कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा एक हजार घर बनाउन जनशक्ति परिचालन गर्ने

हिमाल प्रेस २५ कार्तिक २०८० २०:५८
10
SHARES
कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा एक हजार घर बनाउन जनशक्ति परिचालन गर्ने कांग्रेस महामन्त्री गगनकुमार थापा।

काठमाडौँ– नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुममा एक हजार घर बनाउन जनशक्ति परिचालन गर्ने भएको छ। महामन्त्री गगनकुमार थापाले श्रमदानका लागि भूकम्प प्रभावित क्षेत्रमा जनशक्ति परिचालन गर्न लागिएको जानकारी दिएका हुन्।

उनले शनिबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘मंसिरको पहिलो साता नै नेपाली कांग्रेसले एक हजार घर बनाउन चाहिने जनशक्ति श्रमदानको लागि भूकम्प प्रभावित क्षेत्रमा पठाउनेछौँ।’

सरकारले शनिबार नै भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन प्रत्येक परिवारका लागि तत्काल ५० हजार रुपैयाँ पठाउने निर्णय गरेको छ। थापाले भनेका छन्, ‘अब पैसा समयमा नै पीडित परिवारको हातमा पुग्ने देखि बाँकी काममा हाम्रो साथ सहयोग र खबरदारी रहनेछ।’

महामन्त्री थापाले भूकम्प प्रभावित क्षेत्रमा पानी परेर जाडो बढिरहेकाले नयाँ घर नबन्दासम्म कम्तीमा जाडो र बर्खा थेग्ने गरी अस्थायी घर बनाउन जरुरी रहेको उल्लेख गरेका छन्।

उनले पार्टीका तर्फबाट दुई नमुना अस्थायी घर (टहरा) बनाएको अनुभवका आधारमा कम्तीमा दुई दक्ष र दुई अर्धदक्षसहित ११ जनाको समूह हुँदा एक दिनमा एउटा टहरा बनाउन सकिने जनाएका छन्। महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रमा दुईवटा अस्थायी टहरा बनाउन श्रमदान गरी फर्किएका हुन्।

सोही आधारमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षणपत्र बुझाएका छन्। महामन्त्री थापाले भनेका छन्, ‘सरकारले अस्थायी आवास बनाउन प्रत्येक परिवारलाई ५० हजार दिने सही निर्णय गरेको छ। अब निर्णयमा मात्र नअड्की सरकारले अरू काम गर्नुपर्छ।’

उनले तिहारलगत्तै प्रत्येक पीडित परिवारको हातमा रकम पुग्ने गरी तत्काल संयन्त्र बनाएर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले भनेका छन्, ‘घर बनाउन चाहिने जस्तापाता जस्ता सामानहरू बजार बाट लिनुपर्ने हुनाले बजारमा जस्ताको सहज उपलब्धता सुनिश्चित गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण, एकैसाथ धेरै संरचना बनाउनुपर्ने हुनाले जनशक्ति पर्याप्त छैन। त्यसको लागी दक्ष र अर्धदक्ष जनशक्ति त्यहाँ पुग्ने र काम गर्ने गरी उचित व्यवस्थापनमा ध्यान दिनुपर्छ।’

भूकम्प प्रभावित क्षेत्रमा कांग्रेस महामन्त्रीद्वयले जे देखे

 

प्रकाशित: २५ कार्तिक २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =