जहाँ कहिल्यै छिर्दैन दसैँ

विजय नेपाल ७ कार्तिक २०८० ६:०५
38
SHARES
जहाँ कहिल्यै छिर्दैन दसैँ पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित मानव सेवा आश्रमका आश्रितहरू। तस्बिर : विजय नेपाल

पोखरा-  नेपालीको महान् चाड बडादसैँ घरघरमा भित्रिँदा एउटा यस्तो ठाउँ छ, जहाँ दसैँको कुनै उल्लासै छैन। यो वर्षमात्र हैन विगतमा पनि दसैँलगायत चाडपर्वको कुनै महत्त्व झल्किँदैन।

आफन्त कोही छैनन्, न त जाने ठाउँ। मानसिक रोगको सिकार उनीहरू आफू स्वयंलाई चिन्दैनन्। शारीरिक रूपमा सामान्य देखिए पनि मानसिक सन्तुलन गुमाउँदा उनीहरूको जीवन विगतमा बेवारिस थियो। यत्तिकैमा मानव सेवा आश्रमले आश्रय दियो। हो, तिनै सडकापेक्षी मानवहरूको दसैँ बुझ्न दसैँका बेला पोखरास्थित आश्रम पुग्दा देखिएका केही नमिठा दृश्य :

पोखरा महानगरपालिका-१७ छोरेपाटनस्थित आश्रममा अहिले ६५ महिला आश्रित छन्। पोखराकै वडा २५, हेमजास्थित अर्को शाखामा एक सय ११ पुरुष आश्रित रहेको छोरेपाटन शाखामा कार्यरत मानव सेवा आश्रमकी अभियन्ता सम्झना बर्तौलाले बताइन्।

छोरेपाटनस्थित शाखामा दसैँ उत्साह केही थिएन। न त हुनेवाला नै थियो। आश्रममा कोही छिर्नेबित्तिकै केटाकेटीझैँ हुरर्र आए। कोही मागे झैं गर्ने, कोही आफ्नै धूनमा। कोही टोलाइरहेका त कोही मध्याह्नमै लमतन्न सुतिरहेका भेटिए।

उनीहरूमध्ये केहीसँग जिज्ञासा राख्न खोज्दा जवाफ आएन। कोही बोल्न तयार भएनन्। एकअर्काको मुखमात्र हेरिरहने। अनौठो मान्ने। अनेक खालका हाउभाउ मात्र देखियो।

नजिकै कुर्सीमा बसिरहेकी एक महिला भने फतफताउँदै थिइन्। दुर्गा परियार नाम बताउने उनले आफ्ना पति बितिसकेका र पाँच छोराछोरीले छाडेको बताइन्। आफू सुतेको बेलामा दुई महिनाअघि आश्रममा ल्याइएको पनि उनले खुलाइन्। यत्तिकैमा आश्रम अभियन्ता बर्तौलाले संकेत गरिन्- मानसिक रोगी हुन्, कुरा नसुन्नू।

सम्झनालाई दसैँ के-कसरी मनाइन्छ भनेर सोध्दा अनकनाउँदै ‘खासै केही नहुने’ बताइन्। अरू दिनजस्तो सामान्य गरी दसैँ बित्छ।

टीकाको दिन बुवाआमा (आश्रितहरू) लाई एकै ठाउँ राखेर आफूहरूले टीका-जमरासम्म लगाइने दिने गरेको बर्तौलाले जानकारी दिइन्। नियमित खानपिन जे-जस्तो हुन्छ, त्यही खायो। एकै छिनमा दसैँ सकियो। हुन पनि हो, आश्रितहरू कही कतै आफन्त भनी जानु परेन। बाहिरबाट कोही आउला भनी पर्खिनु परेन।

मकवानपुरको हेटाैँडामा २०६९ सालमा स्थापित यो संस्था अहिले सातै प्रदेशमा फैलिएको छ। संस्थाको संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी र प्रमुख संरक्षक गोविन्द टण्डन हुन्। देशभर दुई दर्जन शाखा विस्तारित भएकोमा गण्डकीमा कास्कीका दुई शाखासहित बागलुङ, लमजुङ र गोरखामा पनि शाखा सञ्चालित छन्। पोखरा क्षेत्रका सडकबाट बटुलेर २३ जनालाई आश्रय दिँदै यहाँ शाखा विस्तार भएको हो।

दुई वर्षअघि मात्र हेमजा शाखा विस्तार भई पुरुषहरू त्यता सारिएको थियो। हेमजाको बाबियातरामा आश्रमको १० करोड लागतमा तीन सय जनासम्म अट्ने गरी तीनतले भवन बन्दैछ। आगामी दुई वर्षमा निर्माण सम्पन्न हुने सो भवन बनिसकेपछि धेरै सजिलो हुने आश्रमले जनाएको छ। छोरेपाटन शाखामा मासिक भाडा ८० हजार घरभाडा तिर्नुपर्छ।

पोखरा क्षेत्रबाट १ हजार जनाको उद्धार

यहाँ बस्नेहरू सबैजसो सडकापेक्षीहरू हुन्, सडक पेटीबाट उठाएर ल्याइएका। अहिले पनि मानव सेवा आश्रमले देशव्यापी अभियान चलाउँदै सडकापेक्षी मानव खोजिरहेको छ। उनीहरूलाई जहाँ भेट्टायो, नजिकैको शाखामा आश्रय दिइने आश्रमका केन्द्रीय कोषाध्यक्ष एवं गण्डकी प्रदेश संरक्षक होमनाथ सापकोटाले बताए।

आश्रमले पोखरा क्षेत्रबाट स्थापनाको छ वर्षमा एक हजार जनाको उद्धार गरेको जनाएको छ। तीमध्ये तीन सय जनालाई परिवारका सदस्यसँग पुनर्मिलन तथा जिम्मा लगाइएको छ। केहीलाई अन्यत्र शाखामा स्थानान्तरण गरिएको छ भने केहीको निधन भएको बर्तौलाले बताइन्।

संस्था सञ्चालनको मुख्य आयस्रोत सहयोग संकलन हो। बावुआमा तथा पितृका नाममा सहयोग गर्न चाहनेहरू बेलाबेलामा पोकोपन्तुरो बोकेर आश्रम आउँछन्। कुसेऔँसी र मातातीर्थ औँसीमा आउने मानिसको भीड वर्षकै धेरै ठूलो हुन्छ। त्यसबेला २० समूहसम्म आउँदा दिनमै खाद्यान्न र नगद गरी दुई लाखसम्म संकलन हुने गरेको पाइएको छ। सहयोगीहरूले बढीजसो खाद्यान र नगदै ल्याउने गरेका छन्।

आश्रितहरूका लागि गण्डकी प्रदेश सरकारले पनि प्रतिव्यक्ति चार हजार भत्ता उपलब्ध गराउँदै आएको छ। आश्रितहरूको गास, बास, कपास, औषधिमूलो, नियमित स्वास्थ जाँच, सरसफाइलगायतमा पोखरा क्षेत्रका दुई शाखामा गरी मासिक कम्तीमा पाँच देखि छ लाखसम्म खर्च लाग्ने गरेको आश्रमकी गण्डकी प्रदेश प्रमुख अनिता अधिकारी बताउँछिन्।

 

प्रकाशित: ७ कार्तिक २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =