महासचिव गुटेरेसको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई

हिमाल प्रेस ९ कार्तिक २०८० १७:००
14
SHARES
महासचिव गुटेरेसको सुरक्षा जिम्मेवारी नेपाली सेनालाई

काठमाडौँ-  नेपाल भ्रमणमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई नेपाली सेनाले सुरक्षा  दिने भएको छ। महासचिव गुटेरस आगामी आइतबार अर्थात् १२ गते नेपाल भ्रमणमा आउँदैछन्।

गुटेरेसकै चाहनाअनुसार विश्वमा शान्ति स्थापनामा कहलिएको नेपाली सेनाले उनको सुरक्षा दिन लागेको हो। भ्रमणलाई राजकीय भ्रमणको संज्ञा दिइएको छ। राजकीय भ्रमण राष्ट्र या सरकार प्रमुख आउँदा मात्र हुने भए पनि त्यही स्तरको तयारी सरकारले गरेको हो।

परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार भित्री घेरामा नेपाली सेना राखेर सुरक्षा दिन लागिएको छ। बीचमा नेपाल प्रहरी र बाहिर सशस्त्र प्रहरी बल रहने गरी व्यवस्था गरिएको छ। साथमा राष्ट्रसंघीय सुरक्षा अधिकारी पनि हुनेछन्। उनी नेपाल आउन लागेका हुनाले तयारीमा सेना, प्रहरी र सशस्त्र प्रहरी बल खटिएको छ।

संसद्‌मा पनि छुट्टै तयारी छ। गुटेरेसले कात्तिक १४ गते अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत शुक्रबार संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनको तयारी गर्न निर्देशन दिएको छ। १२ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठक डाकिएको छ।

संसद्ले इजरायल र गाजापट्टीमा भएको आक्रमणमा मारिएका बालबालिका तथा नागरिकको सम्झनामा दुःख व्यक्त गर्ने तयारी पनि छ। इजरायलमा भएको आक्रमणका कारण गुटेरेसको नेपाल भ्रमण पनि सरेको थियो।

महासचिव गुटेरेसले एक रात पोखरामा बिताउनेछन्। उनी पोखरा पुगेर फर्केपछि संसद्लाई सम्बोधन गर्ने र राजनीतिक भेटघाट गर्ने कार्यक्रम छ। महासचिव गुटेरेसले आफूले पदयात्रा पनि गर्ने मनसाय व्यक्त गरेकाले अन्नपूर्ण र खुम्बु क्षेत्र उनलाई लैजाने तयारी पनि छ। यसका अतिरिक्त उनलाई माउन्टेन फ्लाइट लैजाने र काला पत्थरसम्म लगेर वातावरणको पछिल्लो अवस्थाबारे जानकारी गराउने पनि कार्यतालिका छ।

प्रकाशित: ९ कार्तिक २०८० १७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =