरतपाेखरी विकास मञ्चले परम्परागत देउसीभैलाे खेल्ने तथा खेलाउनेलाई प्राेत्साहनमा सहकार्य गर्दै अघि बढेकाे बताए। लाेकगायक ढकालले  हरिदेवी काेइरालासँग मिलेर देउसीभैलाेकाे गीत पनि गाएका छन्।

हुन पनि पाेखरामा तिहारकै अवसरमा विभिन्न संस्थाले देउसीभैलाे गीतलाई प्रतियोगिताका रूपमा आयाेजना गरेका छन्। पाेखरा टेलिभिजनले पाेखरा उद्योग वाणिज्य संघमा र लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान गण्डकी तथा प्रतिष्ठान कास्कीले संयुक्त रूपमा साइमन पार्टी प्यालेसमा देउसीभैलो प्रतियोगिता आयोजना गरेका छन्।

यसैगरी पाेखरा १२ काे माछापुच्छ्रे टाेल विकास समिति, लाेक नृत्य कलाकार संघले पनि देउसीभैलाे प्रतियोगिता आयाेजना गरेका छन्। सरस्वती टीका बहुमुखी क्याम्पसले क्याम्पस भवन निर्माणकार्यमा रकम संकलनका लागि भाइटीकासम्म देउसीभैलाेकाे तालिका सार्वजनिक गरेकाे छ। पाल्पाली समाज पाेखराले पाल्पा हाउसमा पाल्पाली शैलीमा शनिबार देउसी खेल्याे।

पाेखरास्थित पाल्पा हाउसमा देउसीभैलाे खेल्दै पाल्पाली समुदाय। तस्बिर : धनबहादुर झेंडी।

देउसीभैलाे जाेगाउन गण्डकी प्रदेश राजधानी पाेखरामा संस्थागत रूपमा विभिन्न कार्यक्रम नियमित हुने गरे पनि अर्काेतिर गीतसंगीतमै विकृति छर्ने गरी सहरबजारमा केटाकेटीहरू हिन्दी, पप, सस्ता गीतमा रमाउने गरेकाे भेटिन्छ। तिनीहरूलाई देउसी, भैली र देउसुरेकाे महत्त्व थाहा छ, न त गाउन जान्दछन्। खाली माइकमा रेडिमेड गीत घन्काउँदै उत्तेजक भावभंगीमा नाच्ने गर्छन्।

नेपाली माैलिक गीतका अध्यता प्रा.डा. कुसुमाकर न्याैपाने गाउँसहरमा देउसी खेल्ने प्रचलन कायमै रहे पनि युवा पुस्ताले परम्परागत शैली बिगारेकाे बताउँछन्। उनी भन्छन्, ‘अहिले जस्ताे अरू गीतकाे गायन पहिले हुन्थेन। तिहारमा देउसी, भैलाे र देउश्रीकाे मात्र गायन हुन्थ्याे।’ अहिले परम्परागत रीतिरिवाज शैली छाेडेर विकृत बनाउने काम भएको उनले बताए। उनी भन्छन्, ‘देउसीका नाममा हिन्दी र अंग्रेजी गीत बज्नु र पहिलेकाे शैली बिर्सनु नागरिकको सचेतना अभाव हो।’

पाेखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल देउसीभैलाे के हाे भन्ने नयाँ पुस्तामा जान आवश्यक देख्छ्न्। उनी भन्छन्, ‘जसरी अरू गीतमा विकृति आइरहेको छ, त्यस्तै देउसीभैलाेमा पनि विकृतिले जरा गाडेकाे छ।’

पृथ्वीनारायण क्याम्पस नेपाली विभागका पूर्व विभागीय प्रमुख न्याैपानेका अनुसार जहिलेदेखि तिहार मान्न थालियाे, त्यसैबेलादेखि नेपालका हरेक ठाउँमा तिहारमा देउसीभैलाे खेल्न सुरु भएकाे बताउँछन्।

पहिले यसरी खेलिन्थ्याे : प्रा.डा. न्याैपाने

तिहार सुरु भएपछि सबैकाे घरघरमा गएर मादल, मुजुरा, खैँजडी बजाएर गाउने प्रचलन थियाे। पुरुषले भैलाे र महिलाले देउसी खेल्थे। यी गीत भाइटीकाकाे दिनसम्म गाउने गरिन्थ्यो भने देउश्री भने टीका लगाएपछि मात्र गाइन्थ्याे। गाउँदाखेरी महिलाले भैलिनी आइन् आँगन भन्दै देउसी गाउँदै त्याे घर र परिवारका सदस्यकाे कल्याणकाे कामना गर्दथे। पुरुषले भैलाे र देउश्रीमा वाद्यवादनका सामग्री बजाए पनि महिलाले बाजाबिनै भैली गीत भट्याउने प्रचलन थियाे। महिलाकाे टिममा पुरुषकाे सहभागिता हुँदैनथ्यो। घरपरिवारकाे प्रशंसा र प्रशस्ती गाइसकेपछि अन्त्यमा दानदक्षिणा दिइन्थ्याे।

कुमार केटाहरू भने भैलाे गाउँथे। उनीहरूले मादल, खैँजडी र मुजुरा बाेक्थे। घरघरकाे आँगन टेकेर भैलामा खरकाे छानाे भए पनि सुनकाे छानाे भन्दै गीतमा वर्णन र प्रशस्ती गाउँथे। घरमालिक दु:खी गरिब भए पनि राजा महाराजा भन्थे। कसैलाई सानाे तथा गरिब बनाउँदैनथे। अन्त्यमा दानदक्षिणा र आशीर्वाद आदानप्रदान गरी बिदा हुने गर्थे।

टीका लगाइसकेपछि मात्र देउश्री खेल्ने चलन थियाे। भैलाे भनेकाे भलाे हाेस् भन्ने हाे भने देउश्रीकाे अर्थ लक्ष्मी/पैसा देऊ हाे। देउश्री पुरुषले गाउँथे। उनीहरूले घाँटीमा फूलकाे मालाकाे पगरी लाउँथे। मादलमा समेत मालाले सजाउँथे। घरमालिकले राेटी, पैसा, चामल वाु जिन्सी उपहार दान गर्थे। समूहमा राेटी बाेक्ने एउटा हुन्थ्यो। पैसा बाेक्ने एउटा हुन्थ्यो। चामल बाेक्ने एउटा हुन्थ्यो। तिहारकाे अवधि सकिएपछि देउश्री पनि सकिन्थ्याे।

सबै जातजातिमा मानिसकाे घरघरमा गएर एश्वर्यकाे कामनासहित देउसी, भैलाे र देउश्री गाउने प्रचलनले सबैलाई एकसूत्रमा बाँध्ने काम गरेको थियाे।

प्रकाशित: २८ कार्तिक २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =