मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौ : गृहमन्त्री श्रेष्ठ

हिमाल प्रेस २३ वैशाख २०८० २०:१९
6
SHARES
मानव सेवा आश्रमलाई थप उचाइमा पुर्‍याउँछौ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘मानव सेवा आश्रम’लाई थप उचाइमा पुर्‍याउने बताएका छन्। शनिबार वनस्थली, खरिबोटस्थित आश्रमस्थल पुगेका उनले आश्रमको गतिविधिबारे विस्तृत जानकारी लिँदै थप उचाइमा पुर्‍याउने बताएका हुन्।

उपभोक्तावादले ग्रस्त समाजमा आश्रमले १० वर्षदेखि ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र’ जस्तो चुनौतीपूर्ण अभियानको प्रभावकारी सञ्चालन गरिरहेको भन्दै उनले खुसी लागेको बताए। आश्रमले २०८२ सम्ममा सडक मानवमुक्त बनाउने सरकारी लक्ष्यलाई सफल बनाउने बताएको छ।

हाल देशभरका २३ आश्रममा १६ सयभन्दा बढी आश्रितहरू छन्। विभिन्न पारिवारिक समस्या, परिवार पहिचानको समस्या र रोग आदिका कारणले सडकमा पुगेकाहरू आश्रममा छन्।

आश्रमले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर सडक आश्रीतहरूलाई खोजेर आश्रय दिने गरेको छ। आश्रमको सेवापछि हालसम्म २२ सयभन्दा बढी आश्रितहरू आफ्नै घरपरिवारमा फिर्ता भएका छन्। आश्रममा सयभन्दा बढी स्वयंसेवी छन्। आश्रमका अध्यक्ष गोर्खाका रामजी अधिकारी हुन्।

आश्रमको उदाहरणीय, मानवीय र नमुनायोग्य काम र क्रियाशीलताको निरन्तरताका लागि आफ्नो र नेपाल सरकारको सम्पुर्ण साथ रहने मन्त्री श्रेष्ठले बताए। आश्रमलाई सहयोग गर्ने सन्दर्भमा प्रधानमन्त्री प्रचण्डसँग आफूले आज वा भोलि कार्यसूची नै बनाएर छलफल गर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री स्वयंले पनि राष्ट्रिय संवेदनाका कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिएकाले आश्रमको गतिविधिलाई थप उचाइमा पुर्‍याइने मन्त्री श्रेष्ठको भनाइ थियो।

प्रकाशित: २३ वैशाख २०८० २०:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =