धान भित्र्याउन व्यस्त मोरङका किसान

हिमाल प्रेस २४ कार्तिक २०८० १९:५२
8
SHARES
धान भित्र्याउन व्यस्त मोरङका किसान

बेलबारी (मोरङ)- कात्तिक महिना मैझारो हुने क्रममा रहेका बेला मोरङका किसान धमाधम धान भित्र्याइरहेका छन्। हालसम्म ३५ प्रतिशत धान किसानका भकारीमा भण्डारण भएको छ भने गर्जो टार्न खलिहानबाटै बिक्री पनि भएको छ। जिल्लाभर ८३ हजार तीन सय हेक्टरमा रोपाइँ भएकोमा कात्तिक  २९ हजार हेक्टरको मात्र धान काटिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।

मोरङमा गत वर्ष ८२ हजार ९ सय हेक्टर जमिनमा धान लगाइएको थियो। मौसमले साथ दिएको र समयमै मल वितरण हुँदा यो वर्ष धान उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रका प्रमुख रामदेव सिंहले बताए। गत वर्ष प्रतिहेक्टर ४ दशमलव ५ मेट्रिकटन धान उत्पादन भएकामा यो वर्ष बढेर प्रति हेक्टर पाँच मेट्रिकटनभन्दा बढी धान उत्पादन हुने संकेत देखिएको प्रमुख सिंहले बताए।

मोरङका १७ पालिकामध्ये रङ्गेली नगरपालिका, उर्लाबारी नगरपालिका र पथरी नगरपालिकामा ५० प्रतिशत धान कटान भएको छ, कटहरी गाँउपालीका, जहदा गाउँपालिका, मिक्लाजुङ गाउँपालिका र कानेपोखरी गाउँपालिकामा २५ प्रतिशत, सुनवर्षी गाउँपालिका, धनपाल गाउँपालिका, रतुवामाई नगरपालिका, लेटाङ नगरपालिका,  सुन्दरहरैचा नगरपालिकामा ४० प्रतिशत, विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाउँपालिकामा ३० प्रतिशत धान कटान भएको प्रमुख सिंहले बताए। बासमती प्रजातिका धान पाक्न थप समय लाग्ने भएकाले केही समयपछि मात्र काट्नुपर्ने उनी बताउँछन्।

मोरङमा धेरै मात्रामा रञ्जित धान, राम धान, बिबी एघार, स्वर्ण धान रोप्ने गरेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार मोरङमा गत वर्ष तीन लाख ३८ हजार ११४ मेट्रिकटन धान उत्पादन भएको थियो।

प्रकाशित: २४ कार्तिक २०८० १९:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =