फिर्के मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

विजय नेपाल २४ कार्तिक २०८० १६:०४
6
SHARES
फिर्के मिचेर बनेका संरचना नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

पोखरा- फिर्केखोलाको खोलाघरभित्रका बनेका संरचना हटाउन पोखरा महानगरपालिकाले ३५ दिने सूचना आह्वान गरेकोमा अदालतले रोकिदिएको छ। उच्च अदालत पोखरामा परेको रिटमा न्यायाधीश मिलन राईको एकल इजलासले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो।

फिर्के तमु समाजसमेतले दायर गरेको उत्प्रेषण परमादेश रिटमा निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुली, वरिष्ठ अधिवक्ता मुकुन्द अर्याल, अधिवक्ता केशवप्रसाद पराजुलीले बहस गरेका थिए। विभिन्न संघसंस्था तथा व्यक्ति गरी १३ निवेदक रहेको रिटमा पोखरा महानगरपालिका समेत ५ जनालाई विपक्षी बनाइएको थियो।

अदालतले तत्काल पोखरा महानगरको सूचनाको कार्यान्वयन नगर्नू नगराउनू र कारण देखाउनु भनी विपक्षीको नाउँमा अन्तरिम आदेश जारी गरेको वरिष्ठ अधिवक्ता तिलक पराजुलीले जनाए। महानगरपालिकाले भवन निर्माण संरचना बनाउँदा यसअघि नक्सापास गरेको स्मरण गराउँदै भत्काउनुपर्ने भए जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम मुआब्जाको व्यवस्था गर्नुपर्ने निवेदकहरूको जिकिर छ।

पोखराको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका संरचना हटाउन गत कात्तिक १० मा पोखरा महानगरले ३५ दिने सूचना जारी गरेको थियो। पोखरा वडा १८ को अँधेरीकुना मुहान भई पोखरा ६, गाईघाटस्थित फेवातालमा गएर मिसिने फिर्केले महानगरपालिकाका विभिन्न ८ वटा वडाहरू छुन्छ।

यसरी वडा २, ४, ५, ६, ७, ८, १७ र १८ अन्तर्गत फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू पूर्णरुपमा हटाउन महानगरले सूचित गरेको थियो। जसमा महानगरको प्राविधिक टोलीले हालैमात्र स्थलगत नाचपाँच गरेको पोल गाडिएको भन्दाभित्रका संरचना पर्छन्। यदि ३५ दिनभित्र ती संरचनाहरू नहटाए महानगर आफैँले हटाउने र सोवापतको लागत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने चेतावनी दिइएको थियो।

गत साउन ४ देखि भदौ २ सम्म भएको नापजाँचपछि महानगरलाई बुझाइएको ‘फिर्केखोलाकोे खोलाघर नापजाँच प्रतिवेदन–२०८०’ मा १ सय ६० संरचना खोलाघरमै बनेको पाइएको छ। तीमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र २८ वटा विभिन्न सरकारीसहितका संघसंस्थाले संरचना बनेको पाइएको प्राविधिक समिति संयोजक वासुदेव पौडेल रहेको प्रतिवेदनमा उल्लेख छ।

बढ्दो सहरीकरण र अतिक्रमणको चपेटामा फिर्केखोला परेपछि महानगरले अस्तित्व खोज्न नापजाँच गरेको हो। फिर्केको वास्तविक अवस्था (खोलाघर) नापी कार्यालयको नक्सा बमोजिम यकिन गर्ने, फिर्के खोलाको जग्गा यकीन गर्ने र खोलाको जग्गामा बनेका स्थायी वा अस्थायी संरचनाको लगत तयार पार्ने उद्देश्यसहित भएको नापजाँचमा फिर्के खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको अन्तिम प्रतिवेदनमा उल्लेख छ।

अध्ययनका क्रममा साविक ग्यारजाति (पछि सराङकोट) हुँदै फेवातालमा मिसिने फिर्केको कुल लम्बाई ८ किमी छ। यसैगरी खोलाको उचाइ ४ देखि ९ मिटरसम्म गहिरो रहेको छ। नापी कार्यालयको रेडर्क अनुसार २०६० सालयता पोखरा १७ र ६ स्थित गाईघाटमा ११ रोपनी ४ आना जग्गा फेवातालमा माटो र फोहोर थुप्रिएर चौर बनेको छ।

प्रतिवेदन अनुसार कतिपय संरचना शत्प्रतिशत खोलाघरमा बनेका छन् भने कतिपय आंशिक भाग खोलाघरमा बनेको पाइएको छ। १० संस्थागत संरचनाले खोलाघर मिचेका छन्। जसमा एपिएफको तालिम केन्द्र, बराल समाज घर, पुन समाज घर, कुँवर समाज घर, सोपाल समाज घर, भयरथान महिला समूहको भवनले खोलाघर मिचेका छन्।

संघसंस्थाका संरचनामध्ये १८ वटाले खोलाघर मिचेका छन्। तिनीहरूमा लिटिल स्टेप स्कुलको भवन, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, गिरी समाज घरको शौचालय, सोपाल समाज घर, किरियापुत्री भवन बगालेटोल, पोखरा फोटोग्राफर एसोसिएसनको भवन, अर्चलबोट किरियापुत्रीको भवन पुन समाज घर, बराल कुलायन मन्दिर, शिव मन्दिर, राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन, फिर्के तमु समाजको भवनले फिर्के मिचेका छन्।

फिर्के खोलाको प्राविधिक नाचजाँचका क्रममा यकिन गरिएका खोलाघरको पश्चिमतर्फ ३ सय ३ र पूर्वतर्फ २ सय ८५ वटा सिमा स्तम्भ गाडिएको छ। फिर्के खोलामाथि बनेका पुल तथा कल्भर्टहरूको संख्या २५ रहेको पाइएको छ।
फिर्केको वास्तविक आकारका लागि २०३२ सालको नक्सालाई आधार मानिएको छ। उक्त मापदण्डअनुसार पटकपटक सीमांकन, नक्सांकन अध्ययन, प्रतिवेदन तयार भए पनि लागु हुन सकेका छैनन्।

प्रकाशित: २४ कार्तिक २०८० १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + nine =